यलम्बर रनिङ कप बास्केटबलको उपाधि झुनाज फिटनेसलाई

दिव्य रोशनी(धरान)/ दोस्रो यलम्वर रनिङ कप बास्केटबलको उपाधि झुनाज फिटनेसले जितेको छ ।
यलम्बर क्लबको आयोजनामा बिहिवार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा झुनाज फिटनेसले युवा जागृति क्लबलाई ६०–५२ अंकले पराजित गर्दै दोस्रो संस्करणको उपाधि जितेको हो । खेलको पहिलो क्वाटरमा ९–१८ अंकको अन्तरले झुनाज फिटनेस पछि परेपनि दोस्रो र तेस्रो क्वाटरमा झुनाजले २०–१३ र १७–६ अंकको अग्रता बनाउँदै खेलमा फर्किएको थियो। चौथो क्वाटरमा भने युवा जागृतिले १५–१४ अंकको अग्रता बनाएका थिए।
उपाधिसंँगै झुनाज फिटनेसले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छभने उपविजेता युवा जागृति क्लवले नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि झुनाज फिटनेसका सर्वोधन राई घोषित भए। उनले उपाधिसंँगै नगद २ हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरे। उनले फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २२ अंक समेत जोडेका थिए। यसैगरी फाइनल खेलको म्यान अफ द म्याच युवा जागृतिका कैलाश लिम्बु घोषित भए । उनले नगद ५ सय सहित गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्राप्त गरे। बिजेता तथा उपबिजेताहरुलाई कार्यक्रमका सभाध्यक्ष किरण लिम्बु, प्रमुख अतिथी कोशी प्रदेश सांसद विजयकुमार राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार एवं युवा नेता भिमज्वाला राई, नेपाल बास्केटवल संघ केन्द्रिय सदस्य रोशन राई, धरान ८ हङकङ समाजका सचिव भिम राई लगायतले पुरस्कार वितरण गरेका थिए ।
यलम्बर खेल मैदानमा यहि माघ १८ गतेदेखि सुरु भएको प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियोभने प्रतियोगितामा सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग रहेको थियो। गतवर्षको पहिलो संस्करणमा आयोजक यलम्बर क्लबले उपाधि जितेको थियोभने तरहरा बास्केटबल टिम उपबिजेता बनेको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)