धरानमा भूपू. लाहुरेहरुले बनाए मितेरी पुल
मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ धरानको श्रम संस्कृति पार्कमा अवस्थित एसडिएस रक गार्डेन र एसएनएस रोज गार्डेनलाई जोड्न आकर्षक मितेरी पुलको निर्माण गरिएको छ।
भूपू ब्रिटिस लाहुरेहरुको २११३, १४, १५, १६ र १७ सम्मका रेजिमेन्टलहरुले बनाएको यो आकर्षक मितेरी पुलले रक गार्डेन र रोज गार्डेनलाई जोडेको छ। भूपू लाहुरेहरुले बनाएको यस मितेरी पुलको बिहिवार एक कार्यक्रमको आयोजना गरी भव्य रुपमा उद्धघाटन गरिएको छ। सो पुलको उद्धघाटन धरानका मेयर हर्कराज साम्पाङ राईले गरेका छन्। कार्यक्रममा मितेरी पुल निर्माणका संयोजक राम प्रसाद राईले रक गार्डेन र रोज गार्डेनको बिचमा सर्दुखोला भएकाले दुई गार्डेनलाई जोड्न पनि मितरी पुलको अवधारणा ल्याईएको बताए। उनले मितेरी पुल निर्माणमा भूपू लाहुरेहरुले ठुलो योगदान गरेको भन्दै प्रशंसा गरे।
धरानमा मेयर हर्क साम्पाङ राईको उदयपछि यस शर्दु जलाधर क्षेत्रलाई श्रम संस्कृति पार्क बनाउने परिकल्पना अनुसार शुरुमा सचेत नागरिक समूह (एसडिएस) ले रक गार्डेन निर्माण शुरु गरेको थियो भने शर्दुखोला पारि स्वतन्त्र नागरिक समाज (एसएनएस) ले पार्क बनाउन शुरु गरेको थियो। एसएनएस पार्कको ठिक माथि स्वतन्त्र दिदी बहिनी (एसडिबी) ले रोज गार्डेन निर्माण शुरु गरिरहँदा सर्दु खोलाले यी पार्कहरुलाई छुट्याईरहेको थियो। एसडिबी रोज गार्डेन र रक गार्डेनलाई जोड्नका लागी केही न केही बनाउनुपर्छ भनेर कन्सेप्ट बनाईरहँदा पुलको अवधारणा ल्याईएको मितरी पुल निर्माणका संयोजक राम प्रसाद राईको भनाई छ। उनका अनुसार पुल निर्माण गर्ने अवधारणा ल्याईएपनि बजेटको अभावमा सामान्य फड्के पुल बनाउने भनेर लगभग साढे दुई लाखको अनुमानित बजेट चाहिने निष्कर्ष निकालिएको थियो।
तर पछिल्लो समय हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सदस्य सुवर्ण लिम्बुले संस्थामा छलफल भएपछि रामै्र पुल बनाउ भनेर पैसा संकलन गर्न थालेपछि तेस्रो पटकमा मितेरी पुल बनिएको संयोजक राईले बताए। मितेरी पुल निर्माण अभियानमा शुरुको पहिलो चरणमा ब्रिटिस गोर्खा २११३ का रेमिजमेन्टहरुमात्र संलग्न रहेका थिए। त्यसपश्चात् अन्य २११४, १५, १६ र १७ समेत जोडिएको थियो।
धरान हिजोपनि लाहुरेहरुको शहरको रुपमा परिचित भएको साथै तेस्रो मुलुकपनि लाहुरेहरुकै सम्बन्धका कारण भएकोले लाहुरेहरुको ईतिहास कहि न कहि लेखिनुपर्छ, देखिनुपर्छ भनेर आफुले २११३ देखी २११७ सम्मको रेजिमेन्टलहरुलाई जोडेको संयोजक राईले बताए। उनले यस मितेरी पुलले धेरै जना भूपू लाहुरेहरुलाई जोड्दै लगेको समेत बताए । उनले भने “मेयर साम्पाङको अभियानले पार्क मात्रै हैन मितेरी पुलद्वारा पनि सबैको भावनाहरुलाई जोडेको छ।”
संयोजक राईले विकास निर्माणसँंगै नदेखिएको पाटो भनेको सामाजिक विकास भएको बताउँदै भने–“वर्षाैदेखी हामी धरानमा बस्दैआएपनि यसरी जोडिएका थिएनौ, अहिले हामी देश÷विदेशबाट जोडिएका छौं। पुलले हामी सबैलाई जोडेको छ, अहिले धरानमा आउने पर्यटकहरुका लागी श्रम संस्कृति पार्क रोजाईको गन्तव्य बन्न पुगेको छ।”
यसैगरी यस मितेरी पुलको आय/व्यय सार्वजनिक गर्दै कोषाध्यक्ष हनेरी लेफ्टिनेन्ट पुनेरी प्रसाद लाबुङले यस सर्दु पुलमा यति राम्रो संरचना बनिएपछि आफै छक्क परेको बताए। शुरुमा २ लाख ९८ हजारको सानो फड्के पुल निर्माण गर्ने भनेपनि त्यसपछि ५ लाखको बजेट स्टिमेट गरी काम गर्दै जाँदा बजेटको आकार बढ्दै गएको उनले सुनाए। ११७ जना दाताहरुबाट १९ लाख १३ हजार ३ सय २८ रुपैयाँ संकलन भएकोमा जम्मा खर्च १६ लाख ७० हजार ५ सय २५ रुपैयाँमा पुल निर्माण भएको उनले जानकारी दिए। उनका अनुसार यस मितरी पुल तीन चरणमा सम्पन्न भएको थियो। जसमा पहिलो चरणमा ३५ जना दाताहरुबाट ५ लाख १९ हजार १० रुपैयाँ, दोस्रो चरणमा ४० जना दाताहरुबाट ४ लाख ४८ हजार ६१ रुपैयाँ र अन्तिम तेस्रो चरणमा ९ लाख ४६ हजार २ सय ५७ रुपैयाँ संकलन भएको थियो।
