प्रबोधको स्थापना दिवसमा पुस्तक विमोचन, परिचर्चा र पुरस्कार वितरण

दिव्य रोशनी(धरान)/ धरानबाट प्रकाशित हुँदै आएको प्रबोध साप्ताहिकको १४ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ।
गमबहादुर लम्जेल स्मृति प्रतिष्ठानको आयोजनामा मंगलवार धरान १८ स्थित कवि विमल स्मृति पुस्तकालयको सभाहलमा आयोजित स्थापना दिवस कार्यक्रमलाई शिक्षासेवी तथा लेखक केशव सुनामले मैनबत्ति बालेर उद्वघाटन गरेका थिए। सोही अवसरमा पत्रिकाका प्रधान सम्पादक स्व.गम बहादुर लम्जेल (संघर्षशिल) को वार्षिक स्मृतिको अवसरपारी उनले लेखेका पुस्तक “नेपाली ऐतिहासिक श्रामिक वर्गको ईतिहास” को विमोचन समेत गरिएको थियो। पुस्तकलाई प्रमुख अतिथी सुनाम, पत्रिकाका सम्पादक जमुना श्रोष्ठ, साहित्यकार बम देवान, सुमित्रा वाङ्देल (चेली) लगायतले विमोचन गरेका थिए। उनको यो तेस्रो कृति हो। उनका “उत्सर्ग” नाटक संग्रह र “मुक्ति” कथा संग्रह प्रकाशित भईसकेका छन्।


कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष विजय अछामीले पुस्तकको परिचर्चा गर्दै स्व. लम्जेलले ऐतिहासिक श्रामजिवी वर्गको सुक्ष्मरुपमा अध्ययन गरी पुस्तक तयार गरेको बताए। उनले पुस्तकमा सर्वहारा मजदुर, हुँदा खाने र हुने खाने बिचको अन्तरलाई छर्लंग पारेको बताए। साथै उनले नेवार समुदाय र मधेशी समुदाय भित्रका दलितहरुलाई भने पुस्तकले समेट्न नसकेको बताए। उनले भने “सायद उहाँले थोरै समय पाएको भए अझै पुस्तकमा धेरै आउने थियो होला।” उनले प्रतिष्ठानको माध्यमबाट साहित्यीक र कलमजिवीहरुलाई समेट्दै लैजाने पनि बताए।
यसैगरी कार्यक्रमलाई शुभकामना व्यक्त गर्दै सुमित्रा वाङ्देल (चेली) ले समाजमा केही गरौं भनेर आफ्नो स्वास्थ्यलाई समेत ख्याल नगरी समाज रुपान्तरणमा लागिपर्ने स्व. गमबहादुर लम्जेल अथक योद्धा भएको बताए। उनले गोली लागेर हतासमा भएको व्यक्तिलाई मात्रै सहिद भनिएतापनि वास्तवमा उनी “शहिद” नै भएको व्यक्ति भन्ने आफुले बुझेको बताउँदै भनिन् –“उहाँले जति जिवन बाँच्नु भयो त्यती जिवन पत्रकारिता र साहित्यमा नै लगाउनुभयो।”
साथै उनले स्व. लम्जेलमा धन कमाउने होड नभएको र समाजमा भएका विभेद, कुरुतीको अन्त्यका लागी उनी लडिरहेको बताईन्। उनले लम्जेलको सपनाहरुलाई पुरा गराउन प्रतिष्ठान खडा गरेकोमा स्व. लम्जेलका धर्मपत्नी जमुना श्रोष्ठप्रती धन्यवाद व्यक्त गरिन्।
कार्यक्रममा प्रतिष्ठानका सचिव लोकराज निरौलाले कार्यक्रमलाई स्वागत गर्दै स्व. लम्जेलको योगदान, साहित्य र विचारलाई कसरी लैजाने र उहाँले छोडेर गएका कृतिहरुलाई प्रकाशन गरी पाठक समक्ष पुर्याउन पनि प्रतिष्ठान खडा गरिएको जानकारी दिए। त्यस्तै प्राडा.खेमराज खनालले स्व. लम्जेलको जिवनी वाचन गरेका थिए।
सोही अवसरमा गम बहादुर लम्जेल साहित्य पत्रकारिता प्रोत्साहन पुरस्कारद्वारा संचारकर्मी स्नेहा श्रोष्ठलाई नगद ५ हजार ५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। (दिव्य रोशनी साप्ताहिकबाट)