अपाङ्गता भएकालाई समस्यै समस्या
सागर सिंजाली,
दिव्य रोशनी(धरान)/ धरानको भानुचौक स्थित घण्टाघरको सडक पेटीमा सानो नाङ्ले पसल थापेर ग्राहकको प्रतिक्षामा बसेका छन्, धरान–११ का टिका तामाङ।
कसैले सामानको मुल्य मात्र सोध्छन् त कसैले किनि पनि हाल्छन्। सानो नाङ्ले पसलबाट दैनिक २/३ सय आम्दानीले मुस्किलले आफ्नो जिविकोपार्जन गर्दै आएका तामाङ फरक क्षमता (अपाङ्गता) भएका व्यक्ति हुन्। अठार वर्षको उमेरमा दुवै घुँडाको क्याल्सियम सकिएपछि खुट्टा नचल्ने भएर कष्टकर जीवनयापन गर्दै आएका तामाङ दुई हात फैलाउन छाडी आत्मनिर्भर बन्ने कोशिसमा छन्।
पहिले कपडा सिलाउने काम गर्दै आएपनि खुट्टाले साथ नदिएपछि उनले मुढा बनाउने काम गरे । तर मुढा बनाउँदापनि बजारमा बिक्री नहुने अवस्था देखेपछि धरानमा हाते चिया प्याकिङको काम गर्न थाले। तर कम्पनी सरेपछि व्हिल चेयरमा बसेर पत्रिका बेच्ने काम गर्दै आएका थिए। सन्चारमा प्रविधीको विकाससँगै पत्रिका पनि बिक्री हुन छाडेपछि अहिले समय अनुकुल कहिले कुचो बेचिरहेका भेटिन्छन् भने कहिले दैनिक प्रयोगमा आउने खत्र्याकखुत्रुक समान।
यसैगरी एक हातमा लठ्ठी र अर्को हातमा जेब्रा झोलाभरी चिप्स बोकेर बजार बजार बेच्न हिँडेका धीरनारायण श्रेष्ठ वर्षौदेखीका पक्षघातका बिरामी हुन्। तरपनि सानो लगानीमा आत्मनिर्भर बन्ने कोशिसमा छन् उनी ।
विगत ३५ वर्षदेखी प्रेस (छापाखाना) मा बुक बाईन्डिङ गर्दै आएका श्रेष्ठ हाल बजार बजारमा चिप्स बेच्छन्।तीन वर्षको हुँदाखेरी नै उनको दाहिने आधा शरीर चल्दैन। विगत २ वर्षअघि उच्च रक्तचापका कारण उनले १ वर्ष ओछ्यानमै बिताए। हाल लट्ठीको सहारामा जेब्रा झोलाभरी चिप्स बेच्दै हिडेका उनी दैनिक सरदर ४/५ सय कमाएर परिवार पाल्दै आएका छन्। उनलाई दिगो जिविकापार्जनका लागी सोच नआएको हैन। एउटा सफारी किनेर त्यसैमा व्यापार गर्ने साेंच रहेपनि उनको सपना तुहिएको छ । खाई नखाई दुःख गरेर कमाएको पैसा धरानको एउटा नाम चलेको सहकारीले ९० हजार डुबाएपछि उनले सफारी किनेर व्यवसाय गर्ने सोचं मारेका छन् । किनकी उनको डुबेको पैसा फिर्ता हुने आशा कमै छ। उमेरले ५५ वर्ष कटिसकेका उनी धरानकै एक चिप्स कारखानाबाट सयकडा १० रुपैयाँ नाफा लिएर बिक्री गर्दै आएका छन्।
धरान–१६ का कृष्णभक्त श्रेष्ठ शारीरिक रुपमा अपाङ्ग भएपनि हरेक दिन पत्रिका बेचेरै गुजारा चलाउँदै आएका छन्।
