आरा धरान पार्कमा जनताले बनाए लाखौंका संरचनाहरु
मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ जनताको सहयोगबाट निर्मित “आरा धरान पार्क” धरान उपमहानगरपालिका मार्फत् जनतालाई नै हस्तान्तरण गरिएको छ।
धरानको विशेष चिनारी झल्काउने “आरा धरान पार्क” को एक समारोहका बिच शुक्रवार हस्तान्तरण गरिएको हो। धरान २० सर्दुखोलाको किनारामा रहेको “आरा धरान पार्क” मा आयोजित कार्यक्रममा आरा धरान पार्कका निर्माता तथा डिजाईनर तथा मूर्तिकार रोजन राईले धरानउपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मूर्तिकार राईले देश/विदेशमा रहेका दाताहरुको सहयोगमा निर्माण भएको आरा धरान संरचनालाई विधिवत रुपमा धरान उपमहानगरपालिका मार्फत् जनतालाई नै हस्तान्तरण गरिएको बताए।
यसअघि शुरूवातीका चरणमा यस स्थानमा आरा धरानको प्रतिमा मात्र रहेको थियो। दुई व्यक्तिहरुले आरा काटिरहेको सो आरा धरानको प्रतिमा पनि स्वयं मूर्तिकार रोजन राईले धरान उपमहानगरपालिकाको थोरै बजेटमा निर्माण गरेका थिए। धरानको शाब्दिक अर्थ पनि आरा काट्न थापिएको धरापलाई नै जनाउँदछ। त्यसपश्चात् क्रमिक रुपमा विभिन्न दाताबाट आर्थिक सहयोग प्राप्त हुने क्रम बढ्दै गएपछि आरा धरानले पूर्णता पाएको मूर्तिकार राईले बताए। उनले विशेषगरी धरानको नामाकरण भएको आरा धरान पार्कको अध्ययन अनुसन्धान गर्नपनि पर्यटकहरु आउने गरेको समेत बताए।
उनका अनुसार यस स्थानमा पहिले वनमारा झाँडीको रुपमा रहेको थियो। नजिकै ब्रिटिस वेलफेयर ट्रष्टले खानेपानीको टंकी निर्माण गरेपछि यस स्थानमा आरा धरानको प्रतिमा राखिएको थियो। आरा धरान पार्क निर्माण सँंगै पार्क प्रवेशमा सिढी र रेलिङहरु राखिएको छभने दाँया छेउमा चिण्डो (राई भाषामा वाबु) राखिएको छ। जुन वाबुबाट पर्यटकहरुका लागी फिल्टर गरिएको पानी झरिरहन्छ। यसैगरी पार्कको दक्षिण दिशामा सानो मिनी पोखरी समेत निर्माण गरिएको छ। पोखरीमा रंगीचंगीका माछा राखिएको छभने पर्यटकहरुलाई अझ आकर्षित गर्न कछुवाको प्रतिमा पनि राखिएको छ। कछुवालाई शुभको प्रतिक मानिन्छ।
यसका साथै आरा धरान पार्कमा विभिन्न दाताहरुकै सहयोग र श्रमदानमा उच्चकोटीको रोबिन फाईबरबाट २५ वटा चौतारा र १० वटा टुल्सहरु निर्माण गरिएको छ। यसैगरी पार्कमा रोटी र सगुन बोकेर आरा काट्नेहरुलाई खाजा लिएर उभिएकी एकजना शेर्पेनी महिलाको प्रतिमाले यस पार्कको अझ आकर्षण थपिएको छ।
करिब २ वर्ष अघिदेखी निर्माण शुरु भएको यस पार्कले अहिले पूर्णता पाएको छ। मूर्तिकार रोजन राईले बजेट अभावमा अपूर्ण रहेको पार्कमा सहयोगी दाताहरुले दिएको पैसाले निर्माण गर्दै जाँदा निर्माण सम्पन्न हुन २ वर्ष लागेको बताए। उनका अनुसार आरा धरान परिसरमा विभिन्न आकर्षक संरचनाहरु निर्माणका लागी सहयोगी दाताहरुबाट २७ लाख ७२ हजार ३ सय ५० रुपैयाँ संकलन भएकोमा २७ लाख ५० हजार ३ सय ५० रुपैयाँ खर्च भएको छ।
