धरान संगीत जात्रामा शनिबार एकदेव लिम्बूको प्रस्तुती रहने
दिव्य रोशनी(धरान)/ गायक एकदेव लिम्बूले गाएको “झिमझिमाउने आँखा बोलको गीत रिलिज भएको तिनहप्तामै युटुव च्यानलमा ट्रेन्डिङमा प¥यो। उनैले गाएको शिरफूल बोलको गीतलाई ४१ मिलिएन अर्थात ४ करोड १० लाख दर्शक स्रोताले हेरेको छ।
युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू धरान संगीत जात्रा, सांस्कृतिक महोत्सवमा धरान आउने भएकाछन्। लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै चलेका गीतहरु हुन्।
उनलाई नेचर क्लव धरानले पुस १३ गते शनिबार धरान बोलाएका हुन् । पुस १७ गतेसम्म धरान १५ स्थित बगरकोटमा जारी महोत्सवमा धराने जनताको माग भए अनुसार आफुहरुले एकदेव लिम्बूलाई निम्तो गरिएको क्लवका अध्यक्ष कृष्ण राईले बताए।
सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले रुचाइएका गायक लिम्बू गायकीमा मात्रै होइन समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै फरक क्षमताकी एक युवतीको सहयोगार्थ उनकै घरमा च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए ।
लोक आधुनिक तथा पप फ्लेवरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर धरान संगीत जात्रामा एकदेव लिम्बूलाई बोलाइएको जात्राका संयोजक दिपचन्द्र राई (कान्छि) ले बताए ।
प्रत्येकदिनजसो चर्चितका गायकहरु महोत्सवमा उतारिरहेका क्लवले लगतै आइतबार ज्योती मगर, सोमबार अनमोल गुरुङ, (कालिम्पोङ) मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यलाई प्रस्तुत गर्न लागिएको कान्छिले बताए ।