धरानका मगर समुदायले नाचे हुर्रा (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ मगर संघ धरान नगर समितीले एकदिने हुर्रा कार्यक्रमको आयोजना गरेको छ।
विशेषगरी तिहारमा खेलिने देउसी (हुर्रा) शुक्रवार धरानको सैनिक भवनमा आयोजना गरिएको हो। मादलको तालमा “देशैं रमाईलो…” भन्दै हात समाई गोलबद्धभई नाचिने नृत्य नै हुर्रा हो। कार्यक्रममा धरानका विभिन्न वडाका मगर समुदायहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा संघका केन्द्रिय उपमहासचिव शारदा थापा मगरले पूर्वमा मगरहरुले नाच्ने संस्कृति नृत्य हुर्रा भएको बताए। उनले अहिलेका युवाहरुले यसको संरक्षण र सम्बद्र्धन गर्दै गएपछि मात्र भोलीका नयाँ पिढीहरुले पनि सिक्ने र जान्ने अवसर प्राप्त हुने पनि बताए।
सोहीक्रममा उपमहासचिव थापाले यस हुर्रा नाचलाई मगर साँस्कृतिक संघ केन्द्रिय समितीले पश्चिमका मगर समुदायसम्म पुर्याउने र पश्चिमका मगर समुदायले नाच्ने कौडा नृत्यलाई पूर्वका मगर समुदायहरु सम्म पुर्याउने लक्ष्य लिईएको समेत बताए। यो हुर्रा नृत्य पश्चिमका मगर समुदायहरुले नाच्न जान्दैनन्। यो हुर्रा नाच बाह्र मगरातमा मात्र नाचिने गरिन्छ। हुर्रा नाच धनकुटा जिल्लाको मुढेबासबाट उत्पत्ति भएको मानिन्छ। मुढेबासका पुर्खाहरुले उत्पत्ति गरेको हुरौ नाचलाई नयाँ पिंढीहरुले संरक्षण गर्दै ल्याएको उनको भनाई छ।
यसैगरी नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुवास हुक्पा चोङबाङले हुर्रा सांस्कृतिक पर्व भएकाले मगर समुदायले यसको संरक्षण गर्दै पुस्ता हस्तान्तरणमा विशेष ध्यान दिनुपर्ने बताए।
वर्षदिनमा मनाईने हुर्रा तिहारमा नाचिएपछि समापन गर्नैपर्ने भएकाले हुर्राको आयोजना गरिएको अध्यक्ष चित्रराज थापा मगरले बताए। (दिव्य रोशनी साप्ताहिकबाट)