“धरान श्रमदानबाटै बन्छ, रोएर बस्दैन” मेयर साम्पाङ (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई(हर्क साम्पाङ) ले धरान विकासका लागी श्रमदान मार्फत् अगाडी बढ्ने भएकाले कसैसंग रोएर नबस्ने बताएका छन्।
सो कुरा उनले शनिवार देखी धरानमा शुरु भएको पाँचदिने धरान उत्सवको उद्धघाटनका क्रममा बताएका हुन्। मेयर साम्पाङले केन्द्र र प्रदेश सरकारबाट बजेट आउछ र विकास गरौला भनेर बस्न नहुने बताए। उनले अब श्रमदान मार्फत् धरानको विकास निर्माण कार्यलाई अगाडी बढाईने समेत उद्धघोष गरे। उनले भने “अब केन्द्र र प्रदेशबाट बजेट आउँछ र विकास गरांैला भनेर धरान रोएर बस्दैन, तपाई मलाई दुई हात साथ दिनुस्, म विकास गर्छु ।अब देशमा श्रमको क्रान्ति ल्याउनु पर्छ।”
सोहीक्रममा मेयर साम्पाङले मानव विकासका तीन आधार प्रकृति, संस्कृति र प्रविधि भएकाले यसैलाई आत्मसाथ गरेर अगाडी बढ्नुपर्ने बताए। उनले विकासमा चाईनासँंग धरानले प्रतिस्पर्धा गरिनुपर्ने बताए। उनले भने “हाम्रो प्रतिस्पर्धा भनेको कुनै दल नभई विकासमा चाईनासंँग भएकाले हामीले चाईनाले भन्दा धेरै प्रकृतिलाई संरक्षण गरेर देखाउनुपर्छ, चाईनाले भन्दा धेरै संस्कृतिलाई प्रवद्र्धन गरेर देखाउन सक्नुपर्छ साथै प्रविधीलाई पनि चाईना भन्दा धेरै अगाडी बढेर काम गर्नुपर्छ।” धरानले अहिले आफैंले आविस्कार केन्द्र खोलेको बताउँदै मेयर साम्पाङले उद्योग संचालन गरेर धरान अगाडी बढ्ने क्रममा रहेको बताए।


सोहीक्रममा मेयर साम्पाङले धरान आफैंमा बहुसाँस्कृतिक शहर भएकाले आधुनिकताको नाममा हाम्रा संस्कार र संस्कृतहरुलाई बिर्सन नहुने बताए। उनले पूर्वजहरुले छोडेर गएको संस्कृतिलाई सबैले अंगिकार गर्नुपर्नेमा सबैलाई सचेत समेत गराए। यसैगरी मेयर साम्पाङले दिनरातको मिहनेतले धरानमा ३०/४० वर्षदेखी नभएका विकासहरु अढाई वर्षको अन्तरालमा धेरै भएको बताए। उनले जनताका धेरै मागहरु आएकाले एकै पटक समाधान गर्न नसकिने बताउँदै ३०/४० वर्षसम्म नभएको विकास साढे दुईवर्षको अवधिमा धेरै काम भएको बताए।
धरानमा विकासका कार्यहरु धेरै भएको बताउँदै मेयर साम्पाङले विकास भनेको क्रमांगत हुने कार्यनै विकास भएको बताए। उनले विदेशी ऋण लिएर नभई आफैंले श्रमदान गरेर धरानको विकास शुरु गरिएको बताए। उनले भने “केन्द्र सरकारले बजेट दिन्छ र विकास गरौंला भनेर आशामा नबसौं, दिए दिओस् नदिए आफैं बनाउनुपर्छ। सप्तकोशीबाट पानी ल्याएर खाऔं भनेर आशामा नबसौं। कोकाहा खोलाको भिरमा पाईप तान्न आउनुस् म तपाईलाई पानी खुवाउँछु।” उनले आफु निर्वाचित भएर आउँदाको अवस्था र अहिलेको अवस्थाको राजनैतिक दलहरुले भन्नुपर्ने अवस्था नआएको बताए। उनले यो कुरा केन्द्र सरकारले पनि बुझ्नुपर्ने बताउँदै भने–“नभए थोत्रे गाग्री लिएर प्रधानमन्त्रीलाई भेट्ने विचारमा छु।”


