शहिद मार्गः बन्यो धरानको पहिलो अर्बन रोड (भिडियो सहित)
मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/ धरानमा पहिलो पटक अर्बन रोड (शहरी सडक) स्ट्याण्डर्डका सडक निर्माण गरिएको छ।
धरान १५ लांघाली चौकदेखी महादेव चौकसम्मको शहिद मार्ग सडक नेपाल सरकारको अर्बन रोड स्ट्याण्डर्ट अनुसार बनेको सडक हो। यो ५० एमएमको थिकनेसमा बनिएको कालोपत्रे सडक हो। यसअघि धरानमा ४० एमएमको थिकनेसमा मात्र सडक बनाईदै आएको थियो। यो सडक धरानमा पहिलो पटक शहरी सडक मापदण्ड अनुरुप बनिएको धरान उपमहानगर योजना तथा ईन्जिनियरिङ महाशाखा प्रमुख वरिष्ठ ईञ्जिनियर सुरज श्रेष्ठले बताए। श्रेष्ठका अनुसार यस शहिद मार्गको सडकको कुल लम्बाई ९ सय ३० मिटर रहेको छ। ५० फिट चौडाई रहेको यस सडकको ३० फिट कालोपत्रे गरिएको छभने सडक किनारा दुवैतर्फ १०/१० फिट छोडी २० फिट सडक पेटी रहेको छ।
सडकको स्ट्याण्डर्ड अनुरुप ९ ठाउँमा पार्किङ जोन रहेको छ। पार्किङ जोन बाहेक अन्यत्र स्थानमा पार्किङ गर्न मनाही गरिएको छ। सडकको सौन्दर्यीकरणका लागी सडकका दुवै किनारमा ३ सय १ वटा विभिन्न प्रजातीका बिरुवा रोपिएका छन्भने १० स्थानमा यात्रुहरु बस्नका लागी आकर्षक बेञ्च राखिएको छ। त्यस्तै सडकलाई सफा राख्न १० वटा डस्विन राखिएको छभने सवारी साधनलाई गती कम गर्न ४ स्थानमा व्यारिकेट राखिएको छ। साथै यो शहिद मार्ग भएकाले पुरानो गेट हटाई नयाँ गेट पुनःनिर्माणका लागी पिल्लर समेत बनाईएको छ।
सडक निर्माण सम्पन्न भएसँंगै धरानको माथिल्लो पानवारी हुँदै केराबारीसम्म आवागमनमा सहजता आएको छ। नेपाल सरकारको एक अभिन्न अंग राष्ट्रिय सर्तकता केन्द्र जसले देशभरिका ठुला ठुला आयोजनाहरुको अनुगमन गर्दछ। उसले यस आयोजनाका पदाधिकारीहरु सँंग पनि सडक गुणस्तरको राम्रो बनिएको भन्दै प्रतिक्रिया दिएको योजना महाशाखा प्रमुख श्रेष्ठको भनाई छ।
यसअघि नक्सामा हेर्दा यो सडक १० फिटको रहेको थियो। स्थानियवासीहरुले यस शहिद मार्गलाई स्तरोन्नती गर्दै २० फिट छोडेपछि यो ३० फुटको सडक रहेको थियो। अहिले २० फिट पूर्वाञ्चल ईन्जिनियरिङ कलेजले जग्गा उपलब्ध गराएपछि ५० फिटको सडक मापदण्ड बनेको छ। २०७५ सालमा पूर्वाधार विकासबाट केही बजेट छुट्टएर शुरु गर्ने भनिएपनि कोशी राजमार्ग जोड्ने सोंचका साथ क्याम्पसका जग्गा प्राप्तीका लागी तत्कालिन उपमेयर तथा कार्यबाहक मेयर मञ्जु भण्डारीले त्रिभुवन विश्व विद्यालयसंँगको पहलमा लगभग १५/१६ कट्ठा जमिन उपलब्ध भएपछि कामको शुरुवात भएको थियो। त्रिविसंँगको सम्झौता बमोजिम कलेजको कम्पाउण्ड वाल सार्न उपमहानगरले करिब ५० लाख बजेट छुट्टाएर २०७७ भदौ देखी काम शुरु भएको महाशाखा प्रमुख श्रेष्ठले बताए। उनले २०७७ मंसिर २८ मा पहिलो चरणको काम सम्पन्न हुँदा ३९ लाख ४७ हजार ६ सय १३ रुपैयाँ ७० पैसा खर्च भएको समेत जानकारी दिए।
