धरानका कृषक पावर ट्रिलर

दिव्य रोशनी(धरान)/ धरान उपमहानगरपालिकाले किसानलाई खेतबारी जोत्ने पावर ट्रिलर हस्तान्तरण गरेको छ ।
मंगलबार उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० का मचिन्द्र कृषि तथा पशुपन्छि फर्म, वडा नं. ४ का दाजुभाई फर्म, वडा नं. ५ का निशानदेवि कृषि समूह र वडा नं. ५ कै ठिंगाबारी कृषि समूहलाई ४ थान पावर ट्रिलर हस्तान्तरण गरेका छन् । उपमहानगरपालिकाका कृषि शाखाका अधिकृत भक्तिराज शर्माका अनुसार उपमहानगरपालिकाको ७५ प्रतिशत र कृषकको २५ प्रतिशत लागत साझेदारीमा खरिद गरेर कृषकहरुलाई वितरण गरिएको हो । मेयर राईले धरान उपमहानगरपालिका साविक विष्णृुपादुका गाविस र पाँचकन्या गाविस मिलेपछि उपमहानगरपालिका बनेको जनाउँदै साविक दुई वटै गाविस कृषिसँग आधारित रहेको बताए। उनले वडा नं. ४, ५, ६ र २० का कृषकहरुलाई विगत देखि नै कृषिका सामग्रीहरु उपमहानगरपालिकाले सहयोग गर्दै आईरहेको समेत बताए। सोहीक्रममा मेयर राईले उत्पादन र पालनपोषणमा पनि उपमहानगरपालिकाले सहयोग गरिरहेको बताउदै स्थानीय तहले प्रदान गरेको मेशिनरी औजार, मल, बिउहरुको अधिकतम रुपमा सदुपयोग गरेर उत्पादन गर्न पनि सुझाव दिए। उनले अनुदान लाने कृषकले आफ्नो वरपरका छरछिमेकलाई सहयोग गर्नुका साथै प्राविधिक ज्ञान पनि सिकाउन आग्रह गरे।