एक फरक प्रसंगमा मेयर साम्पाङले चरित्र हत्या हुने खालका पत्रकारिता नगर्न संचारकर्मीहरुलाई सुझाव दिए। उनले आफै पनि मिडिया प्रेमी भएको बताउँदै धरानलाई सुरक्षित र समृद्ध ठाउँ बनाउन पत्रकारिताको ठुलो भूमिका रहने पनि बताए।
यसैगरी कार्यक्रममा पूर्व प्रदेश प्रमुख गोविन्द तुम्बाहाङले ब्र्रिटिसले छाडेर गएपछि धरान मृत शहर भएको बताए। उनले मृत अवस्थामा पुगेको धरानलाई जिवित दिलाउन तत्कालिन प्रम गिरिजा प्रसाद कोईरालाले विपी प्रतिष्ठानको स्थापना गरेपछि धरान पूर्नजिवीत भएको बताए।
त्यस्तै प्रदेश सांसद रमेश बस्नेतले धरानलाई पर्यटकिय गन्तव्य बनाउन धेरै सम्भावनाहरु भएको बताउँदै त्यसको खोजी गरिनुपर्ने बताएभने प्रदेश सांसद ममता योञ्जन, नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोख्रेलल, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतले धरानको विकासमा धरानेहरुको साथ र सहयोगका कारण विकास भएको बताउँदै धरानमा ठुलाठुला प्रोजेक्ट नआएको दाबी गरेका थिए।
त्यस्तै आदिवासी जनजाती महासंघका नगर समन्वय परिषदका अध्यक्ष सुवाश हुक्पाचोङबाङले हाम्रो जुनसुकै भाषा, धर्म संस्कार संस्कृति भएपनि हाम्रो अर्जुन दुष्टि भनेको धरानको विकास र समृद्धि नै हुनुपर्नेे बताए।


यसैगरी धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले स्वागत मन्तव्यकोक्रममा धरान बहुजाती, बहुभाषी, बहुसांस्कृतिक रुपमा रहेकोले हरेक कार्यक्रममा विभिन्न जातजातिका झाँकी र्याली सहितको संस्कार, संस्कृतिले धरान एक साझा मालाको रुपमा रहेको बताए। उनले संस्कार संस्कृतिलाई दर्शाउने झाँकी र्यालीले विविधता भित्रको एकता धरानमा रहेको समेत बताए।
“शिक्षा, स्वास्थ्य, पर्यटन तथा व्यापारीक पूर्वाधार, बहुसांस्कृतिक आवासीय समृद्ध शहर” भन्ने नारासहित पुष २० गतेदेखी पुष २४ गतेसम्म धरान डे उत्सव मनाईदैछ। धरानमा मानव बसोबास सुरु भएको १२४ वर्ष पुगेको अवसरमा उपमहानगरले धरान डे उत्सव मनाएको हो। उपमहानगरले हरेक वर्ष पुष २० गतेलाई धरान डे को उत्सवको रुपमा मनाउदै आएको छ। धरान उत्सवको प्रमुख अथितीमा ८८ वर्षिय श्रमदाता काजीमान गुरुङ रहेका थिए। उनले पानसमा द्विप प्रज्वलन गरि उत्सवको उद्धघाटन गरेका थिए।


उत्सवको उद्धघाटन अघि पब्लिक हाईस्कुलको खेल मैदानबाट शुरु भएको साँस्कृतिक झाँकी सहितको र्यालीले धरानको छाता चौक हुँदै धरान रंगशालामा रहेको कार्यक्रम आयोजना स्थल पुगेको थियो। र्यालीमा धरानका विभिन्न जातीय संस्था, विभिन्न संघ–संस्थाहरु, सबै विद्यालयहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा उपमहानगरले उत्कृष्ट करदाता, सहयोगी संघसंस्था, श्रमदाताहरुलाई सम्मान समेतको आयोजना गरेको थियो।
उत्सवमा ५ दिनसम्म विभिन्न साँस्कृतिक, खेलकुद,मनोरञ्जनात्मक तथा साहित्यिक, सांगीतिक कार्यक्रमहरु आयोजना गरिने छभने उत्सवस्थलमा शैक्षिक, कला साहित्य, खाद्य प्रर्दशनी तथा बिक्री स्टलहरु पनि राखिने भएको छ। धरान डे आयोजना अवधिभर विगतमा जस्तै प्रवेश निःशुल्क हुने र स्थानीय, घरेलु उत्पादनहरुको प्रर्दशनी तथा बिक्रीलाई प्राथमकिता दिइने पनि उपमहानगरले जनाएको छ।


आज पुष २१ गते आईतबार उत्सवको दोस्रो दिन बिहान ८ बजेदेखि साइक्लिङ हुनेछ भने दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र साहित्यिक कार्यक्रम पनि हुनेछ । त्यस्तै उत्सवको तेस्रो दिन पुष २२ गते पनिइस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १ र लोक जुहारी कार्यक्रम हुनेछ भने उत्सवको चौथो दिन पुष २३ गते बिहान वाकाथुन, दिउँसो इस्टर्न सिंङ्गिङ सुपर स्टार सिजन १, रस्सि तान र छेलो हान्ने प्रतियोगिता पनि आयोजना हुनेछ।
उत्सवको अन्तिम दिन पुष २४ गते बिहान श्रमदाता र्यालीको आयोजना हुनेछ भने दिउँसो साँस्कृतिक झाँकी प्रस्तुती, प्रशंसा पत्र वितरण र धन्यवाद ज्ञापन कार्यक्रम हुनेछ।
साथै उत्सवअवधीभरी प्रत्येक दिन साँझ ५ बजेदेखि राती १० बजेसम्म सांगीतिक तथा साँस्कृतिक कार्यक्रम आयोजना हुने प्रचार/प्रसार समिति संयोजक तथा कार्यपालिका सदस्य दिनेश गजमेरले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)