रोजनको कलाले आकर्षक बन्यो श्रम चौतारी

मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ धरानका मेयर हर्क साम्पाङको अभियानमा मूर्तिकार रोजन राईको कलाले धरानको श्रम चौतारी पार्क आकर्षक बनेको छ।
मूर्तिकार रोजन राईले बनाएको श्रम चौतारी पार्कका मूर्तिहरुले वास्तवमै श्रमदाताहरुलाई चित्रित गरेको छ। श्रम चौतारी पार्कमा कोकाहा खानेपानी अभियानमा पुरुष श्रमदाताले पानीका पाईप बोकेको, महिला श्रमदाताले ढुंगा बोकेको र श्रमदाताले गिटी कुटिरहेको मूर्ति रहेको छभने श्रमदाताहरुले प्रयोग गर्ने बेल्चा र गैतीका मूर्तिहरु पनि रहेका छन्। तीनै मूर्तिहरु रहेको श्रम चौतारी पार्कको मंगलवार एक समारोहका बिच धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई तथा उपमेयर अईन्द्र्र बिक्रम बेघाले संयुक्त रुपमा उद्धघाटन गरेका छन्।


कार्यक्रममा मेयर साम्पाङले श्रमदाताहरुको सम्मानमा बनाईएको श्रम चौतारी पार्कले सबैलाई श्रम र श्रमदान गर्नुपर्छ भनेर शन्देस दिएको बताए। उनले पार्क बनाउन सहयोगी दाताहरुलाई धन्यवाद समेत दिए। उनले भने “यो काम गर्नुपर्ने पार्क हो। श्रम र श्रमदान गर्नुपर्छ भन्ने यस पार्कले शन्देस दिएको छ।”
मेयर साम्पाङले आफु निर्वाचित भएर आएपछि ल्याएको सबैभन्दा ठुलो चेन्ज भनेकै श्रम संस्कृतिको विकास भएको बताए। उनले पार्कको मुख्य उद्धेश्य भनेकै बिरुवा रोप्नु भएकाले यसक्षेत्रमा लाखौं लाख विभिन्न जातका बिरुवाहरु रोपिएको बताए। मेयर साम्पाङले भने “जुन दिन काम गर्छु त्यो दिन अन्नले पनि सराप्दैन जस्तो लाग्छ, अहिलेपनि भर्खरै सयपत्री फुुलको बिरुवा रोपेर आएको छु। यहाँ लाखौलाख बिरुवाहरु रोपिएको छ जसको हरेचाह गर्न मालिको रुपमा काम गर्दै आएका महिला दिदी बहिनीहरुको ठुलो हात छ।”


एक फरक प्रसंगमा मेयर साम्पाङ्ले यस श्रम संस्कृति पार्कलाई देश÷विदेशबाट सहयोग आएपनि धरानका साथीहरु नै विरोध गरेकोमा आफु छक्क परेको बताए। उनले आफ्नो अभियानमा गल्ती भए देखाउन आग्रह गर्दै भने “के हर्क साम्पाङ्ले भष्ट्राचार गर्यो? कि कसैको एक रुपैयाँ खायो?, हर्क साम्पाङ् आफ्नै बलबुतामा एक रुपैयाँ पनि विदेशी ऋण नलिईकन देशको विकास गर्नुपर्छ भन्छ के उसको गल्ती हो?, सिक्किमको मान्छे धरानको विकासमा पैसा लगाउन खोज्छ के हर्क साम्पाङ्को गल्ती हो?, यस्तो झाँडीलाई सुन्दर पार्क बनाउन मिहनेत गर्यो के यो गल्ती हो? ९ वटा खोलाबाट पानी ल्यायो के हर्क साम्पाङ्को गल्ती हो?, म निर्वाचित भएर आएपछि उद्योगको परिकल्पना गरेर बेसार फयाक्ट्रि, साबुन फ्याक्ट्री खोले के त्यो गल्ती हो?” उनले विरोधीहरुलाई हर्क साम्पाङको गल्ती के रैछ? भनि प्रश्न समेत गरे।
मेयर साम्पाङले यो देशलाई बनाउने आफ्नो अभियान कहिल्यै नरोकिने बताउँदै श्रम, श्रमदान, विकास र सुशासनमा ईण्डिया र चाईनासंँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले यो पार्टी र त्यो पार्टी भन्नु नहुने समेत बताए।
कार्यक्रममा उपमेयर आईन्द्र बिक्रम बेघाले नगरप्रमुखको नेतृत्वमा जनमुखी अभियान संचालनका क्रममा श्रम चौतारी पार्क पनि थपिएको बताए। उनले यस श्रम अभियानलाई सफल बनाउन देश÷विदेशमा रहेका दाताहरुलाई धन्यवाद समेत दिए। उनले भने “धरानलाई बनाउने अभियानमा सबैलाई समेटेर सहकार्य गर्दै अगाडी बढ्नुपर्छ। धरानलाई हामी फुटेर होईन जुटेर बनाउँछौं”। उनले एकले अर्कालाई सम्मान गरेर अगाडी बढ्नुको विकल्प पनि नभएको बताए।
यसैगरी उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोपाल श्रेष्ठले देश÷विदेशबाट मेयर साम्पाङले श्रम सहित आर्थिक सहयोग जुटाएर बनाएको पार्कको खुलेर प्रशंसा गरे। उनले आफुपनि मेयर साम्पाङ जस्तै काम गर्नुपर्छ भन्ने मान्यता राखेकाले आफ्नो कार्यकालमा पनि सबैभन्दा बढी व्यवसायीहरुको हक र हितमा ध्यान दिने बताए।
मूर्तिकार रोजन राईले बनाएको श्रम चौतारी पार्कमा निर्मित संरचनाहरुमा बस्ने फलंैचाहरु ४७ वटा रहेका छन्भने फुल सहितका गमलाहरु ६७ वटा, बस्ने पुतली कुर्सी ७ वटा र विभिन्न मूर्तिहरु १० वटा रहेका छन्। पार्कको भुईमा ईन्टरलक गरि ढुंगा बिछ्याईएको छ। श्रमचौतारी पार्क निमार्णका लागी देश÷विदेशबाट कुल ७५ लाख २२ हजार ३ सय ६० रुपैयाँ संकलन भएको थियोभने खर्च ७६ लाख ६४ हजार ८ सय रुपैयाँ भएको पार्क निर्माण अभियानका संयोजक मूर्तिकार राईले बताए।
उनले १ लाख ४२ हजार ४ सय ४० रुपैयाँ आफैले व्यहोरेको बताउँदै बनिसकेको संरचनाहरुको मुल्यांकन रकम १ करोड ५० लाख रहेको समेत जनाए।
यसैगरी कार्यक्रममा अतिथीहरुले आफु बसेको मूर्ति सहितको फलैंचाको आफैंले उद्धघाटन समेत गरेका थिए। जसमा मेयर सम्पाङ सहित उनकी धर्मपत्नी बसेको फलैंचा सुगाको रहेको थियो भने उपमेयर बेघा बसेको फलैंचा रेडपण्डाको रहेको थियो। श्रम चौतारी पार्कमा सुगा, भालु, बाज, ड्रागन, कुखुराको भाले, उल्लु, भालु, चिल, सिंह, बाघ, भेडा, डाईनोसर आदिको मूर्ति सहितको फलैंचा रहेको छ। सम्पूर्ण मूर्ति माथिको छाना कर्कलोको पातको डिजाईनमा रहेको छ।