खानेपानीको समस्या समाधान गरी धराने जनताको मुहारमा खुसी ल्याउने मुख्यमन्त्रीको चाहना

दिव्य रोशनी(धरान)/ कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीले केहीवर्ष भित्रै धरानमा पानीको समस्या समाधानगरी धराने जनताको मुहारमा खुसी ल्याउन चाहेको बताएका छन्।
सो कुरा उनले धरानको रंगशालामा शनिवारदेखी शुरु भएको १५ दिने बिजनेस एस्पोको उद्धघाटनका क्रममा बताएका हुन्। मुख्यमन्त्री कार्कीले आफु केहीवर्ष धरानमा पढेको विद्यार्थी भएकाले पनि धरानमा खानेपानीको समस्याबारे जानकार रहेको बताउँदै खानेपानी समस्या समाधानका पहलहरु गरिरहेको बताए। उनले धरानमा खानेपानीको समस्या समाधानका लागी स्टन्ट गरेर जनतालाई धोका नदिने बताउँदै वास्तविक धरातलमा बसेर समस्या सामाधान गरिने बताए। उनले भने “धरानमा पानीको समस्या रहेको मलाई थाहा छ, म केहीवर्ष यही धरानमा पढेको विद्यार्थी पनि हँु। खानेपानी समस्याका लागी वास्तविक धरातलमा बसेर पहल गर्ने हो, हामी स्टन्ट गरेर जनतालाई धोका दिन चाहदैनौ। हामी सार्थक प्रयासहरु गर्छौ। अहिले हाम्रा प्रयासहरु अगाडी बढाईएका छौं। जसका लागी हाम्रा प्रयासहरु शुरु भएका छन्।”
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मुख्यमन्त्री कार्कीले शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीसंँग ७ वटै प्रदेशको मुख्यमन्त्रीबीच भएको भर्चुअल मिटिङमा धरान नगरमा पानीको अभाव रहेको जानकारी दिंदै आफु गाग्री बोकेर सिंहदरबार नआउने तर पानीका स्रोतहरु भएका ठाउँबाट पानी ल्याउन बनाएको कार्ययोजनालाई सहायता गर्न माग गरेको बताए। मुख्यमन्त्री कार्कीले धरानमा पानीको अभावलाई समाधान गर्नका लागी प्रधानमन्त्रीले सकरात्मक जवाफ दिएको समेत बताउँदैभने “धरानमा पानीको अभाव छ, यहालाई थाहा छ, हामी गाग्रो बोकेर तपाईसंँग पानी माग्न आउदैनौं। हामी हाम्रा पानीका स्रोतहरु भएका ठाउँमा व्यवहारिक ढंगले बनाउन कार्ययोजना बनाउँछौ त्यसमा सहायता गर्नुपर्छ, भनेको छु जसमा प्रधानमन्त्री ज्यूले सकरात्मक जवाफ दिनु भएको छ।”


मुख्यमन्त्री कार्कीले आफुहरुले तमोर र कोशीको पानी धराने जनतालाई खुवाउन चाहेको बताउँदै साँगुरीगढीलाई छेडेर तमोर सम्मको सुरङ मार्ग बनाउने होभने तमोरको पानी धराने जनतालाई खुवाउन सकिने दावी गरे। उनले तमोर सिंचाई डाईभर्सन गौरवको आयोजना आईडिन्टिफाई भएकाले बिजुली उत्पादन , खानेपानी र सिंचाई गर्न सकिने समेत बताए। तमोरको पानीलाई डाईभर्सन गरेर चिसाङ खोलामा झार्ने अध्ययन पुरा भएको बताउँदै मुख्यमन्त्री कार्कीले नेपाल सरकारले यस प्रोजेक्टलाई अगाडी बढाउनुपर्ने र त्यो परियोजना सफल भए धरान मात्र नभई कोशी प्रदेशका सबैठाउँमा खानेपानीको व्यवस्था गर्न सकिने दाबी गरे।
आफु पहिलोपटक मुख्यमन्त्री हुँदा धरानमा खानेपानीका लागी ४ वटा डिप बोरिङ गरिएको बताउँदै उनले ती टं«कहरु मेन लाईनमा जोडिए जोडिएनन् आफुले बुझ्न नपाएको बताउँदैभने–“यदी जोडिएको छैनभने जोडिने, चालु गरिएको छैनभने चालु गराईने र त्यहाँबाट अस्थाईरुपमा भएपनि पानीको आवश्यक्त पुरा गरिनु पर्छ।” मुलुकलाई समाजवादतर्फ लैजान धेरैकुरामा सक्षम भएपनि राष्ट्रिय पुँजी पर्याप्त विकास नभएकाले राष्ट्रिय पुँजीको विकासलाई प्राथमिकता दिनुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिए। उनले मुलुकको आर्थिक विकास गर्न सकिने अर्को क्षेत्र भनेको धार्मीक पर्यटन क्षेत्र भएकाले यसका लागी पिण्डेश्वर मन्दिर, प्रािचन हरिद्धार र बराहक्षेत्र जस्ता धार्मीक स्थलहरुलाई प्रवद्र्धन गरिने समेत बताए।
सोहीक्रममा मुख्यमन्त्री कार्कीले पाथिभरा मन्दिरमा दैनिक दशौं हजार भक्तजनहरु पुर्याउन केवुलकार निर्माण गरिन लागेको समेत बताए। उनले पाथिभरामा केबुलकार निर्माणका लागी विरोधीहरुसंँग वार्ताका लागी छलफल अगाडी बढाईएको समेत बताए। उनले भने “अब पाथिभरामा दैनिक दशौं हजार भक्तजनहरु जानेगरी संरचना विकास गर्न केवलकार निर्माण गर्न खोज्दैछौं, यसको लागी सहमती गरेर टुङ्ग्याईने छ र चाँडै नै केवुलकार बन्ने प्रकृयाले गति लिनेछ भन्ने विश्वास छ। ती कुराका लागी नेपाल सरकारले विरोधीसंँग वार्ताका लागी छलफल प्रकृया अगाडी बढाएको छ।”


