मौनता पार्कः मेडिटेसनको गन्तव्य

मनिता चाम्लिङ/

दिव्य रोशनी(धरान)/ भीडभाड र कोलाहलबाट टाढा रहेर शान्त ठाउँ रोज्न होस् या दिनभरीको श्रमपछि थाकेको शरीरलाई आराम दिलाउन, धरानको श्रम संस्कृति पार्कमा रहेको मौनता क्षेत्र अहिले मेडिटेसनको लागी सबैको रोजाई बन्दै गएको छ।
धरान २० स्थित श्रम संस्कृति पार्कमा निर्माण गरिएको यस मौनता क्षेत्रमा अहिले हरेक दिन युवा देखी वृद्धवृद्धाहरु मेडिटेसनका लागी जाने गरेका छन्। श्रम संस्कृति पार्कको शिरमा रहेको यस मौनता क्षेत्र वास्तवमै शान्त र सुन्दर रहेको छ। भीडभाड र कोलाहलबाट टाढा रहेको यस मौनता क्षेत्रमा पुगेर ध्यानमा बसेपछि वास्तवमै जो कोहीको मन आनन्दित हुने मौनता क्षेत्रका डिजाईनर राम प्रसाद राईले बताए। उनले मौनता क्षेत्रमा अहिले मेडिटेसनका लागी आउनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको समेत बताए।

त्रिभूज आकारको सेपमा रहेको मौनता क्षेत्रमा ५ फिट अग्लो ग्रीन बुद्धको प्रतिमा समेत रहेको छ। सो ग्रिन बुद्धको प्रतिमा धरानका चर्चित मूर्तिकार रोजन राईले बनाएका हुन्। ५० हजारको लगानीमा निर्माण गरिएको ग्रीन बुद्धको प्रतिमा ध्यानमग्न अवस्थामा रहेको देखिन्छ।
“मौन रहनु अर्थात केही न केही प्राप्त गर्नु हो” मौनता क्षेत्रका डिजाईनर राम प्रसाद राईले भने । भगवान बुद्धले पनि शान्त ठाउँमा रहेर ज्ञान प्राप्त गरेकाले मनलाई शान्त बनाउन मौनता क्षेत्रमा ग्रीन बुद्धको अवधारणा ल्याईएको उनको भनाई छ। हाल बुद्धको प्रतिमा (अनुहार बाहेक) हरियो रंगले पोतिएको छभने पछि बिस्तारै हरियो झारले ढाकिनेगरी झारहरु पनि रोपिएको छ। यसैगरी सोही अनुरुप मौनता क्षेत्रको सिंढीहरु पनि हरियो रंगले पोतिएको छभने पार्कमा हरियो दुबोहरु पनि रोपिएको छ। मौनताक्षेत्रमा मेडिटेसन गरिने भएकाले बोल्न र हल्ला गर्न निषेध गरिएको डिजाईनर राईले बताए। उनले भने “आउनुहोस् ध्यानमा बस्नुस् तर बोल्न र हल्ला गर्नभने पाईदैन।”
धरानका मेयर हर्क साम्पाङको परिकल्पनामा स्वतन्त्र दिदी बहिनीहरुले निर्माण गरेको यस मौनता क्षेत्रको मंगलवार धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उद्धघाटन गरेका छन्। उद्धघाटनका क्रममा मेयर साम्पाङले मान्छे निदाएको अवस्था बाहेक बोलिरहने भएकाले मनको आवाज सुन्न मौनता क्षेत्र बनाईएको बताए। उनले दिनभरीको थकाई पछि शरीरलाई पुर्नताजगी दिलाउन तथा मानसिक क्षमता विकासका लागी पनि मेडिटेसनको एकदमै महत्वपूर्ण भूमिका रहेको बताए। उनले भने “मौनता क्षेत्रमा बोल्न र गफ गर्न पाईदैन। मन सँंग मात्र बात मारेर आउने हो। प्रेम गर्ने जोडीहरु पनि आउनुहोला तर बोल्न भने पाईदैन।” मेडिटेसन गरौ भन्ने उद्धेश्यले निर्माण गरिएको मौनता पार्कमा परिसरमा मेडिटेसन गरिने भएकाले बोल्न नपाईने मेयर साम्पाङले बताए।
हामी अरुको कुरा सुन्न छाडेर बोलेको बोलेकै गर्दा आफुमा भएको सिर्जना हराई सकेको मेयर साम्पाङले बताए। “एउटा कविता लेख्दा होस् या योजना बनाउँदा, एक्लो भएर सोच्नुपर्छ” उनले भने। मौनताक्षेत्रमा गएर ध्यानमा बसेपछि मानसिक क्षमताको विकास हुने समेत उनले विश्वास व्यक्त गरे। सोहीक्रममा मेयर साम्पाङले अब महिलाहरु घरको भान्सामा मात्रै सिमित नभएको बताउँदै यस्ता कार्यले महिला दिदीबहिनीहरु सक्रिय रहेको भन्ने पनि देखाएको बताए। उनले भने “यो महिला शसक्तिकरणको उदाहरण हो, चिया खाएर सभा सम्मेलन गरेर मात्र महिला शसक्तिकरण हँुदैन।”
महिलाहरुले यसरी पार्कहरु बनाउन सक्छ भन्ने उदाहरण धरानमा देखिएको मेयर साम्पाङले बताए। “छोरा मान्छेहरु अहिले यहाँ बोलिरहेको छ भोली कतारमा पुगेको देखिन्छ। १० वर्षपछि घर फर्किरहेको अवस्था छ। त्यसैले पनि तुलनात्मक तरिकाले नेपालमा बस्ने पनि पुरुषको तुलनामा महिला नै धेरै हुन्छ” उनले भने। महिलाहरु पनि सुशासन र विकास निर्माणमा अगाडी रहन अनुरोध गर्दै भोली हर्क साम्पाङ रहेपनि या नरहेपनि यस अभियानले देशैभरी निर्माण र सुधार गर्दै जानुपर्ने उनले सुझाव दिए।


