कार्य सम्पादन मुल्यांकनमा धरान चौथो स्थानमा

दिव्य रोशनी(धरान)/ सुनसरीका १२ पालिका मध्ये कार्य सम्पादन मुल्यांकनमा धरान उपमहानगरपालिका चौथो स्थानमा परेको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकन नतिजा अनुसार सुनसरीका १२ स्थानीय तह मध्ये धरान उपमहानगरपालिका चौथो स्थानमा परेको हो। आयोगले विभिन्न १७ वटा सुचकहरु राखेर कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ । धरान उपमहानगरले १७ वटा सूचकबाट ५६ अंक प्राप्त गरेको छ।
यसैगरी कार्यसम्पादन मूल्यांकनका आधारमा बराहक्षेत्र नगरपालिका सबैभन्दा उत्कृष्ट बनेको छ। बराहक्षेत्रले १७ वटा सूचकबाट ६७ अंक प्राप्त गर्दै जिल्लामा उत्कृष्ट भएको हो । यसैगरी दोश्रोमा इनरुवा नगरपालिका भएको छ। इनरुवाले ६१.४ अंक प्राप्त गरेको छ । त्यस्तै हरिनगरा गाउँपालिकाले ५८ अंक प्राप्त गरि तेश्रो भएको छभने रामधुनी नगरपालिकाले ४९.१ अंक प्राप्तगरि पाँचौं, भोक्राहा गाउँपालिकाले ४५.९ अंक प्राप्त गरि छैटौं, दुहवी नगरपालिकाले ४५.४ अंक प्राप्त गरी सातौं, गढी गाउँपालिकाले ४२.२ अंक प्राप्तगरी आठौं, कोशी गाउँपालिकाले ४१.३ अंक प्राप्तगरी नवौं, बर्जु गाउँपालिकाले ४४ अंक प्राप्तगरि दशौं, देवानगञ्ज गाउँपालिकाले ४० अंक प्राप्तगरि एघारौं स्थानमा परेको छ।
यसैगरी सवैभन्दा कम अंक ईटहरी उपमहानगरपालिकाले पाएको छ। ईटहरी उपमहानगरपालिकाले ३९.७ अंक मात्र प्राप्त गर्दै अंक तालिकाको आधारमा बाह्रौ स्थानमा परेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)