खानेपानी महशुल काउण्टरमा पुनः ताला लगाईयो

दिव्य रोशनी(धरान)/ खानेपानी महशुलमा अत्याधिक वृद्धि भएको जनाउँदै आम धराने युवाहरुको एक समूहले विहिवार खानेपानी महशुल काउण्टरमा तालाबन्दी गरेका छन्।
धरान खानेपानी बोर्डले महशुलमा वृद्धि गरेपछि धरानका राजनीति दलहरुले लगाएको ताला उच्च अदालत विराटनगरले उत्प्रेषण आदेश जारी गरेपछि बुधवार खोलिएको थियो। दलहरुले ताला खोले लगत्तै विहिवार आम धराने युवाहरुको समूहले धरान १६, १५ र ११ नं वडामा रहेको महशुल काउण्टरमा ताला लगाएको हो। आम धराने युवाहरुले एक अपिल जारी गर्दै धरान खानेपानी ब्यबस्थापन बोर्डले खानेपानी जस्तो अति संबेदनशील र अत्याबश्यक विषयमा अबैज्ञानिक, अपारदर्शी, अब्यबाहारिक तथा मनगणन्ते तरिकाबाट महसुल दर बृद्धि गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
अपिलमा भनिएको छ “धरानका राजनैतिकदल तथा सरोकारवालाहरुले गरिरहेका आन्दोलनहरुलाई हामिले नजिकबाट नियालिरहेका छौं । उक्त आन्दोलन धरानबासी जनताहरुको हितमा रहेको हाम्रो बुझाई छ । पछिल्लो समय दल तथा सरोकारवालाहरुले राखेका माग साथै खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगले दिएको निर्देशन समेत धरान खानेपानी ब्यबस्थापन बोर्डले नमानेको जानकारी समेत प्राप्त भएको छ।”
यसैगरी अपिलमा धरान खानेपानी व्यबस्थापन वोर्डले आम नगरबासीको भवना बुझ्ने र माथिल्ला निकायको निर्देशन पालना नगरी अबज्ञा गर्ने र वोर्डलाई विधिपुर्वक सञ्चालन गर्ने तर्फ ध्यान नदिएको हुदा हामी आम धरानबासी युवाहरुको तर्फबाट पुरानै महसुल दर कायम नभए सम्म खानेपानीका महसुल काउन्टरहरुमा अनिश्चितकालिन तालाबन्दी गरिएको जानकारी गराउँदछौ भनिएको छ। साथै आन्दोलनप्रति ऐक्यबद्धता जनाउदै नयाँ दररेटमा महसुल नबुझाउनका लागि सबै धरानबासी आमाबुवा, दाजुभाई, दिदीबहिनी तथा समस्त धरानबासीहरुमा आम धराने युवाहरुले हार्दिक अपिल समेत गरेको छ।