आज काग तिहारः कागलाई पुजागरी मनाइँदै
आज काग तिहार। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ ।
सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताए ।
यमराजको दूतका रुपमा पुजिने कागलाई आज बिहान मनपर्ने खानेकुरा खान दिएर काग तिहार मनाउने चलन छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो–मीठो खान दिई खुसी पार्ने चलन छ ।
लोक व्यवहारमा काग घरमा आई कराएमा “शुभ बोल, शुभ बोल” भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।