कांग्रेसको ग्रीन एण्ड क्लीन धरान अभियान सम्पन्न

धरानः / नेपाली कांग्रेसले ग्रीन एण्ड क्लीन धरान अभियान लिएर गरेको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले ४२औं वी.पी. स्मृति दिवसको अवसर पारेर धरान १९ वाट शुरु गरेको अभियान धरानको १ नं. वडामा पुगेर समापन भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापाले अभियानको उच्च प्रशंसा गर्दै ग्रीन एण्ड क्लीन धरान अभियान केन्द्रीय समितिले यस अघि सञ्चालन गरेको घरघर जाउं कांग्रेस जिताउं अभियानको उन्नत र परिस्कृत भर्सन भएको जिकिर गरे । उनले खानेपानी महशुल वृद्धि नगर्ने सहमति कार्यान्वयन नभएको इङ्गित गर्दै सहमति, सहकार्य र एकता गर्नुपर्ने राजनीतिक परिस्थिति विद्यमान रहेको भन्दै धरान नगर नेतृत्वले समेत सहमति बमोजिम धरानलाई अगाडि बढाउनुपर्ने सुझाव दिएका छन् ।


अभियान मार्फत कागती, अम्वक, सरिफा, वेल, अमला, तेजपत्ता, एभोगार्डो, धुपी, पारिजात, कफी लगायतका ७ हजार बढि विरुवाहरु वितरण गरिएको छ । अभियानकै क्रममा सडक सरसफाई र डेङ्गु लार्भा नष्ट तथा डेङ्गु सम्बन्धि सचेतना पर्चा वितरण गरिनुका साथै डेङ्गु विरामीहरुलाई सिटामोल र जीवन जल समेत वितरण गरिएको छ । गत वर्ष धरानका सबै वडाहरुमा गरिएको अभियान यस वर्ष वडा नं. १, ६, ८, १०, ११, १४, १५, १६, १८ र १९ गरी १० वटा वडामा गरिएको छ ।
अभियानका संयोजक एवम् नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले अभियान लोकप्रिय र प्रभावकारी भएकाले गत वर्ष पुग्न नसकिएका धरानका टोल वस्तीहरुमा पुग्ने लक्ष्यका साथ पुनः सञ्चालन गरिएको बताए । अभियानले जनतासंग साक्षात्कार गराएको तथा पार्टी र जनता वीचको सम्बन्ध सुदृढ बनाएको भन्दै घरघरमा हरियाली प्रर्वद्धन, सरसफाई र डेङ्गु रोगबारे सचेतना अभिवृद्धि भएको उनले बताए । अभियानले भविष्यमा वातावरण एवम् पर्यावरणमा समेत अनुकुल प्रभाव पार्ने तथा जनसंख्या, घर तथा भौतिक संरचना वृद्धि भएसंगै कङ्क्रिटै कङ्क्रिट र जस्ता पातै पाताको उजाडउजाड देखिएको धरानलाई अभियानले सुन्दर, स्वच्छ र हराभरा सहरमा परिणत गर्नेमा उनले विश्वास व्यक्त गरे ।
अभियानमा निरन्तर उत्साहपूर्वक सक्रियताका साथ खट्ने, जिम्मेवारी वहन गर्ने, सहयोग एवम् सहकार्य गर्ने वडा र व्यक्तिहरु तथा मिडियाकर्मीहरुलाई उनीहरुको योगदानको उच्च मूल्यांकन गर्दै प्रमुख अतिथि थापाले प्रमाण–पत्र समेत प्रदान गरेका थिए ।
नेपाली कांग्रेस सुनसरीको १ नं. प्रतिनिधिसभा क्षेत्र कार्यसमितिको आयोजना तथा धरान नगर समिति, प्रदेशसभा १(१) र १(२) समितिको संयोजन र नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको सहकार्य एवम् सम्बन्धित वडा कार्यसमितिको स्थानीय व्यवस्थापनमा अभियान सम्पन्न गरिएको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।
अभियान समापनमा प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य श्यामा रेग्मी, महाधिवेशन प्रतिनिधि चित्रकुमारी राई, ललतिा अधिकारी लगायत नेपाली कांग्रेस पार्टी र भातृ एवम् शुभेच्छुक संघसंस्थाका नेता तथा कार्यकर्ता र वडावासीहरुको सहभागिता रहेको थियो ।