अलंकार म्यूजिक एकेडेमीले “ईस्र्टन सिंगिङ सुपर स्टार” को आयोजना गर्ने (भिडियो सहित)

दिव्य रोशनी (धरान)/ धरान ९ पुतलीलाईन स्थित अलंकार म्यूजिक एकेडेमीले “ईस्र्टन सिङ्गिङ सुपर स्टार सिजन–१” गायन प्रतियोगिताको आयोजना गर्ने भएको छ।
एकेडेमीले आज आईतवार पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी गराएको हो। कार्यक्रममा एकेडेमीका अध्यक्ष विनोद “प्रियदर्शी” राईले नवोदित प्रतिभाहरुको गायन कलाको उचित मुल्यांकन र सम्मान गर्दै उज्जवल भविष्यको निर्माणार्थ अझ प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गर्न लागिएको बताए। उनले गायन प्रतियोगिताको आधारबाट आफ्नो प्रतिभा प्रस्फुटन गराउँदै राष्ट्रव्यापी प्रतिस्पर्धाहरुमा पनि राष्ट्रकै पहिलो “नेपाली तारा” तथा “नेपाल स्टार” जस्ता गौरवमय ताज पहिरी सकेका प्रतिभाहरु पूर्वको उर्वरा माटोमा जन्मिएको समेत बताए।


नेपाली संगितमा सम्भावना बोकेका नवोदित र उदयिमान गायक–गायिकाहरुलाई अझ सशक्त बनाउन पनि प्रतियोगिताको उदेश्य रहेको प्रियदर्शीको भनाई छ। उनले यस प्रतियोगिताले पूर्वमा भईरहेको संगीत साधना र सम्भावनाहरुमा एउटा थप उत्साह र जाँगर मुखारित गर्ने र नवोदित प्रतिभाहरुको साधना र परिश्रमको सहि मुल्यांकन गर्ने गराउने अवसर पनि प्राप्त हुने बताए।
अध्यक्ष प्रयदर्शीका अनुसार प्रतियोगिताको डिजिटल अडिसन अहिले भईरहेको छ। यो डिजिटल अडिसन आगामी अशोज २५ गतेसम्म संचालन हुनेछ। जसमा प्रतियोगिताका निर्णायकहरु बरिष्ठ गायक शम्भु राई, नेपाली तारा दिपक लिम्बु र गायिका मनिषा पोख्रेल रहेका छन्। प्रतियोगिता अनलाईन अडिसनबाट २ चरण त्यसपछि फिजिकल अडिसनबाट ५ चरण गरी जम्म ७ चरणमा छनौटगरी उत्कृष्ट ५ प्रतिस्पर्धीहरु उपाधीका लागी फिनालेमा प्रतिस्पर्धा गर्ने भएका छन्। जसमा निर्णायक मण्डलद्धारा ६० प्रतिशत अंक र भोटिङबाट ४० प्रतिशत अंक जोडिने भएको छ।
प्रतियोगितामा विजेताले ट्रफि सहित नगद ३ लाख र एउटा गीत रेकर्डको अवसर पाउनेछभने दोस्रो हुनेले नगद १ लाख ५० हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुनेले नगद ५० हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने अध्यक्ष प्रियदर्शीले बताए।