रोटरी र माहेश्वरीद्धारा पार्वती घिमिरेलाई बाति बनाउने मेशिन प्रदान

दिव्य रोशनी(धरान)/ रोटरी क्लब अफ विराटनगर डाउन टाउन तथा नेपाल माहेश्वरी महिला संगठनले धरान निवासी पार्वती घिमिरेलाई बाति बनाउने मेशिन प्रदान गरेको छ।
आज बिहिवार धरानको गीता मन्दिरमा आयोजित कार्यक्रममा प्रमुख अतिथी धरान उपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, माहेश्वरी महिला संगठनकी अध्यक्ष अनिता अटल, रोटरी क्लब अफ डाउन टाउनका पूर्वाञ्चल मन्त्री गिरिजा सारडाले संयुक्त रूपमा घिमिरेलाई बाति बनाउने मेशिन प्रदान गरेका थिए। कार्यक्रममा प्रमुख अतिथी धरान उपहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि बाती बनाउने मेशिन प्रदान गरेकोमा आयोजक सस्था धन्यवादको पात्र भएको बताइन्। उनले महिलाहरुलाई शसक्तिकरण बनाउन रकम हैन आयआर्जन गर्ने साधन प्रदान गरिनुपर्ने बताईन्।


सोही समारोहमा श्रीमद् भागवत गीताका १८ अध्याय पूरा गर्ने पहिलो नेपाली महिला श्रीमती रेखा राठीलाई दोसल्ला, सम्मानपत्रद्वारा सम्मान गरिएको थियो। कार्यक्रममा रोटरीका पूर्वाञ्चल मन्त्री गिरिजा सारडा, गीता परिवार नेपालका उपाध्यक्ष घनश्याम राठी, नेपाल महिला अग्रवाल मञ्चकी कोषाध्यक्ष श्वेता अग्रवाल, सारिका अग्रवाल, विराटनगरकी शितल भारती समेतले महिलाहरुले पनि गीता पाठ गरि आफ्ना सन्ततिहरुलाई संस्कारी बनाउन आवश्यक रहेको बताए। यस्तै कार्यक्रममा भागवत गीताका अध्याय पूरा गर्ने ९ वर्षीया बालिका हंसिकालाई मायाको चिनो समेत प्रदान गरिएको थियो।
माहेश्वरी महिला संगठनकी महासचिव सुधा सोनीद्धारा संचालित कार्यक्रममा रोटरी क्लब विराटनगरकी अध्यक्ष सञ्जिता जैनले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन्।
कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष रमेश अटल लगायत मारवाडी महिलाहरुको समेत उपस्थिती रहेको थियो। यसअघिपनि रोटरी क्लब र माहेश्वरी महिला संगठनले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।