दाताहरुले दिएको पैसा सहि ठाउँमा सदुपयोग भएकै कारणपनि दाताहरुले सहयोग गरेको मूर्तिकार राईको भनाई छ। उनले भने “यदि दाताहरुले दिएको पैसा सहि ठाउँमा सदुपयोग नभएको भए मेयर साम्पाङको अभियान फेल भइसक्ने थियो तर दाताहरुको रकमलाई एकदमै सदुपयोग गरेकै कारण अहिले मेयर साम्पाङको अभियान सफल भएको छ।” त्यसो त केही व्यक्तिहरुले आफुलाई कमाउ धन्दा गरेको भन्ने आरोप समेत लगाएको उनले दुःखेसो पोखे। मुर्तिकार राईले ६० हजार खर्च लाग्ने फलैंचा ४० हजारमा नै एकदमै सुपर क्वालिटीका फलैंचाहरु साथै एउटा अर्धकदको मूर्ति बनाउन २/३ लाख लाग्ने खर्चहरुलाई एकदमै कम खर्चमा राम्रा क्वालिटीका मूर्तिहरु निर्माण गरेको बताउँदैभने “मेयर साम्पाङको अभियानलाई सफल बनाउन मैले आफ्नो श्रम पसिनाको हिसाब/ किताब नै जोडको छैन, संसारलाई ईमान्दारिता देखाएको छु।” उनले भने “मिडियाकर्मी साथीहरु नभएको भए जती नै राम्रो बनाएपनि हेर्न कोही आउदैैनथे तर मिडियाकर्मीहरुकै कारण मेयर साम्पाङको अभियान सफल भएको छ, मैले आफ्नो कलालाई पनि विश्व सामु चिनाउने अवसर पाएको छु।” धरानलाई चिनाउने मिडियाकर्मीहरु प्रति आभार व्यक्त गर्दै उनले आगामी दिनहरुमा पनि धरानलाई चिनाउन मिडियाको भूमिका उत्तिकै रहने छ भन्दै प्रशंसा गरे। उनले धरानलाई चिनाउने मिडियाकर्मी र संरचना निर्माणमा श्रमदान गर्ने श्रमदाताहरुहरुलाई सम्मानपत्र र सयपत्री फुलको मालाद्वारा सम्मान गरेका थिए। सो सम्मान कार्यक्रमका प्रमुख अतिथी मेयर हर्क साम्पाङ र विशेष अतिथी उपमेयर अईन्द्र विक्रम बेघाद्वारा प्रदान गरिएको थियो।
कार्यक्रममा मेयर साम्पाङले सबै मिलेर काम गर्नुपर्ने संस्कृतिको विकास गर्न श्रम संस्कृति पार्क निर्माण गरिएको बताए। उनले यसअघि वनमारा झाडी र दुव्यर्सनीको अखडाको रुपमा रहेको यसक्षेत्रलाई आफु मेयर पदमा विजयी भएर आएपछि २ वर्षमा धेरै परिवर्तन ल्याएको बताए। पार्कको पहिलो सुन्दरता भनेकै विरुवा भएकाले विरुवा रोप्ने र गोडमेल गर्ने क्रममा उपमहानगरले आरा धरान निर्माण गरिएको मेयर साम्पाङले बताए। सोहीक्रममा उनले यस श्रम संस्कृति पार्कमा एसडिएस रक गार्डेन, रोज गार्डेन, एसएनएस चौतारी निर्माण सम्पन्न भईसकेको बताउँदै भूपू लाहुरेहरुको सहयोगमा गोर्खा चौतारी निर्माणाधिन अवस्थामा रहेको समेत जानकारी दिए।
श्रमसंस्कृति पार्कमा निर्माण गरिएको विभिन्न पार्कहरुमा अहिले विशेषगरी आन्तरिक तथा बाह्य पर्यटकहरुको घुईचो लाग्ने गर्दछ। हरेक पार्कमा घुम्नका लागी १५ रुपैयाँको टिकट काट्नु पर्दछ। जसले गर्दा धरानको अर्थतन्त्रमा पनि यसले सकरात्मक प्रभाव पार्न थालेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)