पर्यटकहरुलाई लोभ्याउँदै “झांक्री दह”
मनिता चाम्लिङ/
दिव्य रोशनी(धरान)/ श्रम संस्कृति पार्कको अन्नपूर्ण क्षेत्रमा एउटा पर्यटकिय स्थल थपिएको छ “झाँक्री दह”। “ढुंगाको ओडारमा ढ्याङ्ग्रो लिई बालकलाई च्यापेर बाहिरी नजर लगाईरहेको वन झाँक्री, ओडार नजिकै जंगलमा एकजोडी कल्चुडा र दहमा पाहा।” यो नै पर्यटकहरुलाई आकर्षित गर्ने वास्तविक “झाँक्री दह” को चित्रण हो।
“झाँक्री दह” अहिले श्रम संस्कृति पार्कको नयाँ आकर्षक गन्तव्य बनेको छ। उहिले दन्त्यकथाहरुमा वन झाँक्रीले बालबालिकाहरुलाई चोरेर ओडारमा लैजाने र तान्त्रिक विद्याले धामी झाक्री बनाई घर फर्काईदिने गरेको कथालाई नै मध्य नजर गरेर झाक्री दहको कन्सेप्ट ल्याईएको झाक्री दहका परिकल्पनाकार राम प्रसाद राईले बताए। उनका अनुसार यस स्थान गहिरो खोंच जस्तो रहेको थियो। खोलामा घुम्न आउनेहरुले खाएका खानेकुराका प्याकेट तथा प्लास्टिकका खोल, खाली शिशीका बोतलहरु फ्याक्ने डम्पिङ साईट जस्तै रहेको थियो। तसर्थ त्यही स्थान विशेषलाई झाँक्री दहको स्वरुपमा स्थापना गरिएको हो। अझैपनि गाउँघरमा सुनिने झाँक्री र दह र खोलाखेल्सीमा पाईने पाहालाई नयाँ पुस्ताले नबिर्सीउन भन्नका लागी साथै पर्यटकहरुलाई बेग्लै किसिमको अनौठो मनोरञ्जनका लागी पनि “झाँक्री दह” स्थापना गरिएको परिकल्पनाकार राईले बताए।
विशेषगरी दहको बिचमा रहेको पाहा पर्यटकहरुका लागी अहिले आकर्षण बनेको छ। मुख “आ” गरेर मास्तिर फर्किएर बसेको पाहाको मुखमा सिक्का छिराउने र छिरेमा “लक्की डे” शुभदिन हुने विश्वास गरिएको छ। यस दहमा माछा पनि छोडिएको छ। यीनै झाँक्री दहको बिहिवार समुद्धघाटन गरिएको छ। धरानका मेयर हर्कराज साम्पाङ राईले झाँक्री दहको समुद्धघाटन गरेका थिए। उनले साना–साना काम गर्दै धरानलाई पर्यटकिय स्थलको रुपमा अगाडी बढाउँदै लगेको बताए।
झाँक्री दहका परिकल्पनाकार राईले आफु पर्यटनकर्मी पनि भएकाले पर्यटकहरुलाई श्रम संस्कृति पार्कमा कसरी ईन्गेज गराउने भन्ने सोंच्दा सोच्दै झाँक्री दहको अवधारणा ल्याएको बताए। यस अन्नपूर्ण क्षेत्रमा शुरुमा एसएनएस चौतारी पछि एसडिबि रोज गार्डेन र अहिले झाँक्री दह निर्माण भएको उनको भनाई छ। हालश्रम संस्कृति पार्कमा बेग्ला बेग्लै किसिमका पार्कहरु रहेकाछन्, जसका कारण एक अर्कामा मेल खाँदैन। यस स्थानमा झाँक्री र एकजोडी कल्चुडा निर्माणका लागी काठमाण्डौका शैलेश अधिकारी(हाल टोरन्टो) ले ५२ हजार रकम पठाईदिएका थिएभने भुटानी नागरिक (हाल अमेरिका) बुद्धि मगरले पठाएको रकमले पाहा बनाईएको राईले बताए।
यस दहमा पानी रिचार्जका लागी मौनता क्षेत्रबाट पानी ल्याईएको छ। जुन हिउँद महिनामा पनि हाफ ईन्चि पाईपमा मुल फुटेर आउने गर्दछ। पानी ग्रिन बुद्ध र ढुंगे धारा हुँदै दहमा आईपुग्ने गरेको छ।
झाँक्री दह निर्माणका लागी ३८ जना विभिन्न दाताहरुबाट जम्मा ५ लाख ६ हजार ७ सय ४५ रुपैयाँ प्राप्त भएकोमा जम्मा ५ लाख १ हजार ६ सय ४६ रुपैयाँ खर्च भएको मौनता क्षेत्र एवं झाक्री दह निर्माण समितीका कोषाध्यक्ष बाडामा सुनिता राईले बताईन्। उनका अनुसार मिस्त्री लेवर खर्च १ लाख ४ सय ५० रुपैयाँ, रेलिङ ६१ हजार ४ सय ८८ रुपैयाँ, दहको ग्रिलको रेलिङ ३० हजार, झाँक्री, पाहा र कलचुडाको स्टाचु ८० हजार, शिलालेख ४२ हजार ५ सय १५, सिमेन्ट, बालुवा, पाल, काटी , डोरी पाईप, गिटी १ लाख ६३ हजार ३ सय ८३ रुपैयाँ, ब्यानर, फोटोकपी ३ हजार २ सय ६० र खाजापानी २० हजार ५ सय ५० रुपैयाँ खर्च गरिएको छ। यसका साथै झाँक्री दह निर्माण सम्पन्न गर्न जम्मा ४१ जनाले २ सय ६८ दिन श्रमदान गरेका थिए। जसमा श्रमदानबाट १ लाख ७१ हजार ६ सय बराबरको श्रमदान गरिएको कोषाध्यक्ष राईको भनाई छ।
झाँक्री दहको समुद्धघाटन सँंगै उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ। दह निर्माण समितीका अध्यक्ष हिरा माया गुरुङले संरचना निर्माणमा श्रमदान गर्ने श्रमदाता र आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद दिएकी थिईन्।
२ वर्ष अघि अव्यवस्थित खाजा टहरा र डम्पिङ साईट बनेको सर्दु खोला परिसर अहिले मेयर हर्क साम्पाङको अगुवाईमा झाँक्री दह सँंगै आरा धरान, एसडिएस रक गार्डेन, एसएनएस चौतारी र रोज गार्डेन जस्ता पर्यटकिय स्थलहरु निर्माण हुन थालेपछि सर्दु खोला अहिले धरानको प्रमुख पर्यटकिय गन्तव्य बनेको छ। (दिव्य रोशनी साप्ताहिकबाट)