धरान जेसीजको स्वर्ण जयन्तीको अवसरमा बन्ने चन्द्रपुर डबलीको शिलान्यास

धरान जेसीजको स्वर्ण जयन्तिको अवशरमा चन्द्रपुर डबली (मञ्च) को शिलान्यास भएको छ । धरान–३ स्थित धरानको एतिहासिक पृष्ठभूमि बोकेको पूरानो बजार चन्द्रपुर बजारमा उक्त डबलीको निर्माण गर्न लागिएको हो । धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङ्ग, धरान जेसीजका संस्थापक अध्यक्ष श्याम गोविन्द्र श्रेष्ठ र धरान ३ नंं. वडाध्यक्ष विद्या शाक्यले संयूक्त रुपमा एक समारोह बीच उक्त डबलीको शिलान्यास गर्नु भएको हो ।
धरान सबै जातजातीको साझा थलो भएकाले सबैको लागि सबैको सहमति र सहभागितामा विकासका काम गर्ने नगर प्रमुख हर्क साम्पाङ्गले बताउनु भयो । धरान जेसीजले निर्माण गर्ने डबलीमा धरान उपमहानगरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । जेसीज युवाहरुलाई आफ्नो व्यक्तित्व र नेतृत्वको विकाससँगै सामाजिक काममा अभिप्रेरित गर्ने सस्थाको रुपमा आफुले बुझेको धारणा व्यक्त गर्नु भएको थियो ।  
धरान जेसीज स्थापनाको ५० वर्ष पुरा भएको उपलक्ष्यमा एक स्मारकमो रुपमा यो डबली निर्माण गर्न लागिएको कुरा धरान जेसीजका अध्यक्ष विदुर थापाले प्रष्ट पार्नुभयो । साथै वर्षभरी नै स्वर्ण जयन्तीको अवसरमा विभिन्न सामाजिक गतिविधहरु सञ्चालन गरिरहेको समेत उहाँले जानकारी गराउनु भयो । वडा कार्यालय, उपमहानगरपालिका र स्थानीयको समेत सहभागितामा धरान जेसीज परिवारको संलग्नतामा सबै मिलेर काम गर्न पाउँदा आफुहरुलाई खुशी लागेको बताउनु भयो ।
धरान जेसीजले निर्माण गर्न लागेको डबलीले स्थानीयहरुको कला, संस्कार र संस्कृति समेत प्रर्दशन गर्ने र विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सक्ने मञ्चको रुपमा समेत रहने भएकाले यसमा स्थानीयहरुको समेत साथ र सहयोग रहने नेवाः देय् दवूका केन्दिय उपाध्यक्ष अनिल मास्केले धारण व्यक्त गर्नु भएको थियो ।
धरानको ३ नं. वडा एतिहासिक वडा भएकाले यसको सौन्दर्यकरण र विकासमा धरान उपमहानगरले विशेष ध्यान दिनुपर्ने कुरामा वडाध्यक्ष विद्या शाक्यले आफ्नो धारणा राख्नु भयो । उहाँले धरान जेसीले आफ्नो वडामा बनाउन लागेको डबली निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट र वडाको तर्फबाट सक्दो आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
करिव १० लाखको लागतमा काठमाडौको जस्तै नेवारी शैलीमा बन्ने उक्त डबली आगामी भाद्र १४ गते उद्घाटन गर्ने लक्ष्य रहेको निर्माण समितिको संयोजक समेत रहनु भएका पूर्व अध्यक्ष मोहन श्रेष्ठले जानकारी गराउँनु भयो । निर्माण कार्यका लागि रु एघार हजार भन्दा माथि रकम सहयोग गर्नेको नाम शिलालेखमा राख्ने योजना रहेको कुरा जानकारी गराउनु भयो ।
डबली निर्माणका लागि संस्थापक सदस्य समाजसेवी कृष्णप्रसाद श्रेष्ठबाट रु. एक लाख एक हजार, संस्थापक अध्यक्ष श्याम गोविन्द श्रेष्ठबाट रु एक लाख एघार हजार र पूर्व अध्यक्षहरुबाट कम्तिका एघार हजारका दरले सहयोग प्रदान गरिने भएको छ ।
उक्त कार्यक्रममा स्थानीय जगन्नाथ ताम्राकारबाट ३ थान गजुर प्रदान गर्ने भएको छ । साथै कार्यक्रममा अर्का स्थानीय व्यक्तित्व बाबुलाल शाहबाट रु. एघार हजार प्राप्त भएको थियो ।
कार्यक्रममा धरान जेसीजकी निवर्तमान अध्यक्ष आयूष्मा शाक्य, संस्थापक सदस्य कृष्ण प्रसाद श्रेष्ठ, संस्थापक प्रथम महिला रेवा श्रेष्ठ, पूर्व अध्यक्ष क्लवका अध्यक्ष सरोज श्रेष्ठ, प्रथम महिला समूहकी संयोजक कोपिला श्रेष्ठ, ३ नं. वडाका सदस्यहरु, टोल विकास संस्थाका अध्यक्षहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो ।