“नेपालमा सुरुङ युद्ध” पुस्तकको धरानमा पुस्तक वार्ता

दिव्य रोशनी(धरान)/ शहिद रत्न कुमार वान्तवाको जिवनीमा आधारित “नेपालमा सुरुङ युद्ध” पुस्तकको धरानमा पुस्तक वार्ता गरिएको छ।
पत्रकार तथा साहित्यकार जसकुमार राई र अर्जुन उप्रेतीद्वारा तयार पारिएको पुस्तकको शुक्रवार धरानको रत्न ईन होटलमा पुस्तक वार्ता गरिएको हो। शब्दयात्राको आयोजनामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई सहजकर्ता रहेका थिएभने राजनीतिक अगुवाद्वय ताजुब लिम्बु र सुनिता किराँती “सी” ले पुस्तकको समिक्षा गरेका थिए। पुस्तकमा पूर्वका एक क्रान्तिकारी शहिद रत्नकुमार बान्तवाको जिवनीमा आधारित रहेको छ।
कम्युनिष्ट पार्टी सम्बद्ध वान्तावाले नेपालमा व्यवस्था परिवर्तनका लागि पहिलोपटक सुरुङ युद्ध गरेको पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक वार्तामा राजनीतिज्ञ ताजुब लिम्बुले सहिद वान्तवाले देश र समाजलाई दिएको योगदान कति ठुलो थियो भन्ने थाह पाउन पनि उक्त किताब पढ्नै पर्ने बताए । उनले आफ्नो व्यक्तिगत जीवन र परिवारभन्दा माथि समाज, देश सोचेर क्रान्तिमा होमिएका वान्तवाको योगदानलाई किताबले बाहिर ल्याएको समेत बताए । उनले भने “गुमनाम पात्रलाई र उहाँको योगदानलाई प्रेरणादायी रुपमा किताबले सबैको सामु ल्याएको छ, उहाँको योगदान थाह पाउन पनि यो पुस्तक पढ्नै पर्छ।”
सोहीक्रममा राजनीतिज्ञ लिम्बुले रत्नकुमार वान्तवाको क्रान्तिकारी धारले परिवर्तनकारी नेपाली राजनीतिक आन्दोलनका लागि ठुलो योगदान पुर्याएपनि सत्तामा पुगेपछि उचित सम्मान र मुल्यांकन नगरिएको बताए।
यसैगरी पुस्तकका अर्का समिक्षक राजनीतिज्ञ सुनिता किराँतीले कम्युनिष्ट पार्टीमा आबद्ध भएतापनि उनले क्रान्तिका लागि सुरु गरेको “सुरुङ युद्ध” नितान्त छुट्टै कदम रहेको धारणा व्यक्त गरिन्। उनले रत्न कुमारको सम्मानमा माओवादी सेनाको एक “रत्नकुमार बिग्रेड” स्थापना गरिएको बताईन्। सोहीक्रममा किरातीले वान्तवाको गतिविधि र घटनाक्रम हेर्दा पार्टीको सोच र गन्तव्यभन्दा अग्रगामी रहेको बताईन् । उनले राष्ट्र र राष्ट्रियता जोगाउनको लागी सुरुङ युद्धलाई प्रयोग गर्न सकिने बताउँदै आफु पक्राउ पर्दा र वान्तवाको बहिनीलाई पक्राउ गरेर राज्य सत्ताले दिएको यातनाको व्यवहार फरक भएपनि उद्देश्य भने एउटै क्रान्तिकारीलाई घुँडा टेकाउनु रहेको पनि बताइन् । “पुस्तकले वान्तवाप्रतिको भ्रमहरुलाई तोडेको र अँध्यारो कुनामा फालिएको वान्तवाको योगदानलाई बाहिर ल्याउन सफल भएको छ।” उनले भनिन् “यो पुस्तक पढेपछि राजनीतिक प्रति वितृष्णा बोकेका युवाहरुलाई प्रेरणा दिन्छ।”
पुस्तकका लेखक जस कुमार राईले आफु सप्तकोशी एफएममा कार्यरत रहँदा वान्तवाबारे अनुसन्धान गर्न दुई जना इलाम पुग्दा तत्कालीन सत्ताले अन्यलाई पनि हत्या गरेको कुरा खुलेको बताए। उनले डकुमेन्ट्रीमा अटाउन नसकेको विषयलाई पुस्तकमा विस्तृत रुपमा तयार गरिएको पनि बताए।
त्यस्तै अर्का लेखक उप्रेतीले वान्तवाले बाल रेड गार्ड राखेर सुरुङ खनेको प्रसंग उल्लेख गर्दै उनको क्रान्ति गर्ने शैली, गोपनियता र सुचना आदान–प्रदानको शैली छापामार युद्ध गर्नेहरुलाई प्रेरक भएको बताए।यसैगरी पुस्तकका सहलेखक अर्जुन उप्रेतीले रत्नकुमारको विद्रोहले २०३६ सालमा जनमत संग्र्रह घोषणाको पृष्ठभूमिमा भूमिका खेलेको दाबी गरे।उनले शहिद रत्नकुमार वान्तावाले गरेको विद्रोह, संघर्ष र संगठन नेपालको कम्युनिष्ट पार्टीका कार्यकर्ताका लागि अनुकरणीय रहेको बताईन्।
भियतनामका नेता “हो चि मिन्ह” बाट प्रभावित भएर कम्युनिष्ट आन्दोलनमा सक्रिय वान्तवाले सुरुङ युद्धलाई अघि बढाउन नपाउँदै २७ बर्षको कलिलो उमेरमा २०३५ चैत २७ गते पञ्चायती सरकारले इलामको इभाङको जंगलमा गोली हानी हत्या गरेको थियो। उनीसँगै भाई बमप्रसाद वान्तवा पनि मारिएका थिए। उनले देश र जनताको लागी, प्रजातन्त्रको लागिद्द गरेको योगदानको कदर गर्दै हत्या भएको ३७ बर्षपछि मात्र सरकारले २०७२ सालमा मात्र सहिद घोषणा गरेको थियो।