चलचित्र “महाभोज” को धरानमा प्रिमियर
दिव्य रोशनी(धरान)/ सहकारी ठगी प्रकरणको कथामा आधारित चलचित्र “महाभोज” को धरानमा प्रिमियर गरिएको छ।
बिहिवार धरानको फेण्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्रका निर्देशक दिनेश राउत, प्रमुख कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, लगायतको उपस्थिति रहेको थियो।
प्रिमियरमा धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र बिक्रम बेघा प्रमुख अतिथी रहेका थिए। उनले यस चलचित्र समय सान्दर्भीक रहेकाले जनमानसमा सुखद सन्देश प्रवाह गर्ने भएकाले सबै धरानवासीहरुले हेरिदिनेमा आशावादी रहेको समेत बताए। त्यस्तै कलाकार आर्यान सिक्देलले पनि चलचित्र हेरेर प्रतिक्रिया दिन दर्शकहरु माझ आग्रह गरे।
यसैगरी धरानका विभिन्न संघ/संस्थाका व्यक्तित्वहरु सहित केही सहकारी पीडितहरुले पनि चलचित्र हेरेका थिए। उनीहरुले चलचित्र हेरिसकेपछि यसको कथावस्तु, प्रस्तुति शैली र कलाकारहरूको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका थिए। उनीहरूले “महाभोज”ले सहकारी पीडितहरुलाई विद्रोह गर्न उक्साउने बताएका थिए।

चलचित्र “महाभोज” सहकारी ठगी प्रकरणको कथामा बनेको चलचित्र हो। सहकारी ठगी अहिले देशलाई नै टाउको दुखाईको विषय बनेको छ। सहकारीको पैसा त्यसका सञ्चालक वा अन्य व्यक्तिले व्यक्तिगत स्वार्थमा प्रयोग गर्दा हजारौं बचतकर्ताको उठिबास लागेको छ। सहकारी ठगीकै मुद्धामा हाल पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि कारागारमा रहेका छन्। देशमा सहकारी ठगी प्रकरण बढ्दै गएपछि यस विषय माथि नै बनिएको चलचित्र हो “महाभोज”। सहकारी ठगी प्रकरण अन्तर्गत सहकारीको पैसा कसरी अपचलन हुन्छ र त्यसले बचतकर्ताहरूमा कुन हदसम्म प्रभाव पार्छ भन्ने चलचित्रमा देखाउन खोजिएको छ।
शुक्रबारबाट यो चलचित्र देशव्यापी प्रदर्शनमा आएको छ। देशभर डेढ सय बढी शोज पाएको यस चलचित्रमा कलाकारको लाइनअप बलियो छ। दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने जस्ता दर्शकमाझ चिनिएका कलाकार भएपनि बक्स अफिसमा चलचित्रले सुखद् व्यापार गर्न सकेन। चलचित्रको ओपनिङ बुकिङ र बिहानी शोजमा अकुपेन्सी अपेक्षित नदेखिएकोले अब चलचित्रलाई बलियो “वर्ड अफ माउथ” मिल्न जरुरी छ।
विकास सुवेदीको लेखन, दिनेश राउतको निर्देशन तथा हिमाल कडरियाको निर्माण रहेको यस चलचित्रमा अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, मोहन निरौला, देशभक्त खनाल,बसुन्धरा भुसाल समेतको अभिनय रहेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)