प्रेस स्वतन्त्रता हनन्को अवस्था बढ्दो

दिव्य रोशनी (धरान)/ पञ्चायती व्यवस्थादेखी संघिय लोकतान्त्रिक गणतन्त्रसम्म आईपुग्दा पनि अझैपनि नेपाली प्रेस स्वतन्त्र हुन सकेको छैन।
बदलिँदो समयसँगै विश्व राजनीतिक घटनाक्रमले पनि नेपाली प्रेस जगतमा चुनौती थपेको छ। विभिन्न समयमा हुने आन्दोलन र त्यसमाथि राज्यको व्यवहारका कारण नेपाली प्रेस जगतले निर्भयतापूवर्क आफ्नो काम गर्न सकेको छैन। जसले गर्दा हरेक वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनाहरु बढिरहेका छन्।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले प्रकाशित गरेको “प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा” वार्षिक प्रतिवेदनमा मे ४ सन् २०२४ देखि २७ अप्रिल २०२५ सम्म प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना अभिलेख भएका छन्। गतवर्ष यही अवधिमा प्रेस स्वतन्त्रता हनन्का ६२ वटा घटना अभिलेख भएका थिए। यसरी हेर्दा यस वर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धि भएको छ। जसअनुरुप ७३ वटा घटनामा १ सय ५१ पत्रकार र ५ वटा सञ्चार संस्था आक्रमणमा परेका थिए ।
महासंघको सञ्चार अनुगमन इकाइमा अभिलेख भए अनुसार यो एक वर्षको अवधिमा बागमती प्रदेस र सुदुर पश्चिम प्रदेसमा १/१ जना गरी २ जना पुरुष पत्रकारको हत्या भएको छ। यसैगरी मधेश प्रदेस र बागमती प्रदेशमा २ जना गिरफ्तारीमा परेका छन्भने, कब्जा तथा अवरोधमा ९ जना, आक्रमणमा २०, पत्रकार दुव्र्यवहार तथा धम्कीका घटना २४ र पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन्।
यसैगरी प्रेस स्वतन्त्रता हनन्का सबैभन्दा धेरै ३८ वटा घटना बागमती प्रदेशमा भएका छन् । मधेश प्रदेशमा १२, कोशी प्रदेशमा ६ र गण्डकी प्रदेशमा ४ वटा घटना भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा २, कर्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा ६ वटा घटना भएका छन् भने प्रवासमा १ घटना अभिलेख भएका छन्। उक्त डाटाबेस महासंघमा जानकारी हुन आएका घटनाहरु मात्र अभिलेख भएका हुन्।