विशेषगरी पुल निर्माणमा सहयोग गर्ने ११७ जना दाताहरुबाट कुनै प्रश्न नआएपछि सबैजना सन्तुष्ट रहेको आफुले बुझेको कोषाध्यक्ष लाबुङले बताए। उनले धरानको विकास निर्माणमा सघाउन सबै लाहुरेहरु उत्सुक रहेको समेत बताए। उनका अनुसार पुल निर्माण पश्चात् बाँकी रहेको २ लाख ४२ हजार ८ सय ३ रुपैयाँलाई पुल बचाउन सुख्खा सिजनमा पुलमा ग्याबिङ र खोलामा कंक्रिट गरिने भएको छ। सोही समहारोहबीच कोषाध्यक्ष लाबुङले पुल निर्माणका सम्पूर्ण डकुमेन्टहरु मेयर साम्पाङ मार्फत् उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरेका थिए।
मितेरी पुलको स्वामित्व ग्रहण गर्दै कार्यक्रमका प्रमुख अतिथी मेयर साम्पाङले सबैको साथ र सहयोगले बनेको पुलको सबैले संरक्षण गर्नुपर्ने बताए। उनले आफ्नो अभियानमा साथ र सहयोग पुर्याउने सम्पूर्णमा हार्दिक आभार समेत व्यक्त गरे। उनले भने “राम्रो कामका लागी काम गर्नेलाई सबैले सपोर्ट गर्नुपर्छ। हर्क साम्पाङ यस्तो मान्छे हो,जो राम्रो कामको लागी जहिल्यै मरिमेट्छ।”
मेयर साम्पाङले पहिले यस स्थानमा रहेकोे छाप्री होटलमा दिउँसै जाँड खाएर लडिरहेको, पानीको मुहानमा पौडी खेलिरहेको देख्दै आएको तर अहिले यती राम्रो पार्क बनेकोमा प्रशंसा व्यक्त गर्दै भने “एउटा भिजन भएको काम गर्ने मान्छेलाई सहयोग गर्दा नडराई सहयोग गर्नुहोला, डराएर समर्थन गर्नुको अर्थ हुँदैन” उनले भने।
नगरको गौरवको योजनाहरु बनिरहेको बताउँदै मेयर साम्पाङले श्रमदान मार्फत् पनि आम्दामीका स्रोतहरु बढाउँदै लगेको बताए। उनले संचारकर्मीहरुलाई स्वतन्त्र हुनुपर्ने बताउँदै पार्टी नमिलेको कारण नकरात्मक समाचार मात्र लेखेको भन्दै यदि पत्रकारहरु राजनीति गर्ने भए चुनावमा आउन समेत चुनौति दिए।
यसैगरी स्वतन्त्र नागरिक समाजका अध्यक्ष समिर तामाङले धरान लाहुरेहरुले बनाएको शहर भनेर भनिएपनि वास्तवमा देश नै भूपू लाहुरेहरुले बनाएको धारणा व्यक्त गरे। उनले हाम्रा बाउबाजेहरुले भारत र ब्रिटिस सेनामा भर्ती भएर सेवा गरेकै कारण अन्य देशले कब्जा गर्न नसकेको बताउँदै भने – “उहाँहरुकै देनले हाम्रो देश स्वतन्त्र रहेको छ। प्रथम र दोस्रो विश्वयुद्धमा पनि हाम्रा पुर्खाहरुको ठुलो योगदान छ।” साथै उनले देशको लागी यतीधेरै ज्यान बलिदान दिने भूपूहरुलाई राज्यले शहिद घोषणा गर्नुपर्ने बताए। अहिले धरानमा मेयर साम्पाङले गरेको कामलाई राजनीतिक दलहरुले स्टण्ड गरेको भन्दै आएपनि वास्तवमा अहिले धरानमा स्टोन मेन आएको अध्यक्ष तामाङले बताए। यस्तै भूपू लाहुरेहरुले यतिका वर्ष अरुको देशमा सेवा गर्दै आएपनि अब आफ्नै देशमा सेवा गर्नुपर्छ भन्ने चेतनाको विकास भएपछि अहिले विकास निर्माणका कार्यहरु बढ्दै गएको बताए।
कार्यक्रममा पुल निर्माणमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियोभने हर्क साम्पाङ सपोर्ट कमिटी युकेका भाईस को–अर्डिनेटर देव हुक्पाचोङवाङले युकेमा रहेका कमिटीका संयोजक शशी थापा सुब्बाले पठाएको शन्देस पढेर सुनाएका थिए। शन्देसमा धरानको विकास निर्माणमा भूपू लाहुरेहरु सदैव तत्पर रहेको जनाईएको थियो।
फेब्रुरी २४ बाट शुरु भएको मितेरी पुल वर्षाका कारणले ९ महिना पछि मात्र निर्माण सम्पन्न भएको छ। यस पुल निर्माण भएसंँगै अब एसडिएस रक गार्डेन र रोज गार्डेन जान र आउन सजिलो भएको छ। ८० फिट लम्बाई आर सेपमा रहेको मितेरी पुलमा पाईपबाट पानीको फोहर छाडिएको छभने झिलीमिली बत्ति समेत जडान गरिएको छ। साँझको समयमा मितेरी पुलको आकर्षण नै बैग्ने हुने गर्दछ। जसले गर्दा अहिले मितेरी पुलमा घुम्न र सेल्फि खिच्न आउने पर्यटहरुको भिड बढ्न थालेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)