अंग्रेजी नयाँवर्षलाई लक्षित गर्दै भेडेटारमा तिनदिने फुडफेस्टिबल शुरु
दिव्य रोशनी(धरान)/ पूर्वकै पर्यटकीय स्थल भेडेटारमा तिनदिने फुडफेस्टिबल शुरु भएको छ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गरेर भेडेटारमा तिनदिने फुडफेस्टिबल शुरु भएको हो। “भेडेटार प्रकृतिको गहना, पर्यटक भित्र्याउने हाम्रो चाहना” भन्ने नाराका साथ होटल एशोसिएसन भेडेटारको आयोजनामा भएको यो १२ औं फुडफेस्टिबल हो। मंगलबार देखी शुरु भएको फुडफेस्टिबलको उद्धघाटन कोशी प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रि षडानन्द मण्डलले गरेका छन्। उनले भेडेटारलाई चिनाउन फुडफेस्टिबल सहायकसिद्ध हुने बताए।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्रि मण्डलले भेडेटारको पर्यटन प्रवद्र्धनमा कोशी प्रदेश सरकार पनि उत्तिकै लागिपरेको बताउदै २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्षको घोषणा गरिएको बताए। उनले राजनीतिक उतरचढाव नभए आगामी १ वर्षभित्रमा नेपालमै सबैभन्दा बढी कोशी प्रदेशमा पर्यटक भित्र्याउने दावी समेत गरे।
यसैगरी कार्यक्रममा साँगुरीगढी गाँउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले साँगुरीगढी गाँउपालिकाका अध्यक्ष तथा एशोसिएसनका पूर्व अध्यक्ष जितेन्द्र रुम्दालीले भेडेटारको पर्यटन प्रवद्र्धनमा फुड फेस्टिबलले ठुलो भूमिका खेल्दै आएको बताए। उनले आफु पर्यटन व्यवसायी भएपनि गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि भेडेटारको पर्यटन प्रवद्र्धनमा गाउँपालिकाले विशेष भूमिका खेल्दै आएको बताए। उनले भने “ म गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर आएपछि भेडेटारको पर्यटन प्रवद्र्धनमा विशेष चासो राखेको छु, भेडेटारमा रहेका पर्यटकिय गन्तव्यहरुको ब्रोसर बनाई प्रचारप्रसार गर्ने, होटल व्यावसायीहरुलाई दक्षता अभिवृद्धि तालिम, खुवालुङ त्रिवेणी हुँदैं ध्वजे डाडा सम्मको पदमार्ग निर्माण गरेको छु।” उनले थुम्कीमा निर्माण भईरहेको बहुजातीय जनजाती पार्कका अधुरा कार्यहरु निर्माण शुरु गरिने साथै भेडेटारमा रहेका नयाँ गन्तव्यहरु खोजी गरिने समेत बताए।
त्यस्तै धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघाले यस्ता कार्यक्रमले भेडेटारको पर्यटन प्रवद्र्धनमा विशेष सघाउ पुग्ने बताए। उनले धरान र धनकुटाको सिमानामा रहेको भेडेटारको पर्यटन प्रवद्र्धन दुई पालिकाले सहकार्य गर्दै जाने बताए।
कार्यक्रममा उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई, धनकुटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, प्रदेशसभा सदस्य निरन कुमार राई, कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भवेश कुमार श्रेष्ठ, नेकपा एमाले सचिवालय सदस्य बल बहादुर राई लगायतले फेस्टिबल सफलताको शुभकामना व्यक्त गरेका थिए।
यसैगरी आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले अंग्रेजी नयाँ वर्षको अवसर पारेर भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन फुड फेस्टिबलको आयोजना गरिएको बताए। उनले फुड फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, अर्गानिक तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिएको समेत जानकारी दिए।
अध्यक्ष लिम्बुका अनुसार फेस्टिबलमा ४० देखी ५० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। यसैगरी फेस्टिबलमा हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछ।
कार्यक्रममा धनकुटाका पत्रकार विनोद घिमिरे र धरानका पत्रकार गोविन्द बस्नेतलाई नगद सहित सम्मानपत्रले सम्मान समेत गरिएको थियो। यसैगरी कार्यक्रममा किरात राई यायोक्खा, याक्थुङ चुम्लुङ, नेपाल मगर संघ, याम्फु समाज लगायतले जातिय झाँकी समेत प्रस्तुत गरेका थिए।
यसैगरी आयोजकले फेस्टिबल अवधीभर पर्यटकहरुका लागी विशेष प्याकेज समेत ल्याएको छ। जस अन्तर्गत फेस्टिबलको पहिलो दिन प्रतिव्यक्ति २ हजार ५ सयमा पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई ब्रिज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जे बास र खानाको व्यवस्था मिलाएको छभने दोस्रो दिन २ हजार ५ सयमा ध्वजे डाँडा सुर्योदय अवलोकन, एसियाको दोस्रो ठुलो अजंगको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन, बस्नको लागी नाम्जे वा डाडा बजार होम स्टे र खानाको प्याकेज राखेको छ। त्यस्तै फेस्टिबलको अन्तिम दिन तमोर रिभर रयाफ्टिङ, भेडेटारमा बास र खानाको प्याकेज ४ हजार रुपैया तोकेको छभने प्याराग्लाईडिङ, भेडेटारमा बास र खानका लागी ८ हजारमा प्याकेज मिलाएको छ।
यसैगरी फेस्टिबलमा आउने पर्यटकहरुले साँगुरीगढी गाउँपालिकाभित्र रहेको शैलुङडाँडा, स्काई ब्रिज, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, पिकनिक स्पट, आत्मा बस्ने घर, सुर्योदय बौद्ध पार्क, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाँउ होम स्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजंगको वरको रूख, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, ध्वजे डाँडाँ पदमार्ग, झण्डी डाँडा, गोलखाडी लगायतका ठाउँहरु अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।
आयोजक होटल एशोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठको स्वागत मन्तव्य रहेको सो कार्यक्रमलाई एशोसिएसनका पूर्व अध्यक्ष लिलाराज लावतीले संचालन गरेका थिए।