सकियो भेडेटार फुडफेस्टिबल

दिव्य रोशनी(धरान)/ पूर्वकै पर्यटकीय स्थल भेडेटारमा जारी तिनदिने फुडफेस्टिबल सम्पन्न भएको छ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गरेर भेडेटारमा आयोजना गरिएको तिनदिने फुडफेस्टिबल विहिवार सम्पन्न भएको हो। “भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना” भन्ने नाराका साथ होटल एशोसिएसन भेडेटारको आयोजनामा भएको यो १२ औं फुडफेस्टिबल हो। मंगलबार कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रि षडानन्द मण्डलद्धारा उद्धघाटन गरिएको भेडेटार फुडफेस्टिबलको समापन विहिवार साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका गाउपालिका अध्यक्ष रुम्दालीले यस फेस्टिबललाई सबै भेडेटारवासीहरुले आफ्नो अपनत्व लिनुपर्ने बताए। उनले भेडेटारमा आउने पर्यटकहरुकै कारण यहाँको ब्यवसाय फस्टाउनुका साथै निजी लगानीहरु भित्रिएकोले अब आउने नयाँ पिढीले भेडेटारको पर्यटन प्रवद्र्धनमा थप भूमिका खेल्नुपर्ने बताए।

यसैगरी कार्यक्रममा वडा न ६ का वडाअध्यक्ष यम प्रसाद मगरले भेडेटारको पर्यटन प्रवद्र्धनका लागी आयोजना हुँदै आएको फेस्टिबलमा प्रचार प्रसारको कमि महशुस भएको बताए। उनले आगामी फेस्टिबलमा गाँउपालिकाले ५ लाख हैन १० लाख छुट्याउनु पर्ने बताए। त्यस्तै एशोसिएसनका अध्यक्ष तुमराज लिम्बुले आगामी वर्षमा फुडफेस्टिबललाई नमस्ते झरना सम्म पुर्याईने बताए।
कार्यक्रममा गाउपालिकाले उत्कृष्ट ५३ जना उत्कृष्ट कृषकहरुलाई पुरस्कृत समेत गरेको थियो।