धरान वंशीलामा कांग्रेसद्धारा लाली गुराँसको विरुवा रोपियो

दिव्य रोशनी(धरान)/ धरान २० विष्णुपादुका स्थित वंशीलामा रहेको विष्णुपाउ सामुदायिक वन तथा हिमालय ध्यान केन्द्र क्षेत्रमा सयौंको संख्यामा लाली गुरांसको विरुवा रोपिएको छ ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ सुनसरीले उक्त क्षेत्रमा ६ सय २६ वटा रातो फुल्ने प्रजातिका लाली गुरांसको विरुवा रोपेको हो । कांग्रेसले विरुवा रोप्ने र संरक्षणका लागि विरुवा बार्ने कार्यलाई एकैसाथ सम्पन्न गरेको छ भने बंशीला डांडामा राष्ट्रिय झण्डा समेत राखेको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा केन्द्रिय सदस्य डा. शेखर कोइरालाले लाली गुराँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गरेका थिए । प्रमुख अतिथि समेत रहेका डा. कोइरालाले संम्वोधन गर्दै विगतमा तेह«थुमको तिनजुरे पैदल हिडेर जाँदाको समयमा भन्दा पछिल्लो समय गुराँस लोप हुंदै गएको अवस्था देखिएकाले चिन्ता व्यक्त गर्दै लाली गुराँसको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले वंशीला क्षेत्र रमणीय तर विकट भएको बताउँदै सडक, खानेपानी र तिर्थस्थलको रुपमा रहेको हिमालय ध्यान केन्द्रको पूर्वाधार विकास स्तरोन्नतिका लागि सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। डा. कोइरालालाई स्थानीयवासीहरुका तर्फवाट स्थानीय पुष्प तामाङले ज्ञापन–पत्र समेत बुझाएका थिए।
लाली गुरांसको विरुवा रोप्ने अभियानका संयोजक तथा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले वंशीला क्षेत्र समुद्री सतहदेखि १४००–१६०० मिटर उचाईमा रहेकोले लाली गुराँसको लागि उपयुक्त वातावरण र हावापानी भएकाले लाली गुराँस रोपेर धरानलाई नयाँ पहिचान दिन र पर्यटनको एक आकर्षक गन्तव्य बनाउंदै लगिने बताए। उनले रोपिएको विरुवाको रेखदेख, गोडमेल, मलजल संरक्षण गर्ने महत्वपूर्ण भूमिका स्थानीयको रहने समेत बताए। सभापति तामाङले “लाली गुराँसको स्याहार, समृद्धिको आधार” भन्ने नाराका साथ गुराँस रोपिएको जनाउंदै “यता लाली गुराँस फुल्यो उता तपाईहरुको समृद्धिको ढोका खुल्यो” भन्दै स्थानीयवासीहरुमा उत्साह जगाएका थिए ।
संरक्षण रेखदेखका लागि हेरालु समेतको व्यवस्था गर्नेगरी लाली गुरांस रोप्ने कार्यक्रम भएको भन्दै स्थानीयवासीहरुले समेत खुशी व्यक्त गर्नुका साथै कार्यक्रमको पूर्वतयारी देखि विरुवा राप्ने कार्यमा समेत उत्साहजनक खटेका थिए । उनीहरुले संरक्षणमा समेत निरन्तर ध्यान दिने बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राई र विष्णुपाउ सामुदायिक वनका अध्यक्ष सानु तामाङले स्थानीयवासीहरुको तर्फवाट विचार राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश महामन्त्री उमेश थापा, जिल्ला सभापति तथा इनरुवा नगर प्रमुख केदार भण्डारी, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, पूर्व सांसद ज्योति सुब्बा,पूर्व नगर सभापति किशोर राई, धरान नगर सचिव हिमाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।