नेपालमा आर्थिक अवस्था नाजुक बन्दै गईरहेको यदाकदा टिप्पणीहरु सुनिंदै आएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले २०७५ सालमा बजेट बनाउँदा करिब ४६ अरबको बजेट बनाएपनि अहिले ३३ अर्बमा झरेको बताए। उनले केही राजनीतिक दलहरु सत्ता लिप्साका लागी गठबन्धन बनाएर मुलुकलाई धारासायी बनाउन लागेपछि मुलुकको आर्थिक वृद्धिदर केही कमजोर बनेको समेत ठोकुवा गरे। नेपाली कांग्रेस र नेकपा एमालेले आत्मसात गरेर गत असारमा ३ बुँदे सम्झौता गरेसंँगै गतवर्षभन्दा यो आर्थिकवर्षमा मात्रै २० प्रतिशत आन्तरिक राजस्व बढाएको उनले दाबी गरे। २०८४ सम्म दुई दलको सहकार्य रहे राजनीतिक स्थायित्व प्रदानगरी बरालिएको अर्थतन्त्रलाई मजबुद बनाउने उनको भनाई थियो।
कार्यक्रममा प्रदेश सांसद विजय राईले मुलुकलाई आर्थिक समृद्धि बनाउने होभने युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नुपर्ने बताए। उनले धरानमा सबैभन्दा बढी विभिन्न जातजाती, भाषा, धर्मालम्बीहरु बसोबास गर्ने शहर भएपनि भाषाका नाममा, धर्मका नाममा बदनाम भईरहेकोले भाषिक, धार्मीक एकता सद्धभाव विथोल्न थालेकोमा चिन्ता व्यक्त गरे।
यसैगरी कार्यक्रममा नेपाली कांग्रेस धरानका नगर सभापति श्याम पोख्रेलले धरानमा केही संघ÷संस्थाहरुले व्यक्तिमुखी भएर तलमाथि गर्दैगर्दा यस्ता औद्योगिक व्यापार मेला कार्यक्रमहरु आझेलमा त पर्ने होईन भन्ने चिन्ता पनि बढेको बताए। उनले धरान व्यापारिक केन्द्र हँुदाहँुदै पनि धरानको व्यापार खँस्कदै गएको तर नयाँ उद्योगधन्दा भित्र्याउन नसकेको गुनासो गरे। सुनसरी उद्योग वाणिज्य संघले केहिदिनअघि लगाएको एक्सपोले के–के प्रतिफल दियो त्यो धरानेले थाहा पाउनुपर्ने बताउँदै उनले मिडियामा यती करोड बिक्री भयो, यती लाख मान्छे आए भनेर नहुने आको्रश समेत पोखे। उनले भने “सुनसरी उद्योग वाणिज्य संघबाट धराने जनता र व्यवसायीलाई यो कुरा फाईदा भो भनेर उद्धघोष गर्नुहोस् अनिमात्र आगामी दिनमा अगाडी बढ्न आग्रह गर्दछु।”
यसैगरी स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग व्यवसायी महासंघ धरान नगर कमिटीका अध्यक्ष शिवराज श्रेष्ठले धरानको सुस्त बजारलाई चलायमान बनाउन बिजनेस एक्स्पोको आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा उद्योग व्यवसायी महासंघ धरान नगर कमिटीका उपाध्यक्ष तथा एस्पोका मूल कमिटी संयोजक राजेश अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।
शनिबारदेखी धरान रंगशालामा शुुरु भएको बिजनेस एक्स्पो फागुन १० गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोमा आम सर्वसाधारण र व्यवसायीहरुको अवस्थालाई मध्यनजर गर्दै सस्तो जुत्ता मेला, आदिवासी जनजाती परिकारहरुको प्रवद्र्धन, स्थानीय उद्योगी व्यवसायीहरुका उत्पादनको बजारीकरण, गार्मेन्टका उत्पादनहरु लाई सरल मुल्यमा उपलब्ध गराईएको आयोजकले जनाएको छ। साथै हरेक दिन साँझ सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने भएकाले न्युनतम शुल्क ताकिएको भएपनि अन्य समयमा कुनैपनि प्रकारको शुल्क नलाग्ने आयोजकले जनाएको छ।
सांगीतिक कार्यक्रममा राजेशपायल राई, सविन राई, सुगम पोख्रेल, मिलन नेवार, तृष्णा गुरुङ, जोन चाम्लिङ, पूर्ण राई, दिपक लिम्बु, रचना रिमाल, एकदेव लिम्बु लगायतका राष्ट्रिय कलाकारहरु र स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ। साथै एक्स्पोमा आगन्तुकहरुको मनोरन्जनका लागि खेलतमासा, रोटेपिङ, कोलम्बस तथा बालबालिकाहरुका लागि समेत मनोरन्जनात्मक सामग्रीहरु राखिएको छभने एक्पो अवधिमा धरानको शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग र सञ्चार क्षेत्रको विकास र सम्भावनाका बारेमा अन्तक्र्रिया हुने महासंघका नगर अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिए। (दिव्य रोशनी साप्ताहिकबाट)