पिण्डेश्वरमा भक्तजनहरुको भिडः ५० हजार बढीले चढाए जल (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ साउनको पहिलो सोमवार पिण्डेश्वर मन्दिरमा ५० हजार बढी भक्तजनहरुले जल चढाएका छन्।
धरान १४ विजयपुर स्थित पिण्डेश्वर मन्दिरमा कोशीको जल चढाए मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहिआएकाले आज साउनको पहिलो सोमवारका दिन मात्र ५० हजार भन्दा बढी भक्तजनहरुले जल चढाएको पिण्डेश्वर बाबाधामका अध्यक्ष विकास बनेपालीले बताए। उनले साउनको पहिलो हप्तामा नै भक्तजनहरुको उल्लेख्य मात्रामा भिड देखिएकाले साउन महिनाभरीमा ३ लाख भन्दा बढी भक्तजनहरुले जल चढाउने अनुमान गरिएको समेत बताए। उनका अनुसार आज सोमवार रातको २ बजेदेखी नै भक्तजनहरुको भिड बढेपछि पुजाका लागी मन्दिरको गेट खोलिएको थियो।
यसैगरी धरान १४ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराईले साउनको पहिलो सोमवार नै भक्तजनहरुको उल्लेखनिय उपस्थिती रहेपछि आगामी दिनहरुका लागी वडाले भक्तजनहरुको सुरक्षा र सुविधालाई मध्यनजरगरी थप व्यावस्थापनमा जुटेको बताए।
हिन्दुहरुको आस्थाका धरोहर पिण्डेश्वरमा साउन महिनामा सोमबारको दिन मात्र जल चढाउने चलन रहिआएपनि विगतका बर्षदेखि भने साउनको सबै बार जल चढाउने प्रचलन शुरु गरिएको छ। साउन १ गते एक कार्यक्रमका बिच प्राचिन हरिद्धार चतराधाम सुनसरीका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पिण्डेश्वरमा जल चढाएर औपचारिक रुपमा बोलबमको शुभारम्भ गरेका थिए ।
हरेक वर्ष पिण्डेश्वरमा साउन महिनामा नेपाल र भारतका लाखौ भक्तजनहरुले आफ्नो मनोकांक्षा पुरा गर्न जल चढाउँदै आएका छन्।