धरानमा निर्मित आधुनिक हिरासत भवनको मुख्यमन्त्रीले गरे उद्धघाटन (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले इलाका प्रहरी कार्यालय धरानको परिसरमा बनेको आधुनिक हिरासत भवनको उद्घघाटन गरेका छन्।
शनिवार एक कार्यक्रम बिच मुख्यमन्त्री कार्कीले आधुनिक हिरासत भवनको उद्घाटन गरेका हुन्। हिरासत भवनको उद्धघाटन गर्नुुहुँदै मुख्यमन्त्री कार्कीले समुदायको अग्रसरतामा आधुनिक हिरासत भवन बनाएर धरानले इतिहास रचेको बताए। उनले जातिय, धार्मिक, सांस्कृतिक पहिचान बोकेको आधुनिक सहरको रुपमा धरानलाई चिनिएको बताउँदै धरान आउन सबैलाई हुटहुटी लाग्ने बताए।
सोहीक्रममा मुख्यमन्त्री कार्कीले पछिल्लो समय धरानले आफ्नो साँख गुमाउँदैं गएको बताउँदै अब धर्म, जातिय सम्प्रदाय सबैकुरा छोडेर पुरानो शाख फर्काउनका लागी लागीपर्न आग्रह गरे। उनले धरानको विकासमा प्रदेश सरकार सँधै तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे। उनले भने “पुरानो धरान फर्काएर अझ गतिको साथ कोशी प्रदेशकै सास्ँकृतिक केन्द्र, धार्मिक पर्यटकीयस्थल, खेलकुद, सबै विधामा उत्कृष्ट धरान निर्माण गर्न आग्रह गर्छु।” उनले धरान शैक्षिक र खेलकुदको केन्द्र भएको बताउँदै धरान रंगशालामा फ्लड लाइट जोड्ने प्रतिवद्धता समेत जनाएका थिए।
२०७५ साल साउन १४ गते तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्रीको भूमिकामा रहँदा शिलान्यास गरेको हिरासत भवन संयोगवस उनले शनिवार मुख्यमन्त्रीको भूमिकामा रहँदा उद्घाटन गरेका थिए।


हिरासत भवनको उद्घघाटनसँगै इलाका प्रहरी कार्यालय धरानलाई औपचारिक रुपमा हस्तान्तरण पनि गरिएको थियो। इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिका अध्यक्ष मीन सुब्बाले भवनको चाबी इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी प्रकाश जवेगुलाई हस्तान्तरण गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका तत्कालिन डिएसपी रामेश्वर पौडेलको परिकल्पनामा समुदायको सक्रियतामा आधुनिक हिरासत भवन निर्माण शुरु गरिएको थियो। साघुँरो कोठामा क्षमताभन्दा दोब्बर थुनुवा राख्नुपर्ने, थुनुवाहरुले धेरै सास्ती खेप्नुपर्ने जस्ता समस्या देखेपछि उनले सुविधा सम्पन्न हिरासत भवन बनाउन पहल थालेका थिए। उनको पहलकदमीमा पुर्वउपमेयर मीन सुब्बाको अध्यक्षतामा समिति बनाएर २०७५ सालमा समुदायको सक्रियतामा बजेट जुटाउँदै निर्माण शुरु गरिएको थियो । हाल दुई तलाको हिरासत भवनमा ८ वटा कोठा रहेको छ। हाल नयाँ भवनमा २ सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । माथिल्लो तलामा भिआइपी २ वटा थुनुवा कोठा रहेका छन्भने तल्लो तलामा पुरुष थुनुवाको लागि ३ र महिला थुनुवाको लागि एउटा अलग्गै कोठा रहेको छ। प्रत्येक थुनुवा कोठामा एट्याच ट्वाइलेट, बाथरुम रहेका छन्।
कसुरको प्रकृति, थुनुवाको शारीरिक र स्वास्थ्यको अवस्था हेरेर अलगअलग कक्षमा राख्न उपयुक्त हुने भएपनि पूर्वाधार अभावले हालसम्म सबै थुनुवाहरुलाई एकै ठाउँमा राखिदैं आएको थियो। अब भने रोगी, संक्रमित तथा अन्य प्रकृतिका थुनुवाहरुलाई बेग्लै राख्न सकिने व्यवस्था रहेको छ । यो हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमुना बनेको छ । भविष्यमा ५ तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र जग पनि निर्माण गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । उक्त भवन संघ, प्रदेश, नगरपालिकासँगै देशविदेशबाट सहयोग जुटाएर कुल २ करोड ९ लाख २६ हजार १२ रुपैंयाँमा निर्माण सम्पन्न भएको समितिकी कोषाध्यक्ष सबिता राईले बताइन्।
कार्यक्रममा कोशी प्रदेशका संस्थापक सभामुख प्रदिपकुमार भण्डारी, प्रदेश सभा सदस्य विजयकुमार राई, धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघा, कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहाल लगतायतले मन्तव्य राखेका थिएभने भवन निर्माणका लागि सहयोग गर्ने दाताहरुलाई प्रसंशापत्रसमेत वितरण गरिएको थियो ।
जनसहभागितामा बनाइएको यो हिरासत भवन देश कै नमुना भवन हो। हाल कार्यालयभित्रको २ वटा हिरासत कक्षमा अहिले करिव जना ८० भन्दा बढि सम्म थुनुवा राखिदैं आएको छ । हिरासतमा ज्यान मुद्धा, बलात्कारजस्ता गम्भीर अभियोग लागेका थुनुवासँगै लागुऔषध प्रयोगकर्ता, कारोबारी र सामान्य घटनाका थुनुवाहरुलाई एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको थियो । (दिव्य रोशनी साप्ताहिक)