अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेश टिमलाई

दिव्य रोशनी (सुनसरी)/ ईटहरीमा जारी प्रथम अन्तरप्रदेश महिला ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधी कोशी प्रदेशले जितेको छ।
शनिवार सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ५ का विरुद्ध ८ स्कोर गर्दै कोशी प्रदेशले उपाधी जितेको हो। खेलको पहिलो क्वाटरमा लुम्बिनीप्रदेश संँग २–२ को बराबरी स्कोर गरेको कोशीले दोस्रो क्वाटरमा २–० स्कोरको अग्रता लिएको थियो। यसैगरी तेस्रो क्वाटरमा लुम्बीनीसंग ३–२ स्कोरले पछी परेपनि अन्तिम क्वाटरमा कोशीले २–० को स्कोर निकाल्दै उपाधी जितेको हो। उपाधीसंँगै कोशीले नगद ३० हजार पाएको छभने उपबिजेतामा सिमित लुम्बिनीले २५ हजार प्राप्त गरेको छ। यसैगरी प्रतियोगितामा सुदुरपश्चिम प्रदेश टिम तेस्रो बन्दै नगद २० हजार जित्न सफल भएको थियो। प्रतियोगितामा कोशी प्रदेशकी रजनी राई उत्कृष्ट खेलाडीसंँगै हाइस्कोरर घोषित भएकि थिइन्।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको मुख्य सहयोगमा सम्पन्न प्रतियोगिता ईटहरी ४ स्थित विश्व आदर्श एकेडेमीको बास्केटबल कोर्टमा आयोजना गरिएको थियो। दुई दिनसम्म चलेको प्रतियोगितामा मधेश प्रदेश बाहेक ६ वटै प्रदेशको सहभागीता रहेको थियो। प्रतियोगितालाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले उद्धघाटन गरेका थिए।