टिका, धीरनारायण र कृष्णभक्त जस्ता अपाङ्गता भएका व्यक्तिहरु आत्मनिर्भर बन्ने कोशिसमा दिनहुँ धरानका सडक र गल्लीहरु नापिरहेका छन्।आर्थिक उपार्जनका लागी दिगो व्यवसाय हुन नसक्दा अपाङ्गता भएकाहरु समय अनुकुलका सामानहरु बिक्री गर्दै जिविकोपार्जन गर्दै आएको उनिहरु बताउँछन्। तर उनीहरुलाई आत्मनिर्भर बन्न खोज्दा चौतर्फी समस्याले गाँज्छन्।
कसैले ऋण पत्याउँदैनन्
उमेरले ६१ वसन्तपार गरेका टिका तामाङले दिगो व्यवसायका लागी धेरैसँग हारगुहार गरे। तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारी देखी हाल बहालवाला मेयर हर्कराज साम्पाङ राईसम्म केही व्यवसाय गर्न भनेर ऋण भएपनि खोजे। तर कसैले पनि नपत्याएको उनको दुःखेंसो छ। उनी भन्छन् “१० हजार ऋण पनि कसैले पत्याएन, सायद म अपाङ्ग भएर होला कि?”
२ छाक खान र कोठाभाडा तिर्न धौ धौ भईरहेको बेला विगत १ वर्षदेखी उनमा पत्थरी देखा परेको छ । पिसाब थैलीको पत्थरी अप्रेसन गर्न नसक्दा पिसाब रोकिने समस्याले पाईप लगाएर पिसाबको थैली बोकेर हिड्नुपर्ने बाध्यता छ। कसैले फ्याँकेको व्ह्लि चियर मर्मत गरेर त्यही व्ह्लि चियरको सहारामा दैनिक कार्य संचालन गर्दै आएका छन् उनी।
धीरनारायणलाई पनि कसैको ऋण पाए सफारी चलाउने धोको छ। हाल धरान १६ न.ं वडा कार्यालयले मासिक १० केजी चामल उपलब्ध गराएपनि दैनिक घरखर्च चलाउन उनको काम गर्नु बाध्यता छ । हाल प्रेसरको नियमीत औषधी सेवन गर्नलाई पनि केही न केही काम गर्नु बाध्यता छ।
अपाङ्गता भएकाहरुलाई आत्मनिर्भर बन्न सजिलो नभएपनि असम्भव भने होईन । किनभने, धरानमै अपाङ्गता भएका केही व्यक्ति संघर्ष गरेर आत्मनिर्भर बनेका उदाहरण छन्।
धरान–१५ की डम्बरकुमारी श्रेष्ठका खुट्टा जन्मजात एउटा लामो र अर्को छोटो छ। उनी अहिले डिप्लोमा हेण्डिक्राफ्ट ट्रेनिङ सेन्टर चलाउँदै आएकी छन् । अपाङ् पुर्नस्थापना तथा असाहय सेवा केन्द्र नेपाल (धेरसेक) की अध्यक्ष समेत रहेकी उनी फरकक्षमता र आर्थिक अवस्था विपन्न भएका वार्षिक सरदर ३० जनालाई सिलाई बुनाई निःशुल्क तालिम दिँदै आएको बताउँछिन्। उनी भन्छिन्,“हाम्रो संस्थाले तालिम मात्र हैन हरेकलाई आत्मनिर्भरताको लागी १८ हजार बराबरको सिलाई मेसिनपनि प्रदान गर्दै आएको छ।”
यस तालिमबाट हाल धरानमा रहेका विपन्न र अपाङ्गता भएकाहरुलाई समाजमा समेत पुर्नस्थापित गरेको उनको दावी छ। यस तालिमबाट सिप सिकेर फरक क्षमता भएकी सुनिता राईले महेन्द्र बहुमुखी क्यापसको एउटा सटरमा सिलाई बुनाई नै सञ्चालन गरेकी छन् । यसैबाट उनको परिवार चलेको छ। यस्ता सिपमुलक तालिम पाउन सके अपाङ्गता भएकाहरु आत्मनिर्भर बन्न सक्ने अध्यक्ष श्रेष्ठ बताउँछिन्।
