सामाजिक संजालबारे धरानमा सचेतनामूलक सडक नाटक
दिव्य रोशनी(धरान)/ सुरक्षित ईन्टरनेट दिवसको अवसरमा धरानको भानुचौकमा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ।
शनिवार भ्वाईस अफ चिल्ड्रेन तथा धरान रेडियो श्रोता क्लबको आयोजनामा सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो। धरानका विभिन्न विद्यालयका विद्यार्थीहरुद्धारा प्रहसन गरिएको नाटकमा समाजिक संजालको दुरुपयोगबारे चित्रण गरिएको थियो। जसमा एकजना युवाले आफ्नो प्रोमीका बनाउन गरिएको मरिहत्ते र युवतीले नमानेपछि उसको फोटोलाई अर्कै व्यक्तिको फोटोसँंग टाउको जोडेर अश्लिल सामाग्री सामाजिक संजालमा राखेपछि उत्पन्न परिस्थिती दर्शाइएको थियो। नाटकमा सामाजिक संजालमा चरित्र हत्या गर्ने व्यक्तिलाई कानुनको कठघरमा पुर्याईएको समेत देखाईएको थियो।

कार्यक्रममा प्रमुख अतिथी धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले सामाजिक संजालको गलत ढंगले प्रयोग गर्दा समाजमा विकृति विसंगती पनि भित्रिएको बताए। उनले सामाजिक संजालमा देखिएका विकृति र विसंगतीलाई रोक्न राज्यले ऐन कानून बनाएर अगाडी बढिरहेको समेत बताए। उनले सामाजिक संजाललाई सुरक्षित रुपमा प्रयोग गर्न सके समाजमा धेरै सकरात्मक परिवर्तनहरु समेत ल्याउन सकिने बताए। उनले भने “अहिले सामाजिक संजाललाई सदुपयोग भन्दापनि दुरुपयोग गर्नेहरुको संख्या बढ्दैछ, तिनैलाई रोक्न सामाजिक संजाल विधेयक ल्याएर सरकारले सदनमा छलफल बढाईरहेको छ। राज्यले सामाजिक संजाललाई दुरुपयोग गर्नेहरुलाई कार्वाही नगरे के राज्यले सम्मान गर्ने, यस्ताहरुलाई कानुनी कठघरमा उभ्याएर कार्वाही गरिनुपर्छ।” उनले समाजिक संजाललाई दुरुपयोग गर्नेहरुलाई कडा कार्वाही गर्नुपर्ने भन्ने पक्षमा आफु रहेको बताए।
यसैगरी विशेष अतिथी ईलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी डिएसपी प्रकाश जबेगुले अहिलेका पुस्ताहरु सामाजिक संजालमा व्यस्त रहने भएकाले सानोतिनो कमजोरी रहे विकराल अवस्थाको सामना गर्नुपर्ने रहेछ भन्ने यो सडक नाटकले दिएको बताए। उनले यदि कोही कसैलाई सामाजिक संजालबाट दुव्र्यवहार गरे प्रहरी सदैव पिडीतहरुको पक्षमा वकालत गर्ने बताए। उनले भने “तपाईहरु डराउनु पर्दैन, यदि कोही कसैले सामाजिक संजालबाट चरित्र हत्या गर्न खोजे अथवा डर त्रास देखाएर शोषण गर्न खोजे तुरुन्त प्रहरीलाई खबर गर्न अनुरोध गर्छु।” अहिले धरानमा लागुऔषधमा फसेका घटना तथा अनलाईबाट ठगिएका घटनाहरुपनि बढ्दै गएकाले यस्ता घटनाहरुलाई न्यूनिकरणका लागी प्रहरीसंँगै धरानका राजनीतिकदल, बुद्धिजिवीहरु एकजुट भएर लागीपर्नुपर्ने डिएसपी जबेगुको भनाई थियो।
यसैगरी कार्यक्रमका सभाध्यक्ष तथा धरान रेडियो क्लबका अध्यक्ष मानव गदाईलीले अनलाईनबाट बालबालिकाहरुलाई हुने दुव्र्यवहारबारे सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको बताए।
सडक नाटकका कलाकारहरुमा प्रमिशा थापा, शरु राई, ईन्जिस देवान, योन्छु लिम्बु, शशी लिम्बु, सौगात विक, कुसुम राई र भावना विश्वकर्मा रहेका थिए।यसैगरी सचेतनामूलक सडक नाटकमा प्रहरी जवान ऋषिकेश कार्की र किशोर धिमालको समेत अभिनय रहेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)