अंग्रेजी नयाँवर्षलाई लक्षित गर्दै भेडेटारमा फुड फेस्टिबल हुँने।(भिडियो सहित)

दिव्य रोशनी(धरान)/अंग्रेजी नयाँ वर्ष सन् २०२५ लाई लक्षित गरेर पूर्वकै पर्यटकीय स्थल भेडेटारमा तिनदिने फुडफेस्टिबलको आयोजना हुने भएको छ।
आज मंगलवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक होटल एशोसिएसन भेडेटारले सो कुराको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आयोजक होटल एशोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले पूर्वकै पर्यटकिय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गराउन अंग्रेजी नयाँ वर्षको अवसर पारेर फुड फेस्टिबलको आयोजना गरिन लागेको जानकारी दिए। उनले एशोसिएसनले आयोजना गर्न लागेको १२ औं फुड फेस्टिबलमा स्थानीय जातिय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि तथा घरेलु उत्पादनहरु पनि प्रदर्शनीमा राखिने बताए।
अध्यक्ष लिम्बुका अनुसार फेस्टिबलमा ४० देखी ५० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र २ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको छ। फेस्टिबलमा हरेक दिन राष्ट्रिय र स्थानीयस्तरका कलाकारहरूको बेजोड सांगीतिक प्रस्तुति समेत रहनेछ।


पत्रकार सम्मेलनमा साँगुरीगढी गाउपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले भेडेटारको पर्यटन प्रवद्र्धनमा फुड फेस्टिबलले ठुलो भूमिका खेलेको बताए। उनले भेडेटारको पर्यटनमा गाउपालिकाले ब्रोसर बनाई प्रचारप्रसार गर्ने, होटल व्यावसायीहरुलाई तालिम, खुवालुङ त्रिवेणी हुँदैं ध्वजे डाडा सम्मको पदमार्ग निर्माण गरिएको बताए। उनका अनुसार थुम्कीमा निर्माण भईरहेको बहुजातीय जनजाती पार्कका अधुरा कार्यहरु निर्माण गरिने साथै नयाँ गन्तव्यहरु खोजी गरिने भएको छ।
यसैगरी आयोजकले फेस्टिबल अवधीभर पर्यटकहरुका लागी फेस्टिबल प्याकेज समेत ल्याएको छ। जस अन्तर्गत फेस्टिबलको पहिलो दिन प्रतिव्यक्ति २ हजार ५ सयमा पाथिभरा मन्दिर दर्शन, साँगुरीगढी अवलोकन, स्काई ब्रिज भ्रमण, नमस्ते झरना भ्रमण र भेडेटार वा नाम्जे बास र खानाको व्यवस्था मिलाएको छ। त्यस्तै दोस्रो दिन २ हजार ५ सयमा ध्वजे डाडा सुर्यदय अवलोकन, एसियाको दोस्रो ठुलो अजंगको बरको रुख भ्रमण, राजारानी तालको अवलोकन, बस्नको लागी नाम्जे वा डाडा बजार होम स्टे र खानाको प्याकेज राखेको छ। त्यस्तै फेस्टिबलको अन्तिम दिन तमोर रिभर रयाफ्टिङ, भेडेटारमा बास र खानाको प्याकेज ४ हजार रुपैया तोकेको छभने प्याराग्लाईडिङ, भेडेटारमा बास र खानका लागी ८ हजारमा प्याकेज मिलाएको छ।


यसैगरी फेस्टिबलमा आउने पर्यटकहरुले साँगुरीगढी गाउँपालिकाभित्र रहेको शैलुङडाँडा, पाथिभरा मन्दिर, शंखेश्वर महादेवको मन्दिर, पिकनिक स्पट, आत्मा बस्ने घर, सुर्योदय बौद्ध पार्क, नमस्ते झर्ना, साँगुरीगढी, नाम्जे गाँउ होम स्टे, ओख्रे भ्यू टावर, ध्वजेडाँडा, अजंगको वरको रूख, थाउजन बिग बुद्ध, कार्की छाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी ध्वजे डाँडाँ पदमार्ग, झण्डी डाँडा गोलखाडी लगायतका ठाउँहरु अवलोकन गर्न सक्ने आयोजकले जनाएको छ।
नेस्ट भेडेटारका अध्यक्ष नर बहादुर चेम्जोङको स्वागत मन्तव्य रहेको सो पत्रकार सम्मेलनलाई आयोजक समितीका सचिव रमेश श्रेष्ठले संचालन गरेका थिए।