धरानमा महिला उद्यमी प्रदर्शनी हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा तिनदिने महिला उद्यमी प्रदर्शनीको आयोजना हुने भएको छ।
सुनसरी उद्योग वाणिज्य संघ प्रधान कार्यालय धरानको ६१ औं वार्षिक उत्सवको अवसरमा यही भाद्र १३ गतेदेखी १५ गतेसम्म प्रथम महिला उद्यमी प्रदर्शनी २०८१ हुन लागेको हो। मंगलवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विजय श्रेष्ठले महिला उद्यमीहरुद्धारा सुनसरी क्षेत्रमा उत्पादित वस्तुहरुको सम्बद्र्धन साथै उत्पादित बस्तुको प्रचारप्रसारको लागी तिनदिने प्रथम महिला उद्यमी प्रदर्शनीको आयोजना गर्न लागिएको बताए। उनले यस प्रदर्शनीले सुनसरीभरी रहेका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रदर्शन, प्रचार प्रसार र बिक्री वितरण गरी महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने साथै आर्थिक कारणले आफ्नो व्यावसाय अगाडी नबढाउन नसकेका महिला उद्यमीहरुलाई बैंकिङ ऋण उपलब्ध गराउन संघले बैंकहरुसंग सहकार्य गरिदिने समेत बताए।


तिन दिने महिला उद्यमी प्रदर्शनीमा विभिन्न घरेलु गरगहना, सौन्दर्य केयर श्रीङ्गार, कृषिजन्य वस्तु, खाद्यन्न लगायतका ४५ वटा स्टल रहनेछन्भने विजयपुर हस्पिटलको सहकार्यमा स्वास्थ्य परिक्षण साथै आँखा शिविर पनि हुने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा महिला उद्यमी प्रदर्शनीका संयोजक वर्षा अग्रवाल(श्रेष्ठ)ले सुनसरी क्षेत्र लगायत देशैभरी रहेका उद्योग र वाणिज्यक्षेत्रलाई सुव्यवस्थित पार्दै देशको आर्थिक विकासमा सहयोग पुर्याउने लक्ष्य लिईएको समेत बताईन्। उनिले यस महिला उद्यमी प्रर्दशनीमा करिब १० हजार जनाले अवलोकन गर्ने र करिब १५ लाखको कारोबार हुने समेत बताईन्।
उक्त प्रदर्शनीको उद्धघाटन कोशी प्रदेशका राज्यमन्त्रि सिर्जना राईले उद्धघाटन गर्ने कार्यक्रम रहेको संघका महासचिव महेन्द्र प्रधानले बताए।