गोर्खा चौतारीको ९५ प्रतिशत काम सकियो, कार्तिक २१ गते उद्धघाटन हुने

मनिता चाम्लिङ/
दिव्य रोशनी (धरान)/ भू.पू. गोर्खा सैनिकहरुको ईतिहास झल्काउने चिनारीको रुपमा रहेको गोर्खा चौतारीको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
ब्रिटिस भू.पू. गोर्खा सैनिक, भू.पू. सिंगापुर पुलिस र भू.पू. ईण्डियन आर्मीहरुको पहलमा २०२४ सेप्टेम्बर २९ देखी शुरु भएको गोर्खा चौतारी लगभग ८ महिनाको अन्तरालमा आएर निर्माण सम्पन्न हुन लागेको हो। गोर्खा चौतारी पार्क निर्माण समितीद्धारा बुधवार आयोजित पत्रकार सम्मेलनमा संयोजक क्यापटेन पूर्ण लिम्बुले भू.पू. गोर्खाहरुको चिनारिको रुपमा रहेको ऐतिहासिक गोर्खा चौतारी निर्माण कार्य अन्तिम चरणमा रहेको बताए। उनले सरकारको बिना लगानीमा भू.पू. सैनिकहरुको श्रमदान र सहयोगबाट बनिदै गरेको गोर्खा चौतारीले धरानको पर्यटनमा एउटा ईटा थपिएको बताए।
यसैगरी गोर्खा चौतारीका कोषाध्यक्ष पुनेन्द्र लिम्बुले यस गोर्खा चौतारी मार्फत् दोस्रो विश्वयुद्ध देखी हालसम्मका भू.पू. आर्मीहरुलाई समेट्न सफल भएको बताए। उनले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईको लिडरसिप र भूपूहरुको ईमान्दारिताका कारण विदेशबाट पनि थोरै समयमा धेरै सहयोग आएको समेत बताए। उनका अनुसार चौतारीका लागी तीनवटै सर्भिसबाट जम्मा २ करोड १६ लाख ५ हजार ३ सय ७९ रुपैयाँ संकलन भएको थियो। जस अन्तर्गत ६ सय ४० जना ब्रिटिस भूपूहरुबाट १ करोड २९ लाख ८० हजार ८ सय ७७ रुपैयाँ, २ सय ८७ जना ईण्डियन भूपू आर्मीबाट ४० लाख ५५ हजार ७ सय ३८ रुपैयाँ र ३ सय १५ जना सिंगापुर भूपू पुलिसबाट ४५ लाख ६८ हजार ७ सय ६४ रुपैयाँ संकलन भएको छ।
यसैगरी ३ वटा मिनी चौतारीको लागी ३ वटै सर्भिसका महिला दिदीबहिनीहरुबाट जम्मा २५ लाख २ हजार ७ सय १८ रुपैयाँ संकलन भएको समेत कोषाध्यक्ष लिम्बुले बताए। उनका अनुसार ब्रिटिस भूपू सैनिकका १ सय ११ जना महिला दिदीबहिनीहरुबाट १० लाख ८० हजार ६ सय ३४ रुपैयाँ, ७७ जना ईण्डियन भूपू सैनिकका महिला दिदीबहिनीहरुबाट ४ लाख ८७ हजार ९ सय ९३ रुपैयाँ र १ सय २३ जना सिंगापुर भूपू पुलिसका दिदीबहिनीहरुबाट ९ लाख २६ हजार ९१ रुपैयाँ संकलन भएको छ। कोषाध्यक्ष लिम्बुले ३ लाख ६० हजारमा १ वटा गोर्खा मिनी चौतारी निर्माण गर्ने लक्ष्य लिएपनि लागत बढेर प्रति चौतारी ३ लाख ९८ हजार पुगेको जानकारी दिए। यसैगरी चौतारी भित्र २४ वटा हेब्बी मेटल बेन्च (२८ हजारका दरले ६ लाख ७२ हजार), २२ वटा क्रंक्रिट बेन्च (२३ हजारका दरले ५ लाख ६ हजार) डोनरहरुबाट प्राप्त भएको समेत उनले जानकारी दिए। त्यस्तैगरी चौतारीको गेटअगाडी पहिलो विश्वयुद्धमा चलाईने माउण्टेन गन समेत राखिएको छ। जसलाई गोर्खा र चितवनका मदन कुमार गुरुङ र नेत्र बहादुर गुरुङले प्रायोजन गरेका हुन्। कोषाध्यक्ष लिम्बुले एउटा माउण्टेन गनको मुल्य ८५ हजार रहेको समेत जानकारी दिए।


