धरानमा पहिलो पटक वडास्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिता हुने
दिव्य रोशनी(धरान)/ धरानमा पहिलो पटक वडास्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ।
धरान उपमहानगरपालिका १६ नं वडा कार्यालयको आयोजना तथा जनपथ जागरण समाजको संयोजनामा आगामी मंशिर २२ गतेदेखी ३० गतेसम्म प्रथम धरान वडा स्तरिय महिला रनिङ कप फुटबल प्रतियोगिता हुन लागेको हो। बुधवार १६ नं वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष मुरारी प्रसाद भट्टराईले फुटबल खेलप्रति महिलाहरुको बढ्दो आकर्षणलाई मध्यनजरगरी धरानमा पहिलो पटक वडास्तरिय महिला फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। उनले गाँउ तथा नगरस्तरबाट आयोजना गरिएका यस्ता प्रतियोगिताहरुले भोली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
धरान रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद ८० हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन्भने उपविजेताले नगद ४० हजार सहित ट्रफि प्राप्त गर्नेछन्। प्रतियोगिताको अनुमानित खर्च ६ लाख ४० हजार रहेको आयोजकले जनाएको छ।