वातावरण स्वच्छता सँगै पर्यटन प्रवर्दन गर्दै धरान कोरा
दिव्य रोशनी(धरान)/ धरानका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्दै कोरा राईड साईक्लिङ च्यालेन्ज ईभेन्ट सम्पन्न भएको छ।
प्याडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ धरान घोपाको संयोजनमा शनिवार भएको कोरा राईड साईक्लिङ च्यालेन्जले धरानका धार्मिक तथा पर्यटकिय स्थलहरुको प्रवद्र्धन गर्दै ईभेन्ट सम्पन्न गरेको हो। उद्धघाटन समारोहका प्रमुख अतिथि एवं मितेरी विकास बैंकका सिईओ तुलसीप्रसाद वस्ती र वडा नं. २ का अध्यक्ष रमेश राईले संयुक्त रुपमा रिबन काटेपछि भानुचोकबाट राईड शुरु भएको थियो। राईडर्सहरुले धरान नगरको धार्मिक तथा पर्यटकिय स्थलहरुलाई चेक पोईन्ट बनाएर ईभेन्टलाई समापन गरेका थिए।
प्रमुख अतिथी वस्तीले विकसित देशहरुमा ५० प्रतिशत मानिसहरु साईकिलिङ गर्ने गरेको बताउँदै धरानमा पनि सबैले बजार तथा कार्यालय जाँदा साईकल प्रयोग गरेमा वातावरणलाई टेवा पुग्ने बताए। उनले साईकल प्रयोग गर्न सबैमा आग्रह गर्दै साईकल प्रयोगले पेट्रोलियम पदार्थको बचत हुनुका साथै वातावरण जोगिने र स्वास्थ्यमा पनि फाईदा पुग्ने बताए। यसैगरी धरानका निवर्तमान मेयर तिलक राईले धरान अतिरिक्त कृयाकलापका लागी उत्तम ठाउँ भएको बताउँदै धरानवासीले विकास र समृद्धिमा सँधैं हातेमालो गर्दै आएको बताए। उनले यस्ता सामाजिक कार्यक्रममले धरानको उनन्ययनमा धेरै टेवा पुर्याउने समेत दावी गरे। उनले भने “यस्ता कार्यक्रममा सबैजना सहभागी भए आउने नयाँ पिढीले पनि सानै उमेरदेखी नियम तथा पद्धतीलाई सिकाउने, एकअर्कामा आदर तथा सम्मान गर्न सिक्ने अवसर पाउँछन्।”
यसैगरी प्याडलर्स धरानका संयोजक किसन मास्केले स्वास्थ्यका लागि साइकल लाभदायक भएको बताउँदै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीय स्थलको प्रचार÷प्रसार गर्नका लागि “कोरा राइड साइक्लिङ च्यालेन्ज” इभेन्टको आयोजना गरिएको बताए। यसैगरी रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले धरान कोरा ईभेन्ट समापनपछि बचेको रकमले समाजमा रहेका विपन्न तथा सिमान्तकृत समुदायका बालबालिकाहरु अथवा सामुदायिक विद्यालयहरुलाई सहयोग प्रदान गरिने समेत बताए। आयोजक प्याडलर्स धरानले सहभागी भएका राइडर्सहरुबाट प्रतिव्यक्ति दर्ता शुल्क २ सय लिएको थियो। प्याडलर्सले समाजसेवालाई प्राथमिकतामा राखी लिएको शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ। गतवर्ष आयोजना गरिएको कोरा राईडर्सबाट संकलित रकमले धरान १४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक स्वास्थ्य सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको थियो ।
सन् २०१७ देखि धरानमा विभिन्न साईक्लिङ क्लबहरुले “कोरा राइड साइक्लिङ च्यालेन्ज” को आयोजना गर्दै आएकोमा यस पटक प्याडलर्स धरानले आयोजना गरेको हो ।कोरा राइडमा सुनसरीसहित झापा र मोरङका १ सय ६० भन्दा बढी राईडरहरु सहभागी भएका थिए ।
शनिवार विहान ७ः३० बजे धरानको भानुचौकबाट शुरु भएको “कोरा राइड साइक्लिङ च्यालेन्ज” पुतलीलाईन, दुर्गाचौक, बुद्धचौक, क्यामगेट, रत्नचौक, मंगलबारे, शान्तिचौक,, जोरसखुवा, सियोन स्कुल, ईस्कोन मन्दिर, बालिकामोड, जानकी चौक, जिरोप्वाईन्ट, फुस्रे, अमरहाट, पन्चकन्यापथ, बुढासुब्बा मन्दिर, विजयपुर चौक, पिण्डेश्वरी मन्दिर, जल्पा रोड, निराजन बस्ती, काठेपुल, देवीगाउँ, तल्लो देउराली, माथिल्लो पानबारी, स्कुल डाँडाँ, मदन भण्डारी राजमार्ग, धरान १५ साकेला थान, तिनकुने हुँदै हरियाली सामुदायिक वनमा पुगेर समापन भएको थियो। हरियाली वन समुहमा आयोजित समापन समारोहमा प्रमुख अतिथि धरानका उपमेयर अइन्द्र बिक्रम बेघा, बिशिष्ट अतिथि एवं निवर्तमान मेयर तिलक राईले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए।
सन् २०११ देखि काठमाडौंबाट शुरू भएको कोरा साइकलिङ च्यालेन्ज हाल नेपालको २० भन्दा धेरै शहर र नेपाल बाहेक सिंगापुर, अष्ट्रेलिया, जर्मनी, अमेरिका, भारत लगायतका देशमा पनि हुने गरेको छ। नेपाली माटोबाट शुरू भएको “कोरा साइकल च्यालेन्ज” एक पृथक साईक्लिङ कार्यक्रम हो। हरेक बर्ष जुलाई महिनाको तेस्रो शनिबार कोरा राइड हुने गरेको छ । कोरामा हरेक उमेर समूह र समुदायका साइकलप्रेमीहरू एक महोत्सवको रूपमा सहभागी हुने गर्दछ। यस कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउने र वातावरणमैत्री यातायातका साधनहरूको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्धेश्य राख्ने गर्दछ। धरान कोराले साइक्लिङलाई मात्र प्रोत्साहन गर्ने नभई धरानको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने समेत लक्ष्य राखेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)