भूपू लाहुरेको चिनोः करोडको लगानीमा निर्माण हुँदै गोर्खा चौतारी (भिडियो सहित)

मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ धरानलाई आधुनिक शहर बनाउन महत्वपूर्ण भुमिका खेलेका भूपू सैनिकहरुले धरान २० स्थित श्रम संस्कृति पार्कमा लाहुरेहरुको चिनो स्वरुप “गोर्खा चौतारी” निर्माण गर्न थालेका छन्।
१ करोड बढीको लगानीमा बनिन लागेको “गोर्खा चौतारी” भूपू लाहरेहरुको श्रमदान र सहयोगबाट निर्माण हुने भएको छ। ब्रिटिस, भारतिय र सिंगापुर पुलिसबाट अवकाश प्राप्त सैनिकहरु एकजुट भएपछि अहिले धरानमा धमाधम गोर्खा चौतारी निर्माण भैरहेको छ। चौतारी निर्माणका लागी भूपू सैनिकहरुको वृहत श्रमदान समेत चलिरहेको छ।
बुधवार आयोजित दोस्रो वृहत श्रमदानमा भेटिएका गोर्खा चौतारीका को–अर्डिनेटर पूर्ण लिम्बुले नगर पिता हर्क साम्पाङले देखाएको श्रमदानको बाटोलाई फलो गर्दै भूपू सैनिकहरुले चिनो स्वरुप आफ्नै प्रोजेक्ट शुरु गरेको बताए। “यो महत्वकांक्षी तथा ऐतिहासिक प्रोजेक्ट हो” उनले भने । सरकारको बिना लगानीमा भूपू सैनिकको श्रमदान र सहयोगबाट “गोर्खा चौतारी” बनिन लागेको उनले जानकारी दिए।

निर्माणधिन गोर्खा चौतारी


गोर्खा वेल्फेयर ट्रष्टको इन्चार्ज रहँदा मेयर साम्पाङ निर्वाचित भएपश्चात् खानेपानीको सहयोगका लागी अनुरोध आएपछि निशानेमा पानी टंकी निर्माण गरिएको लिम्बुले बताए। गोर्खा पिस फाउण्डेशनको सहयोगमा निर्माण भएको निशाने खानेपानी टंकी निर्माणको को–अर्डिनेशन पनि उनी आफैले गरेका थिए। त्यसपछि धरानको सेउती खोलामा निर्मित धन्यवाद पानीटंकी हुँदै कोकाहासम्म जोडिएको उनको भनाई छ। श्रमसंस्कृति पार्क निर्माणको क्रममा त्यसको क्षेत्रफल बढ्दै गएपछि धरानलाई आधुनिक शहर बनाउने भूपू सैनिकहरुको चिनो स्वरुप “गोर्खा चौतारी” निर्माणको कुरा आएको लिम्बुले बताए। “ब्रिटिस आर्मी, सिंगापुर पुलिस र ईण्डियन आर्मीहरुले अहिले चिनो स्वरुप “गोर्खा चौतारी” निर्माणमा होमिएका छन्, यस्तो ऐतिहासिक प्रोजेक्ट अन्त कही कतै छैन” उनले भने।
“गोर्खा चौतारी” निर्माण कार्य शुरु भएसँंगै बाटोको ट्रयाक, डिजाईनको कार्यपनि शुरु भएको छ। निर्माणाधिन “गोर्खा चौतारी” को दक्षिण साईटमा सम्भावित पहिरोबाट सुरक्षाका लागी सुनौलो रंगका बाँसहरु रोपिएका छन्भने पश्चिम दिशामा रिटेनिङ वालहरु लगाउन पनि शुरु गरिने लिम्बुले बताए। अहिले श्रमदान मार्फत् सरसफाईका कार्यहरु समेत भईरहेका छन्भने हरेकदिन श्रमदान गर्ने भूपू आर्मीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ।


“हामीले धेरै कुराहरु गर्नसक्छौं, अहिले ३ वटा भूपू संगठनहरु एक ठाउँमा हुनु भनेकै सबैभन्दा ठुलो कुरा हो” उनले भने “हामीले अहिले आँटेमा सानोतिनो काम सजिलै गर्नसक्छौं।” अब यसपछि अर्को प्रोजेक्ट पनि शुरु गर्ने तर त्यो प्रोजेक्ट अहिलेलाई सिक्रेट (गोप्य) राखिएको उनको भनाई छ।
“गोर्खा चौतारी” निर्माणका प्रोजेक्ट मेनेजर दत्त कुमार लिम्बुले १ करोड बढीको लागतमा बनिन लागेको “गोर्खा चौतारी” निर्माणका लागी आवश्यक रकम लगभग संकलन भईसकेकोले बाहिर(विदेश)मा रहेकाहरुबाट सहयोग माग्न छाडिएको बताए। अहिले “गोर्खा चौतारी” निर्माणका क्रममा सफाई अभियान र बिरुवा रोप्ने कार्य भईरहेको छ। “गोर्खा चौतारी” मा आर्मीको ट्याकटिस् अनुरुपका बाटाहरु बन्ने तथा “गोर्खा चौतारी” नजिकै रहेको सन् १९६० मा निर्माण गरिएको पुरानो पानी टंकीलाई आर्मीको ट्याक्टिस् बंकरहरु बनाइने उनले जानकारी दिए। उनका अनुसार “गोर्खा चौतारी” मा चारवटा कर्नहरु बन्नेछन्। जसमा ३ ठाउँमा सिढीहरु राखिने भएको छ। बिचमा सहयोगी दाताहरुको नामावली सहित सिलालेख र छेउछेउमा पुराना डिजाईनका तोपहरु राखिने छ। “गोर्खा चौतारी” को कलर गोल्डेन रहने उनको भनाई छ।

प्रोजेक्ट को अर्डिनेटर पूर्ण लिम्बु र प्रोजेक्ट मेनेजर दत्त कुमार लिम्बु


“गोर्खा चौतारी” को निर्माण अघि ब्रिटिस भूपूहरुले श्रमसंस्कृति पार्कमा गोर्खाहरुको चिनो स्वरुप सानो पार्क बनाई बिचमा भिसीको तक्मा बनाउने बहस चलेको थियो। तर पछि सिंगापुर पुलिस र भारतिय भूपू सैनिकहरुको संगठन पनि जोडिएपछि पार्कले बृहत रुप लिनपुगेको “गोर्खा चौतारी” का अनुगमनकर्ता सुवर्ण नेम्बाङले बताए। उनका अनुसार अहिले “गोर्खा चौतारी” का लागी हरेक दिन २/२ जना भू.पू. सैनिकहरुले पालैपालो अनुगमनलाई निरन्तरता दिईरहेका छन्।
सर्कुलर सेपमा रहेको “गोर्खा चौतारी” को मेशिनरी वाल अहिले निर्माण कार्य धमाधम भईरहेको छ। निर्माण कार्यको २ सातामै १० प्रतिशत मात्र काम सकिएको छ। नजिकिंदै गएको नेपालीहरुको दोस्रो ठुलो महान् चाँड तिहारपछि आरसिसि ढलान शुरु हुने “गोर्खा चौतारी” का प्राविधिक डम्बर लिम्बुले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)