प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताः दोस्रो दिनको खेलमा फुट्सल एफसि विजयी

दिव्य रोशनी(धरान)/ प्रथम स्व. पार्वती लिम्बु स्मृति फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा फुट्सल एफसि विजयी भएको छ।
नेचर क्लब धरानको आयोजना तथा वाईसियल धरानको सहयोगमा धरान १६ स्थित रंगशालामा मंगलवार भएको खेलमा अण्डर १६ धरान सिटी एफसिलाई ० का विरुद्ध ५ गोल गरी फुट्सल एफसि विजयी बनेको हो। खेलमा फुट्सल एफसिका तिलक लावतीले पहिलो हाफको ३० आंै मिनेटमा पहिलो गोल गरी टिमलाई मध्यान्तरसम्म १–० को अग्रता दिलाएका थिए।
१ गोलको अग्रता लिएको फुट्सल एफसिले खोलको दोस्रो हाफमा थप ४ गोल गरेको थियो। जसमा तिलक लावतीले पुनः दोस्रो हाफको १० औं र २१ मिनेटमा गोल गरी ह्याट्रिक पुरा गरेका थिए। यसैगरी एनसन राईले दोस्रो हाफको २५ औं मिनेटमा गोल गरेका थिएभने १ गोल अण्डर १६ धरान एफसिका आयुष निरौलाले आत्मघाती गरेका थिए। खेलको म्यान अफ दि म्याच अण्डर १६ धरान एफसिका सनम मगर घोषित भए। उनले नगद २ हजार संगै मेडल प्राप्त गरे। भोली बुधवारको खेल मरिक एफसि विरुद्ध स्वर्णिम एफसिका बिच हुने आयोजकले जनाएको छ।


वैशाख १३ गते सम्म संचालन हुने प्रतियोगितामा धरान सिटी फुटबल क्लव, प्रगतीशिल फुटबल क्लव, मरिक फुटबल क्लब, स्वर्णिम फुटबल क्लब, फुटसल फुटबल क्लब, यु–१६ धरान सिटी फुटबल क्लब, शान्ति नगर फुटबल क्लब इटहरी र ब्रदर्श कलेक्सन केराबारी रहेका छन् ।
प्रतियोगिताका विजेता टिमले नगद १ लाख रुपैयाँ पुरस्कार सहित ट्रफी, सर्टिफिकेट र मेडल प्राप्त गर्नेछन्भने उपविजेताले नगद ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ। त्यस्तै व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरलाई जनही १०/१० हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने छ।
यसैगरी उत्कृष्ट कोच, राईजिङ प्लेयरले नगद ५ हजारका साथै हरेक खेलको म्यान अफ दि म्याचलाई नगद २ हजार प्रदान गरिने प्रतियोगिताका संयोजक सुब्बाले जानकारी दिए।