नगरको बहुवर्षिय योजना अन्तर्गतको यस सडकको दोस्रो चरणका लागी कलेजका ५/६ वटा क्वाटर सार्न र वाल सार्न ०७८ फागुन ४ गते निर्माण शुरुभई ०७९ असार ४ मा सम्पन्न भएको थियो। जसमा १ करोड १३ लाख ८२ हजार ६ सय १३ रुपैयाँ खर्च भएको थियो। त्यसैगरी तेस्रो तथा अन्तिम चरण २०८० साउन ४ मा सडक निर्माण शुरुभई ०८१ फागुन ५ मा सम्पन्न हुँदा यसको लागत ८ करोड ९२ लाख ६२ हजार ७ सय ९५ रुपैयाँ रहेको थियो। तर यो ठेक्का रकम भएपनि अन्तिम मुल्यांकन नभएकोले ठेक्का रकम भन्दा अलि घट्ने अवस्थामा रहेको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए।
निर्माण शुरु भएको करिब ७ वर्षमा सम्पन्न भएको यस शहिद मार्ग सडकको बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले रिबन काटी उद्धघाटन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर साम्पाङले उपमहानगरको नीति अनुरुप ६०/४० र ७०/३० को जनसभागिताको अवधारणा भएपनि विपन्न लक्षित एरिया अन्तर्गत यस सडकमा स्थानिय सरकारको मात्रै लगानी भएको बताए। उनले कती ठाउँमा जनसहभागिता भएपनि आर्थिक अवस्थाले गर्दा जनसहभागिता नभएको ठाउँमा पनि स्थानिय सरकारले विकास निर्माणलाई अगाडी बढाउँदै लैजाने बताए। मेयर साम्पाङले भने “सकेको ठाउँमा जनसहभागिता राम्रै छ, हुनेले दिनुपनि पर्छ तर जनसहभागिता नभएको ठाउँमा अनिवार्य छैन।”
सोहिक्रममा मेयर साम्पाङले पहिलाका जनप्रतिनिधी हरुले गरेका राम्रा कामहरुलाई पछिल्लो जनप्रतिनिधीहरुले निरन्तरता दिनुपर्ने बताए। उनले पहिलाका जनप्रतिनिधीहरुले गरेका नराम्रा कुराहरुमा मुद्धा पनि खोप्नुपर्ने बताए। उनले भने “एयरपोर्ट, जलाधार, बसपार्कहरुको मुद्धा अझैपनि खेप्दै आएको छु।” उनले विकास मात्रै गरेर नहुने बताउँदै धरानको विकासमा क्रान्तिकारी विकास हुनुपर्ने बताए। “विकास ठेकदारले गर्छ, क्रान्तिकारी विकास चै श्रमदान मार्फत् जनताले गर्छन् भन्ने कुरा विश्वभर फैलाईरहेका छौं” मेयर साम्पाङले भने। ठेकदारले, नेताले, राजाले देशको विकास गरिदिन्छ भनेर भन्ने सोंच विचारबाट मुक्त हुनुपर्ने मेयर साम्पाङको भनाई थियो।
मेयर साम्पाङले उपमहानगरपालिकाको कन्सेप्टमा निर्माण भएको यस सडक उद्धघाटनमा पनि झण्डै झण्डै राजनीति भएको पो हो कि भन्ने आफुलाई महशुस भएको बताए। उनले जहिले तहिले राजनीति गरेकै कारण देश बिग्रिएको बताउँदै यो पब्लिक (जनता) ले बनाएको बाटो भएको बताउँदै भने “यो बाटो पनि हामी सबैले बनाएको बाटो हो, हामी सँधैभरी राजनीति गरिरहन्छौं, राजनीति गरेकै कारण देश बिग्रिएको हो। यो बाटोको उद्धघाटन गर्दापनि झण्डैझण्डै राजनीति भएको हो की भन्ने फिल भएको छ, नगरौं राजनीति, न मैले एक रुपैयाँ यस बाटोमा लगाएको छु, न उपमेयरले एक रुपैयाँ लगाउनु भएको छ, यो कसले बनायो? कसको कन्सेप्ट हो? भन्नुभन्दापनि यो धरान उपमहानगरपालिकाको कन्स्पेप्ट हो, धरान उपमहानगरपालिकाले निर्माण गर्यो, अब नगरवासी लगायत यो बाटोमा हिड्नेहरुले उपभोग गर्ने हो।”
श्रमसंस्कृति र जनसहभागिताको शहर भनेर विश्व परिचित रहेको धरानलाई “हर्क साम्पाङ” अथवा कुनै नेता एक्लैले बनाउन नसक्ने पनि मेयर साम्पाङले ठोकुवा गरे। उनले धरानलाई बनाउने हो भने सबैले श्रमदान गर्नुपर्ने समेत बताए। उनले भने “यो देश नेताले बनाउँदैन, हर्क साम्पाङ एक्लैले पनि धरान बनाउदैन, त्यसैले सबैजना श्रमदान गर्न आउनु, म खस्रो बोल्छु यथार्थ यही हो।”
