१९ औ ललित अम्वर डिपो कपको तयारी पुरा(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ यहि पुस १२ गते देखि १९ गतेसम्म धरानमा हुनलागेको १९ औं ललित अम्वर डिपो रनिङ कप प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
बुधवार डिपोट स्कुलको सभाहलमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्बुले ललित अम्वर डिपो रनिङ कप प्रतियोगिताको तयारी पुरा भएको बताए। उनले कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउने प्रतियोगितामा सुनसरीका १६ टिमको सहभागिता रहेको बताए। उनका अनुसार प्रतियोगितामा आयोजक डिपो स्कुलको रातो र पहेलो गरी दुई टिम रहेको छभने अन्य टिमहरुमा देउराली चिल्ड्रेन एकेडेमी, धरान लिगामेन्ट, पर्वत स्कुल, समिट, ईम्मानुयल, सुनाखरी, हिविसकस, कार्मेल, जोल सया, नेपाल पुलिस, आईडियल, दिल्ली पब्लिक, नोबेल एकेडेमी र माउण्ट हर्मन स्कुल रहेका छन्।
प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछन्भने दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
यसैगरी ललित अम्वर डिपो कपको पहिलो चरणमा पराजित टिमहरु बिच दिलकुमार प्लेट च्याम्पियन कपको प्रतियोगिता हुने आयोजकले जनाएको छ। पहिलो चरणमा पराजित ८ टिमले प्लेट च्याम्पियन उपाधीका लागि भिड्नेछन्। प्लेट च्याम्पियनका विजेताले नगद ३ हजार १ सय ११ रुपैया र उपविजेताले २ हजार १ सय ११ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। डिपो कपको पहिलो चरणका खेलहरु सकिएपछि प्लेट च्याम्पियनका खेलहरु शुरु हुनेछ। प्रतियोगिताका सम्पुर्ण खेल धरान १८ स्थित डिपो स्कुलको खेल मैदानमा हुनेछ।
गतवर्षको १८औं ललित अम्बर डिपो कपमा नेपाल प्रहरी स्कुल धरान विजेता बनेको थियोभने बराह राईजिङ स्टार बराहक्षेत्र उपविजेता बनेको थियो। यसैगरी दिल कुमार प्लेट च्याम्पियन कपको उपाधी कार्मेल हाईस्कुल धरानले जितेको थियोभने मर्निङ स्टार बोर्डिङ स्कुल बराहक्षेत्र दोस्रो बनेको थियो।
यसैगरी पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल तथा डिपो आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख राजकुमार राईले सुनसरीका विद्यालयहरुमा आपसि भाइचारा समेत वढाउनका लागी प्रतियोगिताको आयोजना गरिएको बताए। उनले यस प्रतियोगिताले विद्यार्थीहरुलाई शिक्षा संगै अतिरिक्त क्रियाकलापमा सहभागिता गराई उनिहरुमा भएको प्रतिभालाइ प्रोत्साहन गर्न मद्धत मिल्ने बताए।