कविताः भाईटिका

आफ्नै गाउँको करेसाबारी,
खनी खोस्री
दुई छाकको जो हो गर्छु भन्दा पनि
विविध कारणले
अरबको ५२ डिग्री गर्मीमा
गौती र बेल्चा चलाउन बाध्य,
तिमी… अभागी नेपाली दाजुभाईहरुलाई
भाईटिकाको उत्तम साईत मै
तिम्रा दुःखी दिदी बहिनीहरुले
आँगनभरी ढकमक्क फुलेका
मखमली र सयपत्री फुलका मालासँंगै,
सप्तरंगी टिका….
खोलाको बाटो हुँदै…
त्यो विशाल समुन्द्रसम्म,
पठाई दिने छन्
छालसंँगै बग्दै आउनेछ
पर्खिबस्नु है।

           – कबिलास, चितवन