युडिएद्धारा स्कुल डान्स आईडलका बिजेताहरुलाई पुरस्कार वितरण
दिव्य रोशनी(धरान)/ स्कुल डान्स आईडलको बिजेताहरुलाई एक कार्यक्रम माझ पुरस्कार वितरण गरिएको छ।
युनाईटेड डान्स एकेडेमी (युडिए) द्वारा गत पुष १५ गते धरानको सभागृहमा आयोजित स्कुल डान्स आईडलको बिजेताहरुलाई पुरस्कार वितरण गरिएको हो। शनिवार आयोजक युडिएको कार्यालयमा आयोजना गरिएको पुरस्कार वितरण समारोहमा स्कुल डान्स आईडलका बिजेता सिनियरतर्फ सुनाखरी स्कुलका चारु राईलाई नगद १ लाख र जुनियरतर्फका बिजेता पर्वत स्कुलकी सुविन्सा राईलाई नगद ५० हजार प्रदान गरिएको थियो।
यसैगरी सिनियर तर्फका दोस्रो स्थान हात पारेकी लोटस स्कुलकी प्रिन्सिना राई, तेस्रो स्थानकी हिविस्कस स्कुलका निवाप्रेमी लिम्बु र सान्त्वनातर्फ अरनिको स्कुलका रिहाना श्रोष्ठले क्रमशः नगद ५० हजार, २५ हजार र ५ हजार प्रदान गरिएको थियो। बिजेताहरुलाई समाजसेवी रविना सुब्बा गुरुङ, दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङ लगायतले पुरस्कार वितरण गरेका थिए।
यसैगरी प्रतियोगितामा जुनियरतर्फ दोस्रो बनेकि एक्वा स्कुलकी जेसिना रसाईली, तेस्रो बनेकी पर्वत स्कुलका जेनिस तामाङ र सान्त्वना बनेकी विष्णु स्कुलका समृद्धि कार्कीलाई समेत क्रमशः नगद २५ हजार, १० हजार र ५ हजार प्रदान गरिएको थियो।

कार्यक्रममा समाजसेवी रविना सुब्बा गुरुङले विद्यार्थीहरुको प्रतिभालाई प्रस्फुटन गर्न युनाईटेड डान्स एकेडेमी सहायक सिद्ध भएको बताए। उनले विद्यार्थीहरुलाई युडिएले ठुलो प्लेटफर्म दिएको बताउदै अझ राष्ट्रिय स्तरको कलाकार पनि उत्पादन गर्न सकोस् भन्ने शुभकामना दिए।
यसैगरी अभिभावकको तर्फबाट एक्वा स्कुलकी शिक्षिका ललिता ल्वागुनले विद्यार्थीहरुको उज्वल भविष्यका लागी सत्मार्गको बाटो डोर्याउने युडिए प्रति धन्यवाद प्रकट गरिन्।
युडिएका प्रबन्ध निर्देशक सन्तोष तामाङले विद्यार्थी भित्र लुकेको नृत्य कलालाई प्रस्फुटन गराउन यस्तो प्रतियोगिताको आयोजना गरिएको बताए।उनले स्कुल डान्स आईडलको नवौं संस्करण आगामी बैशाख देखी शुरु हुने भएकाले सबैमा सहयोगको अपेक्षा समेत गरे।
गत जेठ ११ गते आवरहोम स्कुल धरान १९ बाट शुरु भएको प्रतियोगितामा ४५ वटा विद्यालयका ५ हजार ७ सय ५३ जनाले भाग लिएका थिए। यसअघिको स्कुल डान्स आईडल प्रतियोगिताको पहिलो सिजन २०७२ मा सेन्ट जोसेफ स्कुलका सरिना केसी, दोस्रो सिजन २०७३ मा डिपोट स्कुलका विमस पौडेल, तेस्रो सिजन२०७४ मा लिवर्टी स्कुलका सोनु तामाङ, चौथो सिजन २०७५ मा लोटस स्कुलका अनिसा राई, पाँचौ सिजन २०७६ मा आवरहोम स्कुलका करिस्ता राई, छैटौं सिजन २०७९ मा पर्वत बोर्डिङ स्कुल धरान १९ कि महिमा लिम्बु र सातौं सिजनमा आवरहोम स्कुलकी रिन्छेन गुरुङ बिजेता भएकी थिईन्।
यसैगरी स्कुल डान्स आईडल जुनियरतर्फको पहिलो सिजनमा ब्लोसम मन्टेश्वरीका याङचोमा लिम्बु, दोस्रो सिजनमा ज्ञाानोदय स्कुलका पासाङ तामाङ, तेस्रो सिजनमा आवरहोम स्कुलकी रिन्छेन गुरुङ, चौथो सिजनमा भिक्टोरी बोर्डिङ स्कुलकी लेमी राई र पाँचौ सिजनमा पर्वत बोडिङ स्कुलकी आयुमा राई विजयी भएका थिए।
कार्यक्रममा युडिएका कलाकार तथा सहयोगीहरुलाई नगद सहित सम्मन समेत गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)