स्वास्थ्य र शिक्षामा वेवास्ता
अपाङ पुनस्र्थापना तथा असहाय सेवा केन्द्र नेपाल(धेरसेक)का संस्थापक अध्यक्ष तथा कार्यक्रम संयोजक सुनिल खड्का धरानमा अपाङ्गता भएकाहरुको अवस्था नाजुक रहेको बताउँछन् । अझैपनि केन्द्रमा सहयोगका लागी सातामा १५/२० जना आउने गरेको उनले बताए। अपाङ्गता भएकाहरुमा सबैभन्दा उपचारको समस्या रहेको बताए। उनी भन्छन् ‘राज्यले पनि नदिने, स्वास्थ्य बिमा पनि गर्न नसक्ने र बिमा गरिहाले पनि ढिलो हुने कारणले अपाङ्गता भएकाहरुलाई उपचारमा गाह्रो छ।’
कोही पीडित व्यक्तिहरु लाई सेल्टरमा राखेर उपचार गराउने र ठीक भएपछि तालिम दिएर पठाउने गरेको पनि उनले बताए । धेरसेकले अपाङगता भएका व्यक्तिहरुलाई व्ह्लि चियर, टूाई साईकल, राशन र उनीहरुको छोराछोरीहरुका लागी शैक्षिक सामाग्री, उपचार लगायतका सेवा प्रदान गर्दै आएको उनको भनाई छ।
यसैगरी धरान–१ स्थित छाताचौकमा पुर्नस्थापना गृह संचालन गरिरहेका भीम राईका अनुसार पुर्नस्थापना गृहमा बालबालिकादेखी वृद्धसम्म २५ जना छन्। यहाँ अधिकांश शारिरीक अपाङ्गता भएका व्यक्तिहरु बस्छन् । अपाङ्गता भएकाहरु व्हिल चियर, बैशाखी अभाव कृतिम अंग लगाएर हिड्न संभव नभएकाले पनि धेरैजसो पहाडक्षेत्रबाट यस पुनस्थापना गृहमा आउने गर्दछन्।
त्यसको त यस पुनःस्थापना गृहले उमेर पुगेका अपाङ्ग व्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउँदै समाजमा पुनस्थापनाको कार्यहरु गर्दै आएको छ। संचालक राईले अपाङ्गता भएका व्यक्तिहरुलाई पहिला श्रोत साधनले भ्याएसम्म काठमाण्डौसम्म लगेर उपचार गर्ने गरिएको बताए । त्यसपछि शिक्षा प्रदान गरिने उनले बताए। सरकारले शिक्षाको ज्योतीबाट कोहीपनि बञ्चित नहुन् भनेपनि विद्यालयमा पनि महंगो शुल्क तिर्नुपरेको बाध्यता उनले सुनाए। नेपालको संविधानले अपाङ्गता भएका व्यक्तिले निःशुल्क शिक्षा पाउने व्यवस्था गरेपनि धरानका केही सामुदायिक विद्यालयहरुमा कार्यान्वयन नभएको उनको ठहर छ।
पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई समयअनुकुल सिप पनि सिकाउँदै आएको उनले बताए। तिहारको समयमा माटोको दियो, मैनबत्ति, विद्यालयमा प्रयोग हुने चक बनाउने तालिमपनि दिएका थिए। तर पछिल्लो पटक विद्युतमा उल्लेख्य सुधार र विद्यालयमा ब्ल्याक बोर्डको सट्टा व्हा्ईट बोर्डले पुर्नस्थापित गरेपछि चक र मैनबत्ति बनाउन छाडिएको उनले बताए । अहिले सिप सिकाईमा परिमार्जन गर्दै टेलरिङ, मोबाईल फोन तालिम, ईलेक्ट्रोनिक, बाँसको