धरानमा खानेपानी महशुल वृद्धिको विरोध

दिव्य रोशनी(धरान)/ खानेपानी महशुलमा अत्याधिक वृद्धि गरिएको बताउँदै धरानका १० राजनीतिक दलहरुले विरोध जनाएका छन्।
शुक्रवार धरान १ स्थित छाताचौकमा पत्रकार सम्मेलनको आयोजना गर्दै दलहरुले ७२ घण्टाभित्र नयाँ शुल्क खारेजगरी पुरानै दर रेट कायम नगरे आन्दोलन शुरु गरिने चेतावनी समेत दिएका छन्। पत्रकार सम्मेलनमा जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बुले खानेपानी बोर्डले नयाँ धारा जडानमा न्युनतम ३३ देखि ३ सय प्रतिशतसम्म शुल्क वृद्धि गरिएको बताउदै होल चेञ्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी मृतकबाट २४०० प्रतिशतदेखि ९९०० प्रतिशतसम्म वृद्धि गरिएको बताए। उनले मर्मत तथा चेकमा १०० प्रतिशतदेखि १९०० प्रतिशतसम्म, महशुल ११ देखि २०० प्रतिशतसम्म, निवेदन दस्तुर ४०० प्रतिशत र जलाधार संरक्षण शुल्क नयाँ थप गरिएको जनाए।
यसैगरी नेपाली कांगे्रस धरान नगर सभापति श्याम पोख्रेलले धरानमा खानेपानी महशुल वृद्धिको विरोधमा सम्पूर्ण धराने जनता एकजुट हुनुपर्ने बताए। उनले नगर नेतृत्वको उर्लदो खहरे जस्तो कार्यशैलीमा सुध्रन आग्रह गर्दै राजनीतिक दलहरुलाई झोलेको संज्ञा नदिन पनि आग्रह गरे।
पत्रकार सम्मेलनकोक्रममा पत्रकार भोजराज श्रेष्ठले यसअघिका राजनीतिक दलहरुबाट पनि खानेपानी महशुल वृद्धि गराउने, कर्मचारी भर्ती गराउने कुरा हिजोपनि भएको बताउँदै अहिलेका स्वतन्त्र मेयरले मात्र गरेको भन्ने देखाएको किन? भन्दै प्रश्न गरे, त्यसैगरी पत्रकार रोहित राईले पनि सबै दलका प्रतिनिधीहरुले सहमतीमा सम्पत्ति कर बढाउँदा नबोल्ने तर मेयर साम्पाङले खानेपानी महशुल बढाउँदा किन विरोध? भन्दै प्रश्न गरे।


पत्रकारहरुको जिज्ञासालाई सम्बोधन गर्दै नेकपा माओवादीका नगर ईन्चार्ज चोत्लुङले अहिले वैधानिकरुपमा बैठक बसेर खानेपानी बोर्डको अध्यक्ष चयन नभएको अवस्थामा पदेन सदस्यहरुलाई पनि छलफलमा नबोलाई काम चलाउ अध्यक्षले एकलोटी ढंगले मुल्य बढाउनु विधि सम्मत नभएको ठहर गरे। उनले धरानको नगरसभाबाट पारित गरिएका करहरु नगरवासीको ढाड सेक्नेगरी गरिएको जानकारी आएमा राजनैतिक दलहरुबाट छलफल गरिने बताए। त्यस्तै नेकपा एमालेका अध्यक्ष हर्कजंग एभेङले खानेपानी संस्थान हुञ्जेल नाफामा रहेको अवस्थामा अहिले बोर्डमा गएपछि किन घाटामा गयो भनिँदै छ? छानबिनको विषय बनेको बताए।
पत्रकार सम्मेलनमा पश्चात् धरानका राजनीतिक दलहरुले धरान १३ स्थित खानेपानी बोर्डको कार्यालयमा पुगी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिए। बोर्डका अध्यक्ष मेयर हर्कराज राई कार्यालयमा उपस्थित नभएपछि दलहरुले बोर्डका कार्यकारी निर्देशक पोख्रेललाई ज्ञापनपत्र बुझाएका थिए। खानेपानी बोर्डमा बुझाइएको ज्ञापन पत्रमा ३ सूत्रीय माग गरिएको छ। जसमा खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल दर खारेज गरी पुरानै महसुल कायम गरिनुपर्ने, खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिई पारदर्शी रूपमा नियमित सञ्चालन गरिनुपर्ने, खानेपानी व्यवस्थापन बोर्डको आय र व्यय सार्वजनिक परीक्षण गरिनुपर्ने रहेका छन्।
ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरूमा नेपाली काँग्रेस नगरसभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई, राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पाट संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का,सलोराम संघीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगेला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेश कुमार राईले हस्ताक्षर गरेका छन्।
खानेपानी बोर्डमा अहिले मेयर साम्पाङ एक्लैले एकल निर्णयबाट चलाइरहेका छन् । बोर्डका केही सदस्यहरुको पदावधि सकिएको छभने पदेन सदस्य रहेका बोर्ड सदस्यलाई पनि मेयर साम्पाङले बैठकमा बोलाएका छैनन्। बोर्ड सदस्यहरुले साम्पाङविरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेपनि अदालतले बोर्ड अध्यक्षको हैसियतमा काम गर्न बाटो खोलेपछि उनले एकल निर्णयबाट बोर्ड सञ्चालन गरिरहेका छन्। (दिव्य रोशनी साप्ताहिकबाट)