विकासको परिभाषा बदल्नुपर्छः पूर्व मन्त्रि किराती(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ पूर्व पर्यटनमन्त्रि तथा प्रतिनिधीसभा सांसद सुदन किरातीले सामाजिक उत्थान, शिक्षा र स्वास्थ्य प्राथमिकतामा नपरेपछि विकासको परिभाषा नै बदल्नुपर्ने बताएका छन्।
सो कुरा उनले गृह श्रमिक महिला ढाका लघु उद्यमी समाज नेपालका पदाधिकारीहरुसंगको भेटमा बताएका हुन्। सांसद किरातीले हाम्रो विकास भनेको टावर बनाउने, गेट बनाउने, सडक बनाउने भन्ने मात्र परेकाले विकासका परिभाषालाई परिभाषित गर्नुपर्ने अवस्था आएको बताए। उनले पूर्वाधार निर्माण गर्न मात्र विकास नभई समाज उत्थान गर्नु पनि विकास भएको बताए। उनले भने “अहिले तिन तहको सरका र छ। यस तिन तहका सरकारको दायरा र सिमा नहुँदा विकास के हो? के विकास गर्ने ? भनेर जनप्रतिनिधीहरु अलमलमा परेका छन्। वास्तवमा भौतिक पूर्वाधार निर्माण मात्र विकास होईनन्, सामाजिक उत्थान, स्वास्थ्य र शिक्षामा लगानी पनि विकास हुन्।”
सोहीक्रममा सांसद किरातीले समाजमा रहेको विकृति र विसंगतीको अन्त्य गर्दै महिलाहरुलाई रोजगारमुखी बनाउन संस्थाले साना उद्योगहरु संचालन गरेको प्रति खुसी प्रकट गरे। उनले भने “हामीले संचालन गर्ने भनेकै साना उद्योग हो। हामी भारत, चिन, अमेरिका जस्तो ठुलो उद्योग चलाउन सक्दैनौ। साना उद्योगलाई नै पछि ठुलो बनाउदै लैजानुपर्छ।” उनले ढाका कपडा धरानको चिनोको रुपमा रहेकाले यसलाई ब्राण्डिङ गर्न समेत सुझाव दिए।


साना उद्योग तथा व्यावसाय खोल्नपनि दर्ताका लागी निकै झन्झटिलो कानुनी प्रकृया रहेको बारे संस्थाका पदाधिकारीहरुले गुनासो गरेपछि सांसद किरातीले साना उद्योग तथा व्यावसायहरु वडा कार्यालयमै दर्ताका लागी प्रकृया मिलाईनुपर्ने बताए। उनले वडाले घुम्ती शिविरहरु चलाएर साना व्यावसायीहरुलाई वडामै दर्ता गर्ने व्यावस्था मिलाईनुपर्ने समेत बताए। उनले भने “एउटा सानो आलुचिप उद्योग खोल्न पनि कानुनी प्रकृया झन्झट हुने भएकाले यस्ता साना उद्योगहरु वडा कार्यालयमै दर्ताहुन आवश्यक छ, स्थानिय सरकार वडामा छ। उसले बढी प्रत्याभूति गर्नुपर्ने हो। वडाले घुम्ती शिविरहरु चलाएर वडामै दर्ता गर्ने प्रकृया मिलाउनुपर्छ।” अहिले स्थानिय सरकारले ज्येष्ठ नागरिकहरुलाई घरघरमा गएर ब्लड प्रेसर, सुगर जाँच जस्ता स्वास्थ्य परिक्षणका कार्यक्रमहरुको योजना ल्याउनुपर्ने पनि उनको भनाई थियो।

पूर्व मन्त्रि किरातीलाई ढाकाको टोपी लगाएर सम्मान प्रकट गर्नुहुँदै अध्यक्ष प्रेम कुमारी राई