बाटो सुन्दर भएसँंगै शहर पनि सुन्दर देखिने भएकाले सडक र फुटपाथमा निर्माण सामागी नराख्न समेत मेयर साम्पाङले नगरवासीहरुलाई अनुरोध गरे। उनले सचेत गराउँदा पनि बेवास्ता भएपछि उपमहानगरले त्यस्ता घरधनी र पसललाई जरिवाना लगाउन शुरु गरिएको जानकाी दिए।
कार्यक्रममा विशेष अतिथी उपमेयर अईन्द्र विक्रम बेघाले विकास निर्माणमा सबैको भूमिका जोडिए मात्र हरेक कार्यमा सफलता पाईने उदाहरण यस सडकले देखाएको बताए। उनले एउटाले अगाडी बढाएको योजना अर्कोले रोकिदिने गर्नाले धरानमा थुप्रै विकासे आयोजनाहरु रोकिएको समेत जानकारी दिए। उनले भने “मपाईत्वका कारण धरानमा सामुदायिक भवन तथा पार्कहरु बग्रेल्ती रुपमा अधुरा रहेका छन्। हामी चाहन्छौ जसले शुरुवात गरेपनि त्यो पुरा गर्नुपर्ने नगर प्रमुखको दायित्व हो।”
यसैगरी धरानका निवर्तमान मेयर तिलक राईले पूर्व नगर प्रमुखहरुले गरेका कामको कमी कमजोरी औल्याउने मात्र नभई गरेका राम्रा कामलाईे स्याबासी पनि दिनुपर्ने बताए। उनले नगरको आवश्यक्ता के के हो? त्यो पुरा गर्नुपर्ने बताउँदै खानेपानी समस्या, बसपार्कको समस्या, हाई वे का कुरा तत्काल समाधान गर्नुपर्ने बताए। आफ्नो साढे २ वर्षे कार्यकालमा कोरोना महामारीका कारण सोचेजती काम गर्न नपाएपनि आफ्नो बुद्धि र विवेकले भ्याएसम्म काम गरेको उनको भनाई थियो।
यस्तै निवर्तमान उपमेयर मञ्जु भण्डारीले सानो दुरीको सडक बनाउन ७ वर्ष लाग्छभने देश बनाउन धेरै समय लाग्ने भएकाले स्थिर सरकार चाहिने बताईन्। उनले अहिले अस्थिर सरकार भएकै कारण देशमा केही तत्वहरुले अस्थिरता मच्चाउन लागिपरेको बताउँदै लोकतन्त्र बचाउन समुदाय स्तरबाट जनताहरु शक्तिसाली भएर लाग्नुपर्ने जोड दिईन्।
त्यस्तै धरान १५ का वडाअध्यक्ष नरेश ईवारमले यस सडक निर्माण गर्दा ३ जना मेयर र एकजना कार्यबाहक मेयर गरी ४ जना मेयरको कार्यकालमा निर्माण भएकाले कसैलेपनि मैले गरेको भनेर घमण्ड गर्न नहुने बताए। उनले हामी जनप्रतिनिधी जनताको शासक नभई सेवक भएको बताउँदै १५ नं. वडामा ६ सय बाटा मध्ये ३ सय बढी बाटाहरु कालोपत्रे गरिएको समेत दावी गरे।
यसैगरी कार्यक्रममा ज्ञानचच्छु टोल विकास संस्थाका अध्यक्ष शुशिला पहाडीले यस टोलवासी सडक नबनिंदा धुलाम्य भएर बस्नु परेको बताउँदै बल्ल अब शान्तिको श्वास फेर्न पाएको बताईन्। उनले धरानको नमुनाको रुपमा रहेको यस सडकमा पार्क संँगै फलैचा पनि भएकाले यस स्थानमा एउटा सरकारी धारा पनि जोडिनुपर्ने माग राखेकी थिईन्।
शहिद मार्ग निर्माण उपभोक्ता समितीद्धारा आयोजना गरिएको सो कार्यक्रमलाई स्थानियवासी रमेश बस्नेतले स्वागत मन्तव्य गरेका थिएभने सो कार्यक्रम संस्थाका अध्यक्ष दल बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा निर्माण व्यवसायी प्रविन चौधरी, सव ईन्जिनियर अमन श्रेष्ठ, समाजसेवी देवेन्द्र बजगाई सहित सडक निर्माणमा सहयोगी दाताहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)