धरानमा चलचित्र “अन्जिला” प्रिमियर शो (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ नेपाली महिला फुटबल टिमकी कप्तान अन्जिला तुम्बापोको जिवनमा आधारित चलचित्र “अन्जिला” को धरानमा ग्राण्ड प्रिमियरको आयोजना गरिएको छ।
शुक्रबार धरान स्थित फ्रेण्ड्स सिनेमाजमा चलचित्र “अन्जिला” को ग्राण्ड प्रिमियरको आयोजना गरिएको हो। रेड कार्पेट ओछ्याएर गरिएको प्रिमियरमा चलचित्रको मुख्य अभिनेत्री अन्जिला तुम्बापो लिम्बु र अन्य मुख्य कलाकारहरुको उपस्थिती हुन नसके पनि कलाकार प्रकाश सुब्बा र बालकलाकार नमिक्षा मगर, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, राजेश बगडिया लगायत मोफसलका कलाकार, खेलाडी र स्थानिय व्यवसायीहरुको उपस्थिती रहेको थियो।


हङकङ र बेलायतमा ग्राण्ड प्रिमियर भैसकेपछी नेपालमा पहिलोपटक धरानमा ग्राण्ड प्रिमियर गरिएको चलचित्रका निर्देशक मिलन चाम्सले बताए। उनले धरान संगै पूर्वका मुख्य शहर दमक, विर्तामोड लगायतका सिनेमा हलहरुमा पनि प्रिमियरको आयोजना गरिने जानकारी दिए। निर्देशक चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । यस अघी उनले ब्लाइड रक्स र बबी निर्देशन गरिसकेका छन्। तुलनात्मक रुपमा चलचित्र “अन्जिला” चाम्सको अन्य चलचित्रहरु भन्दा निकै उत्कृष्ट बनेको छ। चलचित्रमा अन्जिलाको खेल जीवनको संघर्षका कथाहरु प्रस्तुत गरिएको छ। चलचित्र हेर्ने आम दर्शकहरु हल भित्र रोइरहेको दृश्यले चलचित्रले दर्शकहरुको मन जितेको अनुमान लगाउन सकिन्छ। यसैगरी चलचित्रमा दयाहाङ राई, बिजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनयले चलचित्रलाई थप आकर्षक बनाईएको छ।चलचित्र हेरिसकेपछि दर्शकहरुले अन्जिलाको अभिनयको खुलेर तारिफ गरेका थिए।
चलचित्र अन्जिला तुम्बापोको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा छायांकन गरिएको छ। अन्जिलाको बाल्यकालदेखि खेल जीवन सम्मको संघर्ष र सफलताको कथा समेटिएको छ। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चिलचित्रमा सुदीप बरालको डिओपी, मिलन श्रोष्ठको सम्पादन रहेको छभने चलचित्रलाई सुदीप बरालले छायांकन गरेका छन् ।चलचित्र यही फागुन २९ गते अल नेपाल रिलिज हुने भएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)