हजारौको संख्यामा रहेका जनप्रतिनिधी र कर्मचारीहरुले ढाकाको पोसाक लगाईदिने र प्रत्येक विद्यालयमा ढाका कपडाको पोसाक व्यावस्था गरिदिने हो भने साना व्यावसायीहरु पनि आत्मनिर्भर बन्ने सांसद किरातीले बताए। उनले हरेक कुरामा केन्द्रको मात्र मुख ताकेर बस्ने उहिलेको सामन्तीवाद अहिले पनि चलनमा रहेको बताउँदै स्थानिय सरकार आफैले ऐन नियम बनाईनुपर्ने बताए। उनले भने “ स्थानिय सरकार आफै स्वयत्ता छ, स्थानिय सरकारले कार्यपालिका तथा गाउँ सभासम्मेलनबाट पारित गर्न सक्छ। केन्द्रको मात्र मुख ताकेर बस्नु हुँदैन।”
यसैगरी संस्थाकी अध्यक्ष प्रेम कुमारी राईले चुलाचौकाबाट फुर्सद पाएपछिको समयलाई सदुपयोग गर्दै संस्थाले महिलाहरुको सिप क्षमता अभिवृद्धि तालिम संचालन गर्दै आएको जानकारी दिईन्। उनिले यसअघि टोलमा मादक पदार्थ सेवन गरेर दिनहु घरझगडा हुने गरेपनि संस्था स्थापना भएपछि समुदायमा शान्त वातावरण छाएको बताईन्। उनिले भनिन् “ सिपमूलक तालिममा घरेलुको पनि साथ र सहयोग रहेको छ। अहिले टेवा भन्ने संस्थाले सिप विकासका लागी विशेष सहयोग गर्दै आएको छ। जसको कारण महिला दिदी बहिनीहरु आत्मनिर्भर बन्न प्रयासरत छन्।” अहिले संस्थामा दिदी बहिनीहरुले तिन महिने नेपाली परम्परागत मौलिक भेषभुषा सिलाई तालिम लिईरहेका छन्। सो बारे सांसद किरातीले चासो समेत देखाएका थिए।
महिला दिदी बहिनीहरुले बनाएको ढाकाको कपडा विक्री हुन मुस्किल रहेको अध्यक्ष राईको भनाई छ। “ढाकाको कपडा नै महंगो, त्यसमाथि सिलाई त झनै महंगो हुने भएकाले दिदी बहिनीहरुलाई सिलाई कटाई तालिम दिएका हौं।” उनले भनिन्। यस तालिमले महिला दिदी बहिनीहरुलाई स्वरोजगार र व्यवसायिक बनाउँदै लगेको उनले बताईन्। उनले धराने ढाका कोसेली घर भनेर स्थापना गरेपनि कोरोना पछिको आर्थिक मन्दिले गर्दा कोशेली घर संचालनमा ल्याउन नसकेको बताईन्। तथापी उनिले हिम्मत भने नहारेको बताईन्। सभासमारोहमा ढाकाको खदा र ढाकाको टोपी प्रयोगमा ल्याउन सके बजारीकरणमा समस्या नहुने उनको बुझाई छ। महिलाहरुलाई क्षमता अभिवृद्धि तालिमका लागी स्थान अभावका कारण भवनलाई विस्तार गर्न अध्यक्ष राईको प्रस्तावलाई सांसद राईले सम्बन्धित ठाउँमा लगिदिने वचन दिएका थिए।

संस्थाका पदाधिकारीहरु सहित पूर्व मन्त्रि सुदन किराती


यसैगरी संस्थाका सहसचिव कला लिम्बुले महिलाहरुले पनि केही गर्न सकिन्छ कि भनेर संस्था खोली महिलाहरुको सिप र क्षमता विकासका तालिमहरु संचालन गर्दै आएको बताईन्। उनिले सांसद किरातीको कार्यकालमा धेरै काम सम्पन्न देखिएकाले गृह श्रमिकहरुको समस्यालाई सम्बोधनका लागी सदनसम्म पुर्याईदिन आग्रह समेत गरिन्। त्यस्तै संस्थाकी सदस्य विद्या देवानले ढाका कपडाको कच्चा पदार्थहरु नै महंगो पर्ने र बनाएर तयार पार्दा बिक्री गर्न नै समस्या रहेकाले मुल्य घटाएर बेच्नुपर्ने बाध्यता रहेको सुनाईन्। यसैगरी पत्रकार मनिता चाम्लिङले माननिय तथा जनप्रतिनिधीहरुले विदेशी कोट भन्दा स्वदेशी ढाकाका कोटहरु प्रयोग गर्न सुझाव दिएका थिए।
सोही अवसरमा पूर्व मन्त्रि किरातीले महिला दिदी बहिनीहरुले तयार बनाएका ढाकाका मौलिक पहिरनहरु अवलोकन गरेका थिए। संस्थाका अध्यक्ष प्रेम कुमारीले सांसद राईलाई ढाकाको टोपी लगाएर सम्मान प्रकट गरेका थिए।(दिव्य रोशनी साप्ताहिकबाट)