धरान संगीत जात्रा सांस्कृतिक महोत्सवको आयोजना हुने (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन भन्ने मूल नाराका साथ धरान संगीत जात्रा सांस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ ।
नेचर क्लब धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा धरान १५ स्थित पर्यटकिय स्थल वगरकोट, एभरेष्ट लाइनमा यहि पुस ७ गतेदेखि १७ गतेसम्म उक्त महोत्सव आयोजना हुने महोत्सव संयोजक दिपचन्द्र राई (कान्छी)ले जानकारी दिए । राईका अनुसार उक्त महोत्सवको सह–आयोजकमा त्रिवेणी महिला समुह धरान १५ रहेको छ। विहिवार धरान ८ स्थित होटल सन्ध्या इनमा आयोजित पत्रकार सम्मेलनमा संयोजक राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहनुका साथै मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकार सहितको अग्र्यानिक खाद्यान्न लगायतका ५० वटा स्टलहरु राखिने जानकारी दिए । त्यस्तै महोत्सवमा स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिइनेछ भने महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरुदेखि सबै उमेर समुहका नागरिकहरु रमाउन सक्ने गरि रोटेपिङ, ड्रयागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस लगायतका खेल तामासाका सामग्रीहरुको व्यवस्था समेत गरिएको राईले जानकारी दिए ।
महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय व्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड व्याण्ड, द क्राइसिस, उर्जा व्याण्ड, लासोज व्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहनेछ।
करिब ८० लाख लागत रहने महोत्सव प्रवेशका लागि दिउसोको समय निःशुल्क रहनेछ भने अपरान्ह ४ बजेपछि कालाकारहरुको प्रस्तुतिलाई मध्यनजर गर्दै प्रवेश शुल्क २ सय देखी ३ सय सम्म निर्धारण गरिएको नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले बताए। उनले गीत, सगीतको माध्यमवाट मनोरञ्जन प्रदान गर्ने र यस महोत्सवबाट बचेको रकम सामाजिक काममा सदुपयोग गरिने समेत जानकारी दिए।
पत्रकार सम्मेलनमा धरान वडा १५ का अध्यक्ष नरेश इवाराम, सहआयोजक त्रिवेणी महिला समूहका अध्यक्ष लक्कि राई, मजदुर नेता भिम राई ज्वाला राई, निशान त्रिवेणी टोल विकास संस्थाका सल्लाहकार भिम बहादुर बोहरा, सचिव डेनिस कार्की लगायतको उपस्थिति रहेको थियो ।