ग्याँसमा आगलागी हुँदा निभाउने सरल तरिका….

नितेश श्रेष्ठ ‘’अमात्य’’
धरान बारुण यन्त्र धरान उप –महानगरपालिका धरान १२

पहिले–पहिले दाउरा बालेर खाना पकाउने चलन थियो। अहिले शहरमा मात्र होइन गाउँ–गाउँमा समेत ग्यास प्रयोग गरी खाना पकाउने गरिन्छ। तर, आगो बाल्ने क्रममा वा अन्य असावधानीका कारण ग्यास सिलिन्डरबाट आगो लाग्ने र ठूलो जनधनको क्षति हुने जोखिम रहन्छ।यदि त्यसरी ग्यास सिलिन्डरमा आगलागी भइहाले के गर्ने भन्नेबारे संक्षिप्त जानकारी दिने प्रयास गरेको छुु ।
“सबैको लागि अग्नि सुरक्षा” र “अग्नि विपद व्यवस्थापन पूर्वतयारी, तपाईं हामी सबैको जिम्मेवारी।”कसरी सिलिन्डरमा सल्किएको आगो निभाउन सकिन्छ, केही उपाय हेरौं ः


१. औंलाले रेगुलेटर बन्द गर्ने
सिलिन्डरको रेगुलेटरबाट पाइप छुटेर आगलागी भएमा नआत्तिकन औंलाले रेगुलटरको प्वाल बन्द गरेर आगो निभाउनुहोस्। रेगुलेटरको चिसो ग्यास बाहिर निस्कँदा आगो र रेगुलेटरबीच करिब एक इन्च ग्याप हुन्छ। त्यो ग्याप औंलाले छेक्नुहोस्। यसो गर्दा आगोले पोल्दैन।
२. कपडाले पिटेर निभाउने
रेगुलेटरबाट पाइप फुस्किएर आगो निस्केको हो भने यसलाई ठूलो पर्दा, तन्ना, कार्पेट वा ब्ल्याङ्केटले पिटेर निभाउनुहोस्।
चुल्होपट्टिबाट पाइप छुटेर आगो लागेको भए तीन औंलाको सहायताले पाइप भाँचेर आगो नियन्त्रण गर्नुहोस्।
३. ग्यास पाइपको मुखमा औंलाले बन्द गर्ने
सिलिन्डरबाट गएको पाइप चुल्होपट्टि छुटेर आगलागी भए पाइपलाई नियन्त्रणमा लिएर औंलाले थिची आगो निभाउनुहोस्।
४. बाल्टिनले छोपेर आगो निभाउने
रेगुलेटरबाट पाइप छुटेर आगलागी भए बाल्टिनले छोपेर आगो निभाउनुहोस्।
५. कपडाले छोपेर आगो निभाउने
सिलिन्डरमा आगो लागेमा पर्दा, कार्पेट, तन्ना वा कपडाले छोपेर आगो नियन्त्रण गर्नुहोस्।
याद गर्नुहोस्, ग्यास सिलिन्डरमा लागेको आगो पानीले निभ्दैन। आगो भनेको पानीले निभ्छ भन्ने आमबुझाइ रहेको छ तर याद राख्नुहोस् सबै आगो पानीले निभ्दैन। विद्युत, पेट्रोलियम पदार्थ, ग्याँस र तेलजन्य आगोलाई पानीले निभाउने प्रयास गर्नुहुँदैन।
यदि तपाईं यस विधिमा तालिम प्राप्त हुनुहुन्छ भने आगलागीको सुरुवाती अवस्थामा मात्र यसरी आगो निभाउनुहोस्।
अन्यथा सुरक्षित रूपले घर बाहिर निस्किनुहोस्।