बेलायतका राजदुत चन्द्र घिमिरेलाई धरान सरोकार समाजको सम्मान

संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई शनिवार काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ ।
कार्यक्रममा पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नुपर्ने कामको बारेमा सल्लाह दिनुभएको थियो। उहाँले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु भएको थियो । उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिनु भयो । त्यस्तै आफुले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साको लागि प्रयास गर्न पनि सुझाउनु भएको थियो ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्वअध्यक्ष महेश कुमार अग्रवालले बेलायतले छिमेकी राष्ट्र भारतमा राज गरेको विगत रहेको बताउँदै त्यस्तो देशमा जान लाग्नु भएकोमा शुभकामना व्यक्त गर्नु भयो। यसैगरी पूर्वमन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफुलाई सिफारिस गर्ने दल, समुह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्न शुभकामना दिनुभयो। उहाँले त्यसो गर्न सके हामी अझ बढी गौरवान्वित हुने बताउनु भयो।
यसैगरी कार्यक्रममा बोल्नुहुँदै नवनियुक्त राजदुत चन्द्र घिमिरेले आएका सुझावहरुलाई आफुले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताउनुभयो। यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दुतका रुपमा काम गर्दाका अनुभवहरुलाई राजदुतका रुपमा उपयोग गर्ने बताउनुभयो।
कार्यक्रममा उहाँ भावुक हुँदै काठमाण्डौमा रहेका धरानेहरु विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत हुन अनुरोध गर्नुभयो । समाजका सदस्य एवम् पूर्व एआईजी सन्दीप भण्डारीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भुपेन्द्र कार्की, नारायण श्रेष्ठ लगायतले काठमाण्डौका सबै धरानेहरु धरान सरोकार समाजकै छातामुनि एकताबद्ध हुनुपर्ने बताउदै नवनियुक्त राजदुत घिमिरेलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो।
धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदुतका रुपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरु नै गौरवान्वित भएको बताउनु भयो। उहाँले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।