तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगिताको खेल तालिका सार्वजनिकः १७ विद्यालयले प्रतिश्पर्धा गर्ने

दिव्य रोशनी(धरान)/ यहि भाद्र २७ गते देखि ३१ गतेसम्म हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो बास्केटवल रनिङ कपको खेल तालिका सार्वजनिक गरिएको छ।
सोमवार सहभागि विद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो। खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताका सह–संयोजक दिप बहादुर राईले प्रतियोगितामा धरान भित्र र धरान बाहिर गरी १७ विद्यालयले प्रतिश्पर्धा गर्ने बताए। उनले प्रतियोगिताको उद्धघाटन खेलमा धरान मेघा हिमालयन स्कुल र लोटस स्कुल विच प्रतिस्पर्धा हुने समेत जानकारी दिए।
सह–संयोजक राईका अनुसार प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, कार्मेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्ली पब्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल ईङ्गलीस स्कुल तरहराले सहभागीता जनाउने छ।


कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिताका विजेता टिमले नगद १५ हजार रुपैया, उपविजेताले नगद ७ हजार ५ सय रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर (एमभिपि)ले ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने सह–संयोजक राईले बताए।
डिपो स्कुललाई यहा सम्म ल्याइपुर्याउन लामो समय सम्म महत्वपुर्ण योगदान दिनु भएका दिवंगत पुर्व व्रिटिस गोर्खा मेजर श्रवणकुमार लिम्वुको सम्मानमा विगत दुई वर्ष देखि विद्यालय स्तरिय बास्केटवल प्रतियोगिताको आयोजनाको सुरुवात गरिएको हो । प्रतियोगिता आयोजनाका लागि डिपो स्कुल र दिवंगत मेजर श्रवणकुमार लिम्वुको परिवार विच सहकार्य रहेको छ । मेजर श्रवणकुमारले डिपो स्कुल व्यवस्थापन समिति वरिष्ठ सल्लाहकारको रुपमा १५ वर्ष, डिपो सार्वजनिक शैक्षिक गुठि व्यवस्थापन समिति अध्यक्षमा १९ वर्ष र व्यवस्थापन समितिको अध्यक्षमा १६ वर्ष लामो समय नेतृत्व सम्हालेका थिए। वहाकै पालामा डिपो स्कुलमा प्लस टु र व्याचलर लेवल अध्यापन सुरु भएको थियो । उनको कोरोना महामारिको कारण २०७८ साल श्रावण १५ गते निधन भएको थियो ।
सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको सम्पुर्ण खेल डिपो आर्दश वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संपन्न हुनेछ।
खेल तालिका सार्वजनिक कार्यक्रममा डिपो स्कुल प्रमूख राजकुमार राई, सुनसरी बास्केटवल संघ अध्यक्ष नारायण सुवेदि, राष्ट्रिय रेफ्रि युगल लिम्बु, आयोजक कमिटि सदस्य उमेश ताम्रकार, संजय लिम्बु लगायतको उपस्थिति रहेको थियो।