युएसएमा बसोबास गर्दै आएका सोलुखुम्बुका लोकेन्द्र राईले दिएको १० हजारबाट शुरु गरेको मौनता पार्क ८ महिनामा सम्पन्न भएको थियो। पार्क निर्माणका लागी ८१ जना दाताहरुले सहयोग गरेको मौनता क्षेत्र निर्माण समितीका कोषाध्यक्ष बाडामा सुनिता राईले बताईन्। उनका अनुसार पार्क निर्माण लागी दाताहरुबाट १० लाख १६ हजार २ सय ५२ रुपैयाँ सहयोग प्राप्त भएकोमा ग्रीन बुद्धको प्रतिमा ५० हजार, लेवर खर्च १ लाख ८७ हजार ९ सय, शिलालेख खर्च १ लाख १० हजार ६ सय ९०, टाली खर्च २ लाख ९५ हजार ५ सय ४५, खाजा र पानी ६४ हजार ६ सय ६७, नयाँ गुलाफ फुलका विरुवा खरिद ४५ सय, सिमेन्ट, बालुवा, माटो, धुपी र मनि प्लाट खर्च २ लाख २८ हजार ३ सय ३४ रुपैयाँ र उद्धघाटन खर्च ४९ हजार ६ सय ८० गरी जम्मा ९ लाख ९१ हजार ३ सय १६ रुपैयाँ खर्च भई ७५ हजार ३५ सय रुपैयाँ बाँकी रहेको छ। यसैगरी समितीले टाली बिक्री ४५ हजार र झाक्री दहको बचत ५ हजार ९९ रुपैयाँलाई पनि आम्दामीमा राखेको छ।
कोषाध्यक्ष राईले मौनता क्षेत्र अवधीभरी ९९ जना श्रमदाताले ११ सय ४८ दिन श्रमदान गरेको बताउदै दैनिक ६ सयले गुणा गर्दा ६ लाख ८८ हजार ८ सय रुपैयाँको श्रमदान भएको बताईन्। उनले श्रमदान र दाताको सहयोगमा १६ लाख ८० हजार १ सय १६ रुपैयाँको लागतमा मौनता क्षेत्र निर्माण सम्पन्न भएको समेत जनाईन्। उनका अनुसार यसअघि स्वतन्त्र दिदी बहिनीहरुले लाखौंको लागतमा रोज गार्डेन र झाक्री दह पार्क निर्माण सम्पन्न गरि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ।
मौनता क्षेत्र निर्माण समितीका सहसचिव मायावी मगरको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा स्वतन्त्र दिदीबहिनीका अध्यक्ष विष्णुमाया याक्खा, गोर्खा चौतारीका को–अर्डिनेटर क्याप्टेन पूर्ण लिम्बुले बधाई ज्ञापन गरेका थिएभने कार्यक्रममा ३० दिन भन्दा बढी श्रमदानमा आउने श्रमदाताहरुलाई कदरपत्र समेत प्रदान गरिएको थियो। समितीका सचिव देशमाया राईको संचालनमा रहेको सो कार्यक्रम समितीका अध्यक्ष हिरा माया गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)