यसैगरी गोर्खा चौतारीको सौन्दर्यकरणका लागी सिताङ ब्रिज र भ्यु पोईन्टको समेत निर्माण कार्य भईरहेको छभने उद्धघाटन कार्यक्रमका लागी जितहाङ लिम्बुले आफ्नो श्रीमतीको नाममा १ लाख ३० हजार ५ सय ५५ रुपैयाँ गोर्खा चौतारी निर्माण समितीलाई प्रदान गरेका छन्। यस्तै चौतारी घुम्न आएका केही दाताहरुले चिया, नास्ता खान दिएको पैसा समेत गरी हालसम्म समितीमा जम्मा २ करोड ८९ लाख ४९ हजार २ सय ३० रुपैयाँ संकलन भएको उनको भनाई छ। उनले सबै डोनरहरुले दिएको १ पैसापनि तलमाथि नभएको बताउँदै हालसम्म २ करोड १६ लाख ९४ हजार ७ सय २७ रुपैयाँ खर्च भईसकेको बताए। उनका अनुसार अहिले समितीमा ५२ लाख ३८ हजार १ सय ३८ रुपैयाँ रहेको छ। साथै चौतारी निर्माण सम्पन्न भईसक्दा २ करोड ६९ लाख ३२ हजार ३ सय ६८ रुपैयाँ खर्च भएपनि २० लाख १६ हजार ३ सय ६५ रुपैयाँ बचत हुने भएकाले सो रकम पछि मर्मत सम्भारका लागी जोगाउन सकिने उनले बताए।
गोर्खा चौतारीको मुख्य शिरमा डबल क्रस खुकुरी रहने छन्। जसमा एउटै खुकुरीको तौल ३६ केजीको रहेको छभने दुईवटाको वजन ७२ केजीको रहेको छ। कोषाध्यक्ष लिम्बुका अनुसार एउटा खुकुरीको मुल्य ८० हजार रहेको। जसमा ४ वटा क्रस खुकुरी रहनेछन्। यो क्रस खुकुरीमा प्रोजेक्टको लगभग ११ प्रतिशत रकम खर्च भएको कोषाध्यक्ष लिम्बुले बताए।
यसैगरी गोर्खा चौतारीमा विश्वयुद्धका १३ जना भिसी बिजेताहरुको ताम्रापत्रमा फोटो समेत राखिने भएको छभने ब्रिटिस, सिंगापुर र ईण्डियन गरी ८ वटा १८ केजीको ब्याच सहितको ईतिहास समेत रहने भएको छ। जसमा एउटा रेजिमेन्टको ब्याचको मुल्य ४६ हजार रहेको पनि चौतारी निर्माण समितीको भनाई छ। साथै वालहरुमा १ हजार २ सय ४२ जना सहयोगीहरुको नाम शिलालेखमा समेत रहने छ। त्यस्तै चौतारीको स्तम्भको वरिपरि हरियो कलरको बेन्चपनि राखिएको छभने वरिपरि गार्डन बनिने राष्ट्रिय झण्डा सँंगै तिनवटा सर्भिसहरुको पनि झण्डा रहनेछन्। साथै चौतारीको नजिकै गोर्खाहरुको खुकुरी सम्बन्धि परिचय पनि राखिने भएको छ।


विशेषगरी भूपूहरुको चिनारीको रुपमा रहेको गोर्खा चौतारीलाई फोकस गरेर निर्माण शुरु गरिएतापनि कथाले मागे अनुरुप चारैतिर डिजाईन तथा डेकोरेसनका कामहरु थप्दै लगिएको चौतारीका डिजाईनर गोपाल राईले बताए। उनले घुम्न आउनेहरुले कसैले ताज महल जस्तो भनेपनि ऐतिहासिक जस्तो बनाउन भूपूहरु दिनरात लागी परेको बताए। उनका अनुसार अहिले चौतारीको स्टकचर ९५ प्रतिशत सम्पन्न भएको छभने डेकोरेसनका कामहरु पनि धमाधम भईरहेको छ। साथै हरेक पल्टनका ब्याच र ईतिहासहरु राख्ने तयारी भईरहेको छभने ओवि पोष्ट र भ्यू पोईन्टमा केही काम बाँकी रहेकाले धमाधम काम भईरहेको डिजाईनर राईको भनाई छ। उनले गार्डेनिङका काम र बाटामा गमला राख्ने कामहरु भईरहेको बताउदै अबको २ हप्ताभित्र सम्पूर्ण कामहरु सकिने विश्वास व्यक्त गरे।
गोर्खा चौतारी उद्धघाटनमा विदेशबाट पनि सहयोगी दाताहरु आउने भएपछि उद्धघाटन कार्यक्रम आगामी ७ नोभेम्बर अर्थात् कार्तिक २१ गते राखिएको गोर्खा चौतारीका संयोजक पूर्ण लिम्बुले जानकारी दिए। उनले यसै मितीलाई मध्यनजर राखी उद्धघाटन कार्यक्रममा आईदिनपनि देश÷विदेशमा रहेका सम्पूर्ण सहयोगी दाताहरुमा आग्रह समेत गरे। (दिव्य रोशनी साप्ताहिकबाट)