२०५६ सालदेखि नेपाल पत्रकार महासंघले नेपालमा हुने प्रेस स्वतन्त्रता हनन्का घटनाहरुका निरन्तर अनुगमन तथा अभिलखिकरण गर्दै आईरहेको छ । यसका लागि महासघंले पे्रस स्वतन्त्रता अनुगमन ईकाइ खडा गरी निरन्तर अनुगमन गर्न र घटनाका प्रकृति अनुसारका पहलकदमी लिने गरेको छ।
हरेक वर्ष मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाईन्छ। शनिवार शुभकामना शन्देस व्यक्त गर्दै पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्माले महासंघको स्थापनाकालदेखि नै मानव अधिकारका रक्षा, सहि सूचना पाउन नागरिकको अधिकारका संरक्षण लगायतका सार्वजनिक सरोकारका विषयमा समेत महासंघले बहस गर्दै आएकोमा पछिल्ला समयमा सूचना प्रविधिका विकासका कारण व्यवसायिक सञ्चार माध्यमका सामग्री र सामाजिक सञ्जाल मार्फत् व्यक्तिले व्यक्त गरेका विचारहरू नछुटिन बिडम्बनापूर्ण चुनौती रहेको जनाएकी छिन्। उनले कतिपय अवस्थामा व्यवसायिक जिम्मेवारी भन्दा बाहिर सार्वजनिक सरोकारका विषयमा पनि आफना अभिमत जाहेर गर्दै संविधानको पूर्ण कार्यान्वयन, पूर्ण पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनका कार्यान्वयन, पत्रकारिताका संस्थागत विकास र समृद्धिका लागि आफ्ना नीतिहरू केन्द्रीत गरेको पनि स्पष्ट पारेकी छिन्।
उनले भनेकी छिन् “कही वर्षयता सामाजिक सञ्जालका माध्यमबाट मिथ्या सूचना फैलिदा त्यसका अपजस सञ्चारमाध्यमले भोग्नु परिरहेकाले मिथ्या सूचनाबाट सर्वसाधारणमा पर्नसक्ने असरप्रति सजक रहँदै पत्रकारका क्षमता अभिवृद्धि सहित भौतिक सुरक्षाप्रति सराकारवाला निकायका एक्यवद्धता आवश्यक रहको छ।” उनले सञ्चार माध्यम नियमनका बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रता माथि हुने कुनैपनि किसिमका हस्तक्षेपका विरुद्ध महासंघ बलियो रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेकि छिन्। साथै अध्यक्ष शर्माले पत्रकारमाथि हुने दुव्र्यवहार, आक्रमणका घट्नामा हुने गरेका दण्डहीनता अन्त्यगरी प्रेसमैत्री वातावरण निर्माण गर्न पनि सरकार र सरोकारवाला पक्षसंग माग गरेकि छिन्।


सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेसँगै युनेस्कोले १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसंघले अनुमोदन गरेपछि विश्वभरी यो दिवस मनाउन सुरु भएको हो।
विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारको सुरक्षाका विषयमा समीक्षा गरी मनाउने गरिन्छ। यसको मुख्य उद्धेश्य सरकार र सरोकारवाला पक्षलाई प्रेस स्वतन्त्रताको आवश्यकताका बारेमा बुझाउनुका साथै, पत्रकारको सुरक्षा तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नु पनि हो । यस वर्षको नारा “नयाँ साहसिक संसारमा रिपोर्टिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” रहेको छ।
यसैबिच धरानमा पनि विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ। हरेकवर्ष पत्रकार महासंघ सुनसरीको आयोजनामा प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएतापनि महासंघ सुनसरी शाखाका पदाधिकारिहरु बिचको किचलोले गर्दा धरानका अग्रज पत्रकारहरुको सिमित संख्यामा यो दिवस मनाईएको हो।
धरानको भानुचौकमा द्धिप प्रज्वलन गर्दै अग्रज पत्रकार हर्ष सुब्बाले संसारमा नै प्रेस स्वतन्त्रताको प्रत्याभूतिका लागी यो दिवस मनाउन थालिएको बताए। उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र नरहने भएकाले लोकतन्त्रलाई टिकाउन पनि प्रेस स्वतन्ता अनिवार्य भएको बताए।
यसैगरी पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले स्वतन्त्र पत्रकारिता गरिरहेका पत्रकारहरुमाथि विभिन्न राजनीतिक दल तथा सरकार पक्षबाट उल्लंंघन भईरहेकाले संविधानमै प्रदत्त गरिएको पूर्ण प्रेस स्वतन्त्र हुनुपर्ने माग राखे। उनले पत्रकारहरुले राज्यको प्रतिपक्षको भूमिका खेल्ने भएकाले स्वतन्त्र र निश्पक्ष लेख्न पाउनुपर्ने बताए।
यसैगरी अनलाईन मिडिया एशोसिएसन धरानले पनि अध्यक्ष स्वर्णिमहाङ फोम्बोको नेतृत्वमा द्धिप प्रज्वलनगरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ। (दिव्य रोशनी साप्ताहिकबाट)

One thought on “प्रेस स्वतन्त्रता हनन्को अवस्था बढ्दो

टिप्पणीहरू are closed.