फुल बनाउने तालिम दिएर स्वरोजगार बनाउँदै आएको उनले बताए। लगभग ३ सय जना भन्दा बढीलाई स्वःरोजगार बनाई पुर्नस्थापित गराएको उनको दावी छ। जसमा कमल थापा अहिले काठमाण्डौमा बसेर चित्रकला गर्दैछन् भने सन्तोष तामाङ कोशीपारी ईलेक्ट्रोनिक्स काम गर्दैछन् । यसैगरी कोही शिक्षक, कोही टेलरिङ गरेर जिविकोपार्जन गर्दै आएको उनको भनाई छ।
सरकार आम नागरिकको अभिभावक भएपनि शिक्षामा अपाङ्गहरुलाई विभेद गरेको उनको भनाई छ । उनले दृष्टिविहिन र सुस्त मनस्थितीहरुका लागी विद्यालय भएपनि शारिरीक अपाङ्गता भएकाहरुलाई छुट्टै विद्यालय नभएको बताए । सामान्य व्यक्तिहरु पढ्ने विद्यालयमा नै शारिरीक अपाङ्ग भएकाहरुपनि पढ्नुपर्ने बाध्यताले विद्यालयहरु अपाङ्मैत्री नभएको उनको ठहर छ। हरेकवर्ष कक्षा चढ्दै जाँदा कक्षा फेरिदै माथिल्लो तलामा पढ्नुपर्ने तर अपाङ्गमैत्री भवन नहुँदा तल्लो तलामा नै पढ्नुपर्ने बाध्यता रहेको उनले बताए। उनले मनोजकुमार मेन्याङ्वो धरानको मेयर हुँदा अपाङ्गता भएकाहरुका लागी केही बजेट छुट्टिएपनि त्यसपछि उप-महानगरले हालसम्म अपाङ्ग पुर्नस्थापना गृहहरुका लागी बजेट नछुट्याएको बताए।
स्थानिय सरकारको भूमिकाः
धरान उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत प्रज्ञा निरौलाले राज्यबाट अपाङ्गताको पहिचान भएपछि धेरै सुविधाहरु पाउने बताईन्। उनले अपाङ्गता भएकाहरुलाई सरकारी सेवामा आरक्षण कोटा, सवारी साधन खरिदमा भन्सार छुट, विद्यार्थीहरुलाई छात्रवृति, व्यावसाय दर्तामा विशेष छुट, सिप विकासका तालिममा छुट मात्र नभई तिनका परिवारहरुलाई समेत सिपमूलक तालिम दिने गरेको बताईन्।
अपाङ्गता भएकाहरुलाई विशेष सुविधा लिन नेपाल सरकारले परिचयपत्र अनिवार्य गरेको छ। धरानमा १२२४ जना अपाङगता भएका व्यक्तिहरु रहेको उप–महानगरपालिको तथ्याङ्क छ। जसमा धरान १५ मा सबैभन्दा बढी १६७ जना अपाङ रहेका छन्भने सबैभन्दा कम धरान १ मा १४ जना मात्र छन्। यसैगरी धरानमा २३६ जना “क” वर्ग, ६८० जना “ख” वर्ग, २४३ जना “ग” वर्ग र ६५ जना “घ” वर्गका रहेका छन्। “क” र “ख” वर्गका अपाङ्गता भएका परिचयपत्र लिएकाहरुले राज्यबाट मासिक ३ र २ हजार भत्ता समेत पाउदै आएका छन्। साथै उप–महानगरपालिकाले अपाङ्गता परिचयपत्र लिएकाहरुलाई ईलेक्ट्रीसियन, प्लम्बिङ, मोवाईल रिपेरिङ जस्ता सिटीभिटीअन्तर्गतका तालिमहरु प्रदान गरिएको र समय समयमा सहायक सामाग्रीहरु पनि वितरण गरिंदै आएको सामाजिक विकास अधिकृत निरौलाले बताईन्। उनले तालिम पाएका व्यक्तिहरुलाई १० जना अपाङगता सहजकर्ताहरुले अनुगमन गरिरहेको पनि बताईन् । केही केही व्यक्तिहरुले मासिक १८/२० हजार कमाए भनेको सुन्न पाउँदा खुसी लाग्ने गरेको उनीले बताईन्। ‘कोहीले हामीलाई अझै एड्भान्स ट्रेनिङ चाहियो पनि भन्ने गरेका छन्।” उनले भनिन् । छिटै एड्भान्स तालिम दिन लागेको बताउँदै अधिकृत निरौलाले आत्मनिर्भर बन्न उनीहरु पनि अभिप्रेरित हुनुपर्ने बताईन् ।
त्रिपक्षिय साझेदारी कार्यक्रम
आर्थिकवर्ष २०७८/०७९ देखी २०८०/०८१ सम्म तिनवर्षका लागी सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र धरान उपमहानगरपालिकाका बिच त्रिपक्षिय साझेदारीमा अपाङ्ता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम भईरहेको छ। जसमा बुवाआमाको सानो लापर्वाहीले जन्मसिद्ध अपाङ्गता हुनबाट बच्नका लागी स्वास्थ्य जाँच, गर्भको योजना र कतिले ख्यालख्यालमै बच्चा जन्माउने गर्नाले पनि जन्मसिद्ध अपाङता हुने सम्भावना धेरै हुने भएकाले रोकथामका कार्यक्रमहरु संचालनमा ल्याएको सामाजिक विकास अधिकृत निरौलाको भनाई छ। उनले अपाङ्गहरुको स्वास्थ्य उपचारमा पनि उप-महानगरले बढीमा २० हजार उपचार खर्च सहयोग गरेको बताईन्। हाल अपाङ्गताहरुका लागी धरानको २० वटै वडामा मिलिजुली समूह गठन गरिएको छ । उप–महानगरले ८०/८० हजार राखिदिएको बिउ पूँजीमा उनीहरुले हरेक महिना दुई सय जम्मा गर्दै आएका छन्। यसैबाट समूहका व्यक्तिहरुले पालैपालो व्यवसायका लागी ऋण लाने गरेको सामाजिक विकास अधिकृत निरौलाले बताईन्। उनले भनिन्“सबैलाई हातहातमा पैसा दिएर व्यवसाय गर भन्न सम्भव छैन। समूह बनाई पैसा संकलन गरी यसैबाट ऋण लिएर व्यवसाय गर्न सजिलो पनि हुन्छ।”
अपाङ्गता भएकाहरुको हितका लागी उप-महानगरपालिकाले धरान अपाङ्ग समाज भनेर संजालको गठन गरेको छ। जसका लागी २ लाख रुपैयाँ बजेट छुट्याएर खर्च गर्ने कार्यविधि बनाईएको अधिकृत निरौलाको भनाई छ । ‘आफ्नो क्षमता अनुसार गरेका छौं तर पर्याप्त बजेट अभावका कारण उहाँहरु हैन हामी पनि सन्तुष्ट त छैनौ, राज्यले दिएको सुविधामा आफुलेपनि केही होस्टेमा हैंसे गरे उहाँहरु अझ अगाडी बढ्न सक्नु हुन्छ।”
अपाङ्गहरुलाई पुनःस्थापनको विषय देशभरीकै समस्या भएकाले सानोतिनो बजेटले नपुग्ने उनको भनाई छ । उनी भनिन् “धरान उप–महानगरले अपाङ्गहरुका लागी पुर्नस्थापना गृह संचालन गर्ने हो भने देशभरीकै लागी ठुलो कन्सेप्ट ल्याएर संचालन गरिनु पर्दछ । जसमा तिनै तहका सरकारको सहकार्य र समन्वय अपरिहार्य छ।”