महिला हिंसा विरुद्ध दन्तकाली महिला शसक्तिकरणको सडक नाटक

दिव्य रोशनी (धरान)/ धरान १४ विजयपुर स्थित दन्तकाली महिला शसक्तिकरण समितीले महिला हिंसा विरुद्ध सचेतनामूलक सडक नाटक मञ्चन गरेको छ।
शुक्रवार विजयपुर स्थित गणेश चौकमा भएको सडक नाटकमा समितीका महिला पदाधिकारी तथा दन्तकाली माविका छात्राहरुले समाजमा भएका विकृति र विसंगती विरुद्ध कडा व्यङ्ग्य प्रहार गर्दै नाटक मंचन गरेका थिए। नाटकका लेखन तथा निर्देशन दन्तकाली माविका शिक्षक तथा रंगकर्मी कृष्ण तिम्सिना र सह निर्देशन शान्तिराम राईले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी कोशी प्रदेशका सांसद ममता योञ्जन तामाङले समाजमा भईरहेका घटनालाई नाटकले दुरुस्तै उतारेको भन्दै यसले समाज परिवर्तनमा उल्लेखनिय भूमिका खेल्ने बताए। उनले स्वास्थ्य समाज निर्माणमा दन्तकाली महिला शसक्तिकरणले गर्दै आएको कामको प्रशंसा समेत गरिन्।


यसैगरी विशेष अतिथी धरान १४ का वडा सदस्य राम तामाङले विगतका दिनहरुदेखी समितीले वडाका महिलाहरुलाई विभिन्न किसिमका सिपमुलक सिप सिकाएर आय आर्जन गर्दै आएकोमा यसपटक सडक नाटकले समाजमा सचेतना फैलाएको बताए।
यसैगरी समितीका अध्यक्ष शोभा पुलामीले समितीको स्थापना पछि समितीले महिलाहरुलाई आत्मनिर्भर बनाउन सिपमूलक तालिम संँगै समाजमा हुने घरेलु हिंसा न्युनिकरण र महिलाहरुको हक, हितका लागी सँधै अगाडी बढ्दै आएको बताईन्।(दिव्य रोशनी साप्ताहिकबाट)