युनाइटेडले प्रदेश स्तरिय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता गर्ने

दिव्य रोशनी(धरान)/ युनाइटेड डान्स एकेडेमी धरानले प्रदेश नम्बर १ स्तरिय अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता २०७८ गर्ने भएको छ।
आज धरानमा आयोजित पत्रकार सम्मेलनमा युनाइटेड डान्स एकेडेमी धरानका प्रवन्ध निर्देशक सन्तोष तामाङले एक जातीको मौलिक नृत्य अर्का जातीले थाहा पाउन र सिक्दै समाजमा प्रगाढ सम्बन्ध बनाउन पनि लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको बताए। उनले विगतका वर्षहरुमा लोक नृत्य प्रतियोगितामा सोलो नृत्य हँुदै आएतापनि यस प्रतियोगितामा ६ देखि १८ जनासम्मले समुहमा नृत्य गर्ने बताए।
“मौलिक कला संस्कृतिको संरक्षण र विकास गरौं, साँस्कृतिक रुपान्तरण सहितको आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनमा अघि बढौ” भन्ने नारा दिएको यस प्रतियोगिताका बिजेताले नगद ४० हजारका साथमा प्रमाणपत्र र ट्रफि पाउनेछन्भने दोस्रो हुने विद्यालयले नगद २० हजार प्रमाणपत्र र ट्रफि पाउनेछन्। यसैगरी प्रतियोगितामा तेस्रो हुने विद्यालयले नगद १० हजार सहित प्रमाणपत्र र ट्रफि पाउनेछन्। त्थस्तै सान्तवना हुने विद्यालयले नगद ५ हजार सहित प्रमाणपत्र र ट्रफि पाउनेछन्। यस्तै उत्कृष्ट प्रशिक्षकलाई नगद २ हजार ५ सय सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ।
आगामी माघ १३ गते धरानको सभागृहमा आयोजना हुने प्रतियोगितामा धरानका हिमालयन मेघा स्कुल, नेपाल पुलिस स्कुल, आवरहोम स्कुल, अल्पाईन स्कुल, समिट स्कुल, मेरिल्याण्ड स्कुल, सियोन स्कुल रहेका छन्भने मोरङबाट पूर्वाञ्चल एकेडेमी, प्याराडाईज स्कुल, र झापाबाट कमला मदन आश्रित उच्च मावि, सरस्वती उच्च मावि दमक, होलिवेल स्कुल र शहिद श्यामभक्त उच्च माविले सहभागिता जनाउने पक्कापक्की भएको छभने अन्य विद्यालयहरुलेपनि सहभागिताका लागि सम्पर्क गरिरहेको युनाईटेडका निर्देशक तामाङले बताए।
प्रतियोगितामा मगर, गुरुङ समुदायका कौरा नृत्य, राई समुदायको साकेला, तामाङ समुदायको सेलो, सुनुवार समुदायको ष्यादर पितार, क्षत्री, खस ब्राम्हण समुदायको संगिनी, नेवार समुदायको धिमे, सन्थाल समुदायको नृत्य, थारु समुदायको सखिया, माझी, मुसहर समुदायको नृत्य, झ्याउरे, ख्याली मारुनी, झाक्री लगायतका नृत्यहरु रहने आयोजकले जनाएको छ।


पत्रकार सम्मेलनमा आयोजक युनाईटेड डान्स एकेडेमीले गत कार्तिक महिनामा धरानको प्रतिनिधित्व गर्दै मोरङको गोठगाँउमा भएको लोक नृत्य प्रतियोगितामा दोस्रो स्थान हात पारेकाले उपाधी स्वरुप पाएको ट्रफि ९ न.ं वडा कार्यालयलाई हस्तान्तारण समेत गरेको छ। सो ट्रफि एकेडेमीका निर्देशक सन्तोष तामाङले ९ न.ं वडाका वडाअध्यक्ष रत्न बहादुर कट्वाललाई प्